nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि यस्तो छ प्रचण्डकाे जवाफ

pppppppp-1605629488.jpg

नेकपा महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गरेका छन्। सोमबार दिउँसो र मंगलबार बिहान खुमलटारस्थित निवास पुगेर पौडेलले प्रचण्डसँग सो अनुरोध गरेका हुन्।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्तावका कारण पार्टी बैठक बस्न नसक्ने अडान लिएका कारण त्यसलाई अहिले स्थगित वा फिर्ता लिइदिन आग्रह गरेको स्रोतले जनाएको छ।

गत शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले अर्कोे बैठक भोलि बुधबार बस्ने तय गरेको थियो। शुक्रबारको वैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९–पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टी कमिटीका निर्णय नमानेको, सरकार संचालन गर्न असफल भएको, गुटबन्दी गरेको लगायतका आरोप लगाएका छन्।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न दौडधुप गरिरहेका पौडेलले राखेको सो प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले भने अस्वीकार गरेका छन्। ‘सचिवालयबाट बैठक बस्ने निर्णय भएकोले कसैले चाहँदैमा बैठक रोक्न मिल्दैन, बैठकमै सबै कुराको छलफल गरौं, तपाईंले बैठक कै विषयमा तयारी गर्नुस्,’ प्रचण्डले पौडेलसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

जवाफमा पौडेलले राजनीतिक प्रतिवेदनले बैठक बस्ने वातावरण समेत प्रभावित पारेको बताएका थिए। केहि दिनयता पौडेलले प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतसँग समेत छलफल गरेका छन्। पौडेलनिकट स्रोतले पार्टीभित्र देखिएको गतिरोध समाधान गर्न पौडेलले सक्रियता देखाएको बतायो।

‘पार्टीभित्रको द्वन्द्व र भोलिको लागि तय भएको बैठककै विषयमा उहाँले कार्यकारी अध्यक्ष र अर्का अध्यक्ष तथा प्रधानमन्त्री दुवैसँग निरन्तर छलफल गर्नुभएको छ,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरु मार्फत् सो प्रस्ताव फिर्ता लिन दबाब दिइरहेका छन्। यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले शुक्रबार सचिवालय सदस्यलाई वितरण गरेको प्रस्ताव फिर्ता नभएसम्म कुनै बैठक नबस्ने दाबी गरेका थिए।

‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो’, थापाकाे भनाइ छ, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)