Wednesday, 23rd September, 2026
वि.स.

इटहरीमा १४० जनालाई निःशुल्क सीप तालिम, दैनिक खाजा भत्ता, आवेदन खुलिसक्याे

file_00000000ed348211875c-1786239261.png

इटहरीमा १४० जनाले निःशुल्क सीपमूलक तालिम लिन पाउने भएका छन्। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले विभिन्न सात विषयमा तालिम सञ्चालन गर्न आवेदन माग गरेको हो।

केन्द्रका अनुसार टेलर अर्थात् बेसिक कटाइ–सिलाइ, कुक, सहायक ब्युटिसियन, एडभान्स कटाइ–सिलाइ, बिल्डिङ इलेक्ट्रिसियन, बारिस्टा र केयर गिभर विषयमा तालिम सञ्चालन हुनेछ। प्रत्येक विषयमा २० जनाका दरले कुल १४० जना प्रशिक्षार्थी छनोट गरिनेछ।

इच्छुक नेपाली नागरिकले २०८३ भदौ २ गतेसम्म कार्यालय समयभित्र व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीमा आवेदन बुझाउनुपर्नेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दिन सकिनेछ।

कुन विषयमा कति समयको तालिम?

बेसिक कटाइ–सिलाइ (टेलर): ६५ कार्यदिन/३९० घण्टा — २० जना

कुक: ६५ कार्यदिन/३९० घण्टा — २० जना

सहायक ब्युटिसियन: ६५ कार्यदिन/३९० घण्टा — २० जना

एडभान्स कटाइ–सिलाइ: ३३ कार्यदिन/१९५ घण्टा — २० जना

बिल्डिङ इलेक्ट्रिसियन: ६५ कार्यदिन/३९० घण्टा — २० जना

बारिस्टा: ६५ कार्यदिन/३९० घण्टा — २० जना

केयर गिभर: ६५ कार्यदिन/३९० घण्टा — २० जना

बेसिक कटाइ–सिलाइ, कुक, सहायक ब्युटिसियन, एडभान्स कटाइ–सिलाइ, बिल्डिङ इलेक्ट्रिसियन र बारिस्टाको तालिम व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीमै सञ्चालन हुनेछ। केयर गिभरको तालिम भने केन्द्र वा केन्द्रले तोकेको स्थानमा सञ्चालन हुन सक्नेछ।

कसले आवेदन दिन पाउने?

आवेदकको उमेर १८ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

बेसिक कटाइ–सिलाइ, कुक र सहायक ब्युटिसियन तालिमका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। एडभान्स कटाइ–सिलाइका लागि कक्षा ८ उत्तीर्ण हुनुका साथै मान्यता प्राप्त संस्थाबाट बेसिक कटाइ–सिलाइ तालिम लिएको प्रमाणपत्र आवश्यक पर्नेछ।

त्यस्तै, बिल्डिङ इलेक्ट्रिसियन, बारिस्टा र केयर गिभर तालिमका लागि कम्तीमा एसएलसी/एसईई वा सोसरहको शैक्षिक योग्यता तोकिएको छ।

आवेदनसँग के–के कागजात चाहिन्छ?

आवेदन फारामसँगै निम्न कागजात पेस गर्नुपर्नेछः

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

दुई प्रति पासपोर्ट साइजको फोटो

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

एडभान्स कटाइ–सिलाइका लागि बेसिक तालिमको प्रमाणपत्र

अन्तर्वार्ताका क्रममा आवेदनसँग पेस गरिएका कागजातका सक्कल प्रमाणपत्र समेत लिएर उपस्थित हुनुपर्नेछ।

भदौ ४ गतेदेखि अन्तर्वार्ता

प्रशिक्षार्थी छनोट अन्तर्वार्ताबाट गरिनेछ। अन्तर्वार्ता बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीमा सञ्चालन हुनेछ।

अन्तर्वार्ताको तालिका यस्तो छः

बेसिक कटाइ–सिलाइ: भदौ ४ गते

कुक: भदौ ६ गते

सहायक ब्युटिसियन: भदौ ८ गते

एडभान्स कटाइ–सिलाइ: भदौ १० गते

बिल्डिङ इलेक्ट्रिसियन: भदौ १२ गते

बारिस्टा र केयर गिभरको अन्तर्वार्ता मिति भने आवेदन दिने समय सकिएपछि तोकिनेछ।

तालिममा दैनिक ५० रुपैयाँ खाजा भत्ता

निःशुल्क तालिमसँगै प्रशिक्षार्थीले दैनिक ५० रुपैयाँ खाजा भत्ता समेत पाउनेछन्। तालिम दैनिक ६ घण्टा सञ्चालन हुनेछ।

तालिम सुरु भएको तीन दिनभित्र उचित कारणबिना उपस्थित नभएमा सम्बन्धित प्रशिक्षार्थीको स्थानमा वैकल्पिक उम्मेदवारलाई सहभागी गराइनेछ। त्यसैगरी, उचित कारणबिना तालिम बीचमै छोड्ने प्रशिक्षार्थीको विवरण सरकारी अभिलेखमा राखिने र भविष्यमा केन्द्रबाट सञ्चालन हुने तालिममा सहभागी नगराइने केन्द्रले जनाएको छ।

महिला, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, सहिद तथा बेपत्ता परिवार, एकल महिला र पिछडिएको क्षेत्रलगायत लक्षित तथा सीमान्तकृत समुदायका आवेदकलाई छनोटमा प्राथमिकता दिइनेछ।

थप जानकारी तथा आवेदनका लागि व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीमा सम्पर्क गर्न सकिनेछ। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०