nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

यी हुन् मन्त्रिमण्डल पुनर्गठनका लागि विदाइ हुने चर्चामा रहेका मन्त्री

pm-1599926069.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले आवश्यक मापदण्डका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । सरकारको नेतृत्व गरेका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनका लागि आन्तरिक छलफल तिब्र पारेका छन् ।

आफू निकट नेताहरु महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसँग एक चरण परामर्श गरेका प्रधानमन्त्री ओलीले अब पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्ने तयारी गरेका छन् ।

एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रचण्डसँग पनि परामर्श गरेका छैनन् । आफू निकटसँग परामर्शपछि ओली झण्डै १० जना नयाँ मन्त्री बनाउनेगरी छलफलमा जुटेका छन् । त्यसका लागि हटाउने मन्त्रीका विषयमा छलफल सुरु गरेका र त्यसै अनुसार प्रचण्डसँग छलफल गर्ने उनको तयारी छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अहिले कायम रहेका राज्यमन्त्रीहरु हटाउने तयारी गरेका छन् । जगत विश्वकर्मा, पद्मा अर्याल, शक्ति बस्नेत, बिना मगर, गिरिराजमणी पोखरेल, शिवमाया तुम्बाहाङ्फेलगायतका मन्त्रीहरुलाई विदा गर्ने विषयमा प्रधानमन्त्रीले छलफल थालेका स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले काम प्रभावकारी नभए पनि गृहमन्त्री रामबहादुर थापा 'बादल' र रक्षामन्त्री ईश्वर पोखरेललाई नहटाउने तयारी छ । त्यस्तै वर्षमान पुन 'अनन्त' र लेखराज भट्टका मन्त्रालय फुटाएर हट्नका लागि नैतिक दबाब दिनसक्ने स्रोतको दावी छ ।

प्रधानमन्त्री निकट एक नेताका अनुसार अहिले कायम रहेका केही मन्त्रीको पद हेरफेरको सम्भावना छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वा रक्षामन्त्री पोखरेललाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा ल्याउने सम्भावना छ । मिडियासँग राम्रो सम्बन्ध भएकाले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारको प्रवक्ता बनाउनेगरी सञ्चारको जिम्मेवारी दिने विषयमा पनि छलफल भइरहेको छ ।

अर्थमन्त्रीमा बामदेवको बलियो दावी

प्रधानमन्त्री ओली नयाँ अर्थमन्त्रीका विषयले अप्ठयारोमा परेका छन् । आफ्नो रोजाइमा नपरे पनि उपाध्यक्ष बामदेव गौतमले अर्थमन्त्री दावी गरेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन नै दसैँपछि गर्न सक्ने एक नेताले जानकारी दिए ।

अर्थमन्त्रीका लागि गौतमले गरेको दावीमा सचिवालयका कसैले पनि विरोध गर्न सक्दैनन् । त्यसैले गौतमले पार्टीको सचिवालय बैठकबाटै दबाब दिनसक्छन् । आफूलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्न ढिलो गरेपछि गौतमले प्रधानमन्त्री ओलीलाई ढिलाइको कारण सोधेका थिए । ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारि गर्ने आश्वासन दिएका छन् ।

गौतमले पछिल्लो भेटवार्ता पनि आफू अर्थमन्त्री बन्ने बताइसकेका छन् । उनलाई अर्थमन्त्री बनाउन महासचिव विष्णु पौडेलसहित सचिवालयका बहुसंख्यक सदस्य राजी हुन्छन् । पछिल्लो सहमतिको जस लिने गरेका जनार्दन शर्माले पनि पहिल्यै गौतम अर्थमन्त्री बन्ने घोषणा नै गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले विभिन्न विकल्पमा अर्थमन्त्रीको खोजी गरेका छन् । अर्थमन्त्रीकै कारणले गर्दा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाई गर्ने स्रोतको दावी छ ।

नयाँ मन्त्रीमा को को ?

नयाँ मन्त्रीको रुपमा सचिवालयका तीन जनाको सम्भावना बलियो छ । उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र महासचिव विष्णु पौडेलको सम्भावना बलियो छ । तर, महासचिव पौडेलले आफू पार्टी काममा लाग्नुपर्ने भन्दै मन्त्री नबन्ने बताइसकेका छन् ।

पौडेल सरकारमा नगएमा सचिवालयबाट गौतम र श्रेष्ठ सरकारमा सहभागी हुनेछन् । यी दुई नेतालाई ओलीले सरकारमा लैजान खोजिरहेका छैनन् । सरकारमा जाने अवस्थामा गौतम अर्थमन्त्री र श्रेष्ठ परराष्ट्र वा अन्य शक्तिशाली मन्त्रालयको जिम्मेवारीसहित पहिलो र दोस्रो वरियताको उपप्रधानमन्त्रीसहित मन्त्री बन्नेछन् ।

अन्य नयाँ मन्त्रीमा सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुषाल, देवेन्द्र पौडेल, जर्नादन शर्मालगायतका नेताहरु मन्त्री बन्नेछन् । महेश बस्नेतले पनि मन्त्री बन्ने लविङ गरिरहेका छन् । महिला सहभागीता कम हुने हुँदा नयाँ अनुहार एक दुईजना महिला सांसद मन्त्री बन्ने सम्भावना पनि बलियो रहेको एक नेता बताउँछन् ।


मन्त्रिपरिषद् पुनर्गठनपूर्व मापदण्डमा छलफल हुने

मन्त्रिपरिषद् पुनर्गठनपूर्व मापदण्डका विषयमा अध्यक्षद्वय र सचिवालयका सदस्यबीच परामर्श हुने भएको छ । मूल्याङ्कनको आधार कसरी बनाउने भन्ने विषयमा शीर्ष नेताहरुबीच मतएक्यता छैन ।

अहिले खाली रहेका र राज्यमन्त्री रहेका मन्त्रालयमा पूर्णमन्त्री पठाउने, प्रधानमन्त्रीलाई लागेका व्यक्तिहरु परिवर्तन गर्ने वा दुई वर्षसम्म मन्त्री भएका सबैलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने भन्ने विषयमा अनौपचारिक संवाद सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले अहिले मन्त्रिपरिषद्मा भएका कसैलाई पनि नहटाएर खाली ठाउँमा र मन्त्रालय फुटाएर नयाँ मन्त्री बनाउने चाहनामा छन् । तर, अर्का अध्यक्ष प्रचण्ड भने दुई वर्षको मापदण्ड बनाएर जानुपर्नेमा रहेका स्रोतको भनाइ छ ।

-नागरिकखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)