Monday, 15th June, 2026
वि.स.

पानोरमा घटनाः थाहा होटल एशोसिएसनले कोही दोषी देखेन

panaroma-1581821979.jpg

गत माघको पहिलो साता दामनको एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय नागरिकको ज्यान गएको घटनामा कुनै पक्ष पनि दोषी नदेखिएको थाहा होटल एसोसिएसनले ठहर गरेको छ । एसोसिएसनले गरेको स्वतन्त्र छानविन, अनुसन्धान र होटल व्यवस्थापनले उपलब्ध गराएको कागजातको आधारमा सो मृत्यु प्रकरणमा कुनै पक्ष दोषी नभेटिएको थाहा होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले बताए  ।

पर्यटन विभागले पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्वन गरेको भनी पत्र काटेपछि एसोसिएसनले विभागलाई पत्र लेखी घटनाको सत्यतथ्यबारे जानकारी गराएको हो । गत माघ २६ गते विभागले फच्र्युना इन्टरनेशल प्रा.ली.को नाममा पानोरमा रिसोट निलम्वन गरिएको पत्र काट्दा थाहा होटल एसोसिएसनलाई बोधार्थ लेखेको थियो । 

नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भसँगै रिसोर्टमा अग्रिम बुकिङ लिइसकेकोले होटल संचालनमै रोक लगाउँदा अन्तरराष्ट्रिय पर्यटन जगतमा नकारात्मक सन्देश जाने एसोसिएसनका महासचिब उकेशचन्द्र केसीले बताए  । ‘हामीले बुकिङ लिइसकेका छौं, अग्रिम बुकिङमा आएका पाहुनालाई सेवासुविधा प्रदान गर्नु हाम्रो बाध्यता हो,’  पानोरमा रिसोर्टका व्यवस्थापक शिव केसीले भने । 

थाहा होटल एसोसिएसनले पर्यटन विभागलाई बुधबार एक पत्र लेख्दै ‘बाँकी बुकिङका लागि तोकेको मापदण्ड पुरा गर्न कुनै समय बन्देज नतोकिदिन’ आग्रह समेत गरेको छ । 

२०४८ चैत ३ गते उद्योग विभागबाट प्रमाणपत्र लिएर शुरु गरेको दामनस्थित पानोरमा रिसोर्टले विभिन्न समयमा रिसोर्टको लागि विदेशी जनरल म्यानेजर र हेलीप्याड बनाउन पत्राचार गरेको पाइएको थाहा होटल एसोसिएसनले जनाएको छ । ‘रिसोर्टले अन्तिम समय २०७६ सम्म पर्यटन विभागमा छ–छ महिनामा आवधिक प्रतिवेदन बुझाएको देखिन्छ, प्रमाणपत्र नलिइ सञ्चालन गरिएको भन्ने विषय बुझ्न सकिएन’ एसोसिएसनले विभागलाई पठाएको पत्रमा भनेको छ । 

ऐनमा सञ्चालनको मापदण्ड वर्गिकरण तथा स्तरीकरण गर्दा शहरी होटलको मापदण्ड र पहाडी, डाँडाकाँडा भेगका होटललाई एउटै दायरामा राखेकोमा यो व्यवहारिक नभएको एसोसिएसनले जनाएको छ । 

८ भारतीय मृत्यु प्रकरणमा सुरक्षा र व्यवस्थापकीय कमजोरी पाइएको भन्ने पर्यटन विभागको व्यहोरासम्बन्धमा पनि थाहा होटल एसोसिएसनले स्पष्ट पारेको छ  । उसले भनेको छ, ‘त्यस रिसोर्टमा सुरक्षा गार्ड, प्राथमिक उपचारका सामग्रीहरु, विरामी बोक्ने स्ट्रेचर, आगो लाग्दा सचेत गर्ने हुटर, आगो निभाउने वारुण यन्त्र हरेक कटेजमा जडान गरिएको र पानीको फोहरा छर्ने जक्की पम्प पाइयो तथा संकटकालमा होटलका पाहुना तथा सर्वसाधारण जनतालाइ उद्घार गर्न हेलिप्याड पनि बनाएको पाइयो ।’ फाएर अलार्म स्मोक डिटेक्टरको अभावले नभई अक्सिजनको कमीले भारतीय नागरिकहरुको मृत्यु भएको एसोसिएसनले स्पष्ट पारेको छ । 

‘राती साँढे २ वजे रेष्टुरेण्टमा सूचना नदिई हिटर लैजान खोज्दा रेष्टुरेण्टका कर्मचारीले रोक्न खोजेको र सो क्रममा गालीगलोज गरी जवरजस्ती लगेको पाइयो,’ छानविन समितिका सदस्य सुमन विष्टले बताए । होटलमा छानविन गर्दा बेलायतको रामसोन ब्याण्डको बोइल, स्वीडेनमा निर्मित हिटिङ प्यानल जडान गरेको भए पनि जडान भएका पाइपहरु वाढीपहिरोले क्षतिग्रष्त भएको पाइएको उनले बताए ।  एसी जडान गर्नको लागि राखिएको पाइए तापनि जाँचबुज गर्दा हिउँ पर्ने पहाडी इलाका माइनस ७ डिग्रीमा  प्रावधिक कारणले एसी नचल्ने  र दामन क्षेत्रमा एक सय ४० देखि एक सय ६० भोल्टको विजुली उपलब्ध हुँदा एसी चल्न नसक्ने देखिएको एसोसिएसनले जनाएको छ  । 

एसोसिएसनले पर्यटन विभागलाई लेखेको पत्र थाहा नगरपालिकाको कार्यालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश, मकवानपुर होटल एशोसिएसन, होटल एशोसिएसन नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, थाहा नगर उद्योग वाणिज्य संघ र मकवानपुर उद्योग वाणिज्य संघलाई बोधार्थ दिएको छ । 

हेर्नुहाेस् पत्र 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०