Wednesday, 16th September, 2026
वि.स.

कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण
भवन र्याम्ड अर्थ (Rammed Earth) प्रविधिमा आधारित छ।

tlj-M-zDe'-clwsfL-1789557707.png

थाहा नगरपालिका–१ खानीगाउँस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको करिब ३० लाख रुपैयाँ सहयोगमा निर्माण भएको दुईकोठे पक्की भवन तथा किड्स अफ काठमाडौँ र फाउन्डेसन हेयर्सको करिब एक करोड रुपैयाँ लागतमा निर्माण भएको चारकोठे वातावरणमैत्री भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो।

चारकोठे भवनमा शौचालयसमेत रहेको छ। स्थानीय स्रोत र साधन प्रयोग गरी निर्माण गरिएको उक्त भवन र्याम्ड अर्थ (Rammed Earth) प्रविधिमा आधारित छ। भवनलाई आवश्यक परेको अवस्थामा सेल्टर हाउसका रूपमा समेत प्रयोग गर्न सकिने बताइएको छ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गौतम लोको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्व सामाजिक विकासमन्त्री कुमारी मोक्तान प्रमुख अतिथि थिइन्। कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर बिष्ट, फाउन्डेसन हेयर्सका एन्ड्र्युड, किड्स अफ काठमाडौँका बाबुराम गोलेलगायतको उपस्थिति थियो।

भवन हस्तान्तरणका क्रममा किड्स अफ काठमाडौँ र फाउन्डेसन हेयर्सका प्रतिनिधिले नवनिर्मित भवनको साँचो थाहा नगरपालिकालाई हस्तान्तरण गरेका थिए।

र्याम्ड अर्थ प्रविधिमा स्थानीय माटो, बालुवा, ढुंगाकसिङ तथा आवश्यक स्थिरीकरण सामग्रीलाई फर्मभित्र खाँदेर बलियो पर्खाल निर्माण गरिन्छ। स्थानीय स्रोतको प्रयोग गर्न सकिने भएकाले यो प्रविधिलाई वातावरणमैत्री तथा दिगो निर्माण विधिका रूपमा लिइन्छ।

कार्यक्रममा प्रमुख अतिथि मोक्तानले विद्यालय भवन निर्माणमा आधुनिक प्रविधिसँगै स्थानीय स्रोत, साधन र आवश्यकतालाई जोड दिनुपर्ने बताइन्। नगर प्रमुख बिष्टले भवन निर्माणमा प्राप्त सहयोगले विद्यार्थीको पठनपाठनका लागि सहज वातावरण बन्ने बताए।

किड्स अफ काठमाडौँका गोलेले स्थानीय सामग्री र प्रविधिको प्रयोगबाट वातावरणमैत्री तथा टिकाउ भवन निर्माण गर्न सकिने बताए। फाउन्डेसन हेयर्सका एन्ड्र्युडले स्थानीय आवश्यकता र वातावरणलाई ध्यानमा राखेर भवन निर्माण गरिएको बताए।

किड्स अफ काठमाडौँ र फाउन्डेसन हेयर्सले हालसम्म नेपालका विभिन्न स्थानमा १३ वटा वातावरणमैत्री विद्यालय भवन निर्माण गरेको कार्यक्रममा जानकारी दिइएको थियो।

भवन हस्तान्तरण समारोहमा विद्यार्थी, कुन्छाल महिला बाँसुरी समूह तथा तामाङ झाँक्री नाचका विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

नवनिर्मित भवनसँगै विद्यालयमा विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र अनुकूल सिकाइ वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif