Monday, 14th September, 2026
वि.स.

एसइइ उत्तीर्ण, थाहा नगरबासी हुनुहुन्छ भने यो अवसर गुम्ला है !
प्रसङ्ग हो– योग–आरोग्य पर्यटन तालिम र ध्यान आध्यात्मिक पर्यटन तालिम सञ्चालनसम्बन्धी सूचनाको ।

cff]Uo-yfxfgu-1789384673.png

५० प्रतिशत अनुदान दिएर तालिममा सहभागी गराउने गरी गरिएको सूचना अनुसार आवश्यक दरखास्त नपरेपछि थाहा नगरपालिकाले म्याद थपेर अर्को सूचना प्रकाशन गरेको छ । शुरुमा ११ भदौमा १५ दिनको लागि म्याद दिइएकोमा २५ भदौमा अर्को एक साताको लागि समय थपेर अर्को सूचना प्रकाशन गरेको पनि आज ४ दिन वितिसकेको छ । महत्वपूर्ण तालिममा सहभागी हुने अवसरका लागि प्रतिष्पर्धा गर्न योग्य र इच्छुक थाहानगरबासीका लागि अब ३ दिनमात्र  समय बाँकी छ । 

प्रसङ्ग हो– योग–आरोग्य पर्यटन तालिम  र ध्यान आध्यात्मिक पर्यटन तालिम सञ्चालनसम्बन्धी सूचनाको । थाहा नगरपालिकालाई आरोग्य नगर बनाउने लक्ष्यका साथ आवश्यक नीति तथा पूर्वाधारका कार्यक्रमहरु सञ्चालन भइरहेको सन्दर्भमा यो तालिम सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनका लागि निकै महत्वपूर्ण छ । 

नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन हुने भएकोले यो तालिमको आधिकारिकता पनि रहेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति २०८३’ को कार्यान्वयन र स्थानीय स्तरमा आरोग्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यी दुईवटा तालिम सञ्चालन गर्न लागिएको हो ।

३ महिना अवधिका यी दुवै तालिममा प्रयोगात्मक कक्षा तथा फिल्ड भिजिट समावेश गरिएकोले थाहानगरका लागि व्यवहारिक तथा उपयोगी पनि छ । प्रतिव्यक्ति ४८ हजार रुपैयाँ शुल्क तोकिएकोमा थाहा नगरपालिकाकले ५० प्रतिशत व्यहोर्ने भएकोले भविष्यमा रोजगारीमा जोडिन पनि यसले मद्धत गर्नेछ । नगरपालिकाको समेत लगानी पर्ने भएकोले भविष्यमा सम्बन्धित क्षेत्रमा रोजगारीका लागि पहिलो प्राथमिकता उनीहरु नै पर्ने सम्भावना रहन्छ । तालिममा दुवै विधामा ५/५ जना गरी जम्मा थाहा नगरपालिकाका १० जनाले  ५० प्रतिशत अनुदान सहयोग  पाउनेछन् ।

एसईई वा सो सरह उत्तीर्ण भई नेपाली र अंग्रेजी भाषामा आधारभूत सञ्चार क्षमता भएका तथा आरोग्य, योग, आतिथ्य एवं रिट्रिट सञ्चालन क्षेत्रमा रुचि भएका व्यक्तिहरूले यस तालिममा आवेदन दिन सक्नेछन् । सीप सिकेर रोजगारीमा आवद्ध हुन चाहनेहरुको लागि यो विशेष अवसर हो र यस्तो अवसर पटकपटक नआउन सक्छ । 

इच्छुक उम्मेदवारले आउँदो असोज १ गतेभित्र थाहा नगरपालिकाको कार्यालयमा दरखास्त फाराम बुझाइसक्नुपर्नेछ । फाराम प्रतिष्ठानको वेबसाइट वा थाहा नगरपालिकाबाट प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् सूचना


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif