nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

thumb-1602175511.jpg

 भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको निधन भएको छ ।

मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत बुवाको निधन भएको जानकारी दिएका छन् । बिहारको जमुई क्षेत्रबाट लोकसभा सदस्यसमेत रहेका चिरागले लेखेका छन्, ‘बुवा... अब हजुर यस संसारमा हुनुहुन्न । तर मलाई थाहा छ, हजुर सधैं मेरो साथमा हुनुहुनेछ ।’

उनी लामो समयदेखि बिरामी थिए । हालसालै मुटुको अप्रेसन गराएका केन्द्रीय मन्त्री पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी ७४ वर्षका थिए ।

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय रहेका पासवान भारतका प्रमुख दलित नेतामा गनिन्थे । ८ पटक लोकसभा सदस्य बनेका पासवान पछिल्लो पटक भने राज्यसभा सदस्य रहेका थिए । यसअघि उनले रेल, सञ्चार तथा सूचना प्रविधि, खनिजलगायतमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

पासवान कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स(यूपीए) र बीजेपी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स(एनडीए) दुवैमा रहेर काम गरेका छन् । तर पछिल्लो पटक उनका छोरा चिरागले लोक जनशक्ति पार्टी बिहार एनडीएमा गठबन्धनबाहिर रहेर विधानसभा चुनावमा उत्रिने बताएका छन् ।

संयुक्त समाजवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका पासवान पछि जयप्रकाश नारायण नेतृत्वको लोकदलको महासचिव भए ।

सन् १९७५ मा इमर्जेन्सीका बेला जेल परेका पासवान जेलबाट छुटेपछि जनता दलमा संलग्न भए । सन् २००० मा जनता दलबाट फुटेर उनले लोक जनशक्ति पार्टी गठन गरेका थिए । सन् २००४ को लोकसभामा उनले कांग्रेस नेतृत्वको यूपीएसँग मिलेर चुनाव लडेका थिए । सन् २०१४ पछि भने उनको पार्टी बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा रहेको छ ।