Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डको प्रस्ताव बादलद्वारा अस्वीकार

Badal-1604239507.jpg

नेकपाको संस्थापन पक्षविरुद्धमा संसदमा अविश्‍वासको मत लिएर जाने तयारीलाई गृहमन्त्री रामबहादु थापा बादलले अस्वीकार गरेका छन्। आइतवार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको एउटा बैठकमा गृहमन्त्रीसमेत रहेका बादलले पार्टी विभाजनका लागि गरिने कुनै पनि प्रयासमा आफ्नो असहमित रहने धारणा राखेका हुन्। 

 

 

कार्यकारी अध्यक्ष दाहालले फोन गरेर बोलाएपछि बादल आइतवार दिउँसो खुमलटार पुगेका थिए। उनी प्रचण्ड निवास पुग्दा पहिले नै नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ बसिरहेका थिए। प्रचण्डले केही कामका लागि भनेर बोलाएपछि त्यहाँ पुगेका उनी अन्य नेताहरुलाई पनि देखेपछि अलमलमा परेका थिए। 

बादल खुमलटार पुगेपछि उनीसँग दुई नेताले संवाद गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार बादलसँग अध्यक्ष दाहाल र प्रवक्ता श्रेष्ठले संवाद गरेका थिए। श्रोतका अनुसार अध्यक्ष दाहालले ओलीले एकलौटी गरेको भन्दै सुरुमै बादलसँग सहयोग मागेका थिए।  'अब केपीजीसँग नसकिने भइयो, हामीलाई तपाईंको पनि सहयोग चाहियो', प्रचण्डले बादलसँग गरेको सम्वाद उद्धृत गर्दै श्रोतले भन्यो, 'यसरी अब सधैँ चल्न सकिँदैन, त्यसैले तपाईंले हामीलाई साथ दिएर ओलीजीलाई बिदा गर्ने वातावरण बनाउनुपर्‍यो।'

प्रचण्डले त्यस क्रममा पार्टीका २५ प्रतिशत सांसदको हस्ताक्षर हुने बताउँदै त्यसमा बादलले पनि हस्ताक्षर गर्नुपर्ने मत राखेका थिए। बादलले प्रचण्डको कुरा सुनिसकेपछि पार्टीमा समस्या भए सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाक्न भनेका थिए।  'प्रचण्डले सहयोग चाहियो भनेपछि उहाँले स्थायी कमिटी वा सचिवालयमा जानुपर्छ भन्‍ने राय राख्‍नु भयो', उनीनिकट श्रोत भन्छ, 'यसरी विवाद र झगडा झिकेर अघि बढ्न समस्या हुन्छ, जे समस्या छन्, तिनलाई पार्टी बैठकमा राखेर अघि बढौं।'

प्रचण्डको कुरामा सहमति जनाउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अब यसरी नै जान नसकिने भएकाले सहयोग गर्न बादलसँग आग्रह गरेका थिए।  तर बादलले दुवै नेताहरुलाई जवाफ दिँदै यो समस्या पार्टी बैठक बाहिरबाट समाधान हुन नसक्ने राय राखेका थिए। 'के कारणले यो कुरा आयो? यसको समाधान पार्टी बैठकबाट गरिनुपर्छ', थापाले जवाफमा भनेका थिए, 'शनिबार तपाईं (प्रचण्ड) र प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन सहमति गर्नु भएको थियो। फेरि एकै दिनमा कसरी यस्तो गम्भीर कुरा आयो?'



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०