nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटकीय वडाको रुपमा चिनाउँछौंः अध्यक्ष लामा

Cover-1503976641.jpg

थाहा नगरपालिकाको ३० असारमा नगरसभा सम्पन्न भइसकेको छ । नगरसभाले नगरका १२ वटै वडामा सहभागितामुलक योजना तर्जुमाको आधारमा तय भएको योजनामा प्राथमिकिकरण गरेर बजेट विनियोजन गरेको हो । वडाहरुमा विनियोजित बजेटबाट कसरी विकास आयोजनाहरु संचालन हुनेक्रममा छन् ? वडालाई कुन रुपमा विकास गरिदै छ ? यिनै विषयमा केन्द्रित भएर यो साता हामीले विकास–बहसमा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकसिं लामासंग कुराकानी गरेका छौं ।

थाहा नगरपालिकाको नगरसभाबाट विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि तपाईको योजना के छ ? 
– नगरसभाले विनियोजन गरेको बजेटको हामी कार्यान्वयनको  चरणमा रहेका छौं । यसका लागि हामी वडा समिति पूर्ण रुपमा लागि परेका छौं । योजना कार्यान्वयनको लागि वडा समितिसंग छुट्टै योजना छ । त्यो भनेको कुन महिनासम्म कति योजनाको इस्टिमेट गर्ने, सम्झौता कहिलेसम्म गर्ने भन्ने विषयमा हामी लागि परेका     छौं । आर्थिक वर्ष २०७४÷०७५ को योजना कार्यान्वयन गएका वर्षहरुमा जस्तो हुँदैन । यस अघि अभ्यासमा रहेको कुल योजनाको लागतको १५ प्रतिशत नगदै धरौटी राख्नुपर्ने कुरालाई हामी जनप्रतिनीधि आएपछि तोडिएको छ । अब हामी जनतासंग श्रम लिन्छौं । मेरो वडामा मैले जनतालाई श्रम गर्न उन्मुख गराउँछु । यदि जनताले श्रम गर्न सक्दैनौं भनेमा हामी उक्त योजना सम्पन्न गर्नको लागि टेण्डर प्रक्रियामा जान्छौं । तर यसरी टेण्डर प्रक्रियामा जाँदा ५ लाख भन्दा माथिको योजनालाई मात्र टेण्डरमा लैजान्छौं । विकास जनताको आवश्यकताको आधारमा संचालन गरिन्छ । त्यसैले त्यस्ता आवश्यकताको आधारमा संचालन गरिने योजना भएकोले श्रमदान जुट्ने कुरामा म ढुक्क छु ।

जनतालाई यति प्रतिशत श्रमदान गर्नुपर्छ भनेर तोकिदिने हो र ? 
– जनतालाई यत्तिनै प्रतिशत श्रमदान गर्नुपर्छ भनेर बाध्यकारी बनाउने योजना छैन । योजनाको विषयमा त्यस गाउँटोलमा कहाँ–कहाँसम्म प्रभाव पार्छ ? त्यो योजना बनेपछि कस्तो फाइदा हुन्छ ? त्यो फाइदा योजना सम्पन्न पश्चात् खास गरेर कसलाई पुग्छ ? लगायतको प्रश्नको वरीपरी रहेर हामी लाभग्राहहिरुसंग छलफल चलाउँछौं । छलफल गरेपछि उनीहरुले त्यस ठाउँमा संचालन हुने योजनाको महत्वको विषयमा राम्रोसंग बुझ्छन् । त्यसपछि हामी उनीहरुले गर्ने श्रमदानबाट हुने थप फाइदाको विषयमा पनि राम्रोसंग बुझाउँछौं । बुझेपछि स्वतस्फूर्त रुपमा उनीहरु आफै श्रमदान गर्न तयार हुनेछन् । मुख्य कुरा त जनतालाई बुझएपछि त बुझिहाल्छन् नि ।

योजना कार्यान्वयन कसरी गर्ने विधि के के हुन् ?
– योजना छनोट गरी त्यसलाई रकम विनियोजन गर्नु मात्रै ठूलो कुरा हैन । ठूलो कुरा त हरेक योजनालाई गुणस्तरीय कार्य गर्नु नै     हो । त्यसैले अब हाम्रो ध्यान पनि योजना कार्यान्वयन तालीका बनाउने तर्फ नै छ । त्यसैले हामी अब भदौ महिना भित्रमा योजनाहरुको प्राविधिक इस्टिमेट गराउँछौं । इस्टिमेटको आधारमा हामी उपभोक्ताहरुलाई भेला गराई तपाईको यो योजनाको लागि यति रुपियाँ बजेट विनियोजन भएको छ भनेर सबैलाई जानकारी गराउँछौं । त्यसपछि यो योजनाको लागि तपाईहरुले कति जनश्रमदान गर्नुहुन्छ भनेर छलफल चलाउँछौं । जनताले गरेको प्रतिबद्धता अनुसार श्रमदान लिन्छौं । उपभोक्ता समिति गठन गर्छौ अनि योजना सम्झौता गरी कार्यान्वयनमा जान्छौं । नियमानुसार अनुगमन मुल्याङ्कनलाई निरन्तरता दिन्छौं ।

योजना कार्यान्वयनमा सहजकता ल्याउनको लागि कस्ता उपायहरु अवलम्बन गर्नुहुन्छ ?
– वडाबाट माग भई नगरसभामा पेश भएका र नगरसभाबाट पास भई बजेट विनियोजन भएका योजनाहरुलाई हामी वडाका साना र ठूला योजनाको रुपमा वर्गिकरण गर्छौ । यसरी वर्गिकरण गर्दा ५ लाख भन्दा कम बजेट विनियोजन भएका योजनालाई साना र त्यसभन्दा बढि बजेट विनियोजन भएकालाई ठूला योजनाको रुपमा छुट्याउँछौं । त्यसपछि मात्र कार्यान्वयनको चरणमा जान्छौं । अघि पनि भनें हामी ५ लाख भन्दा कमका अर्थात साना योजनाई टेण्डर लगाउँदै लगाउँदैनौ । यस्ता साना योजना हामी जनताकै सक्रियतामा सम्पन्न गर्छौ । त्यस्तै ठूला योजनाको हकमा भने श्रमदान नजुटेमा मात्र टेण्डरमा जाने हो । त्यसैले म विकास खबरपत्रिका मार्फत पनि आग्रह गर्न चहान्छु । आफ्नो गाउँटोलमा निर्माण हुने योजनाहरुमा तपाई उपभोक्ताहरुले नगद हाल्नु पर्दैन, श्रमदान गर्नुहोस्, आफ्नो विकास निर्माणका कामहरु मजबुद बनाउनुहोस् । यसरी योजना संचालन हुँदा जनताको आवश्यकता चाँडै पूरा हुन्छ । श्रमदान गरेपछि योजनामा उपभोक्ताहरुको अपनत्व     हुन्छ । काम पनि धेरै हुन्छ । यसरी विकास निर्माणका कार्य संचालन गर्दा क्रमैसंग साना योजना छिटो र ठूला योजना स्वभावैले अलि ढिलो सम्पन्न हुन्छन् । यसले गर्दा योजना फरफारक तथा अनुगमनमा पनि सजिलो हुन्छ । विकास निर्माणमा गुणस्तरीयता कायम हुन्छ ।
 
विकास आयोजना संचालनमा अब जनताले पहिलेभन्दा फरक महशुस गर्लान् त ?
– पक्कै गर्छन् । पहिले जस्तो जनप्रतिनीधि विहिन स्थानीय निकाय थियो । अब स्थानीय तह भएको छ । स्थानीय तह भनेको स्थानीय     सरकार हो । पहिलेको स्थानीय निकाय, सरकार थिएन । केन्द्रबाट स्वचालित हुन्थ्यो । अब त्यसो हुँदैन । मेरो वडाको विकास योजना संचालन भएको ठाउँमा म आफै पुग्छु । संभव नभएको ठाउँमा मेरो सदस्यहरुलाई पठाउँछु । विकास आयोजनाको हरेक काममा गुणस्तरीय विकासका लागि मसिनो ढंगले निगरानी गर्छु । हामी जनप्रतिनीधिको आँखाले विकासलाई हेर्छौ । योजना संचालनको क्रममा त्यहीँ बस्छौं । हामी आफै खटिन्छौं । त्यसैले पहिले भन्दा फरक काम गरेरै देखाउँछौं । 

वडाको विकासका लागि अन्य निकायबाट बजेट ल्याउनको लागि कस्तो भूमिका हुन्छ ?
– पहल गर्ने कुरामा हामी सँधै सकारात्मक छौं । त्यस्ता निकायबाट बजेट प्राप्त भएमा हामीले वडास्तरीय सडकको छुट्याएका छौं, त्यस्ता सडकको स्तरोननतीको लागि बजेटलाई कार्यानवयनमा ल्याउँछौं । हाम्रो वडास्तरीय सडकको नाम चौकी–किटेनी–रुप्से हुँदै ५ नम्बर वडा जोड्ने सडक हो ।

नगरपालिकाको बजेटबाट भन्दा बाहेकका सवालमा वडा कार्यालय कसरी अघि बढ्छ
– नगरकै नारा ‘कृषि पर्यटन र पूर्वाधार’ भएकोले यसलाई मेरो वडाले नअंगाल्ने कुरै भएन । यसको साथै नगरपालिकाको गुरु योजना पनि निर्माणकै चरणमा रहेको छ । गुरु योजनामा पनि के के विषय समेटेर विकास गर्ने भन्ने कुरा निर्धारण भएकै हुन्छ । थाहानगरको मुख्य सवाल पर्यटन हो । त्यसमा पनि नगरकै पर्यटकीय केन्द्रको रुपमा रहेको दामन सिमभन्ज्याङ क्षेत्र मेरै वडामा पर्दछ । यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको विशेष कार्यक्रमहरु संचालन हुनेछन् । यस अन्तर्गत दामन क्षेत्रमा सोलार बत्ती जडान भएको    छ । दामन सिमभन्ज्याङ क्षेत्रमा सरसफाईको अभियान पनि संचालन भइरहेको छ । यहि वडामा देशकै शितल टावरको रुपमा रहेको ‘दामन भ्युटावर’ रहेको छ । यसै आर्थिक वर्षमा दामन क्षेत्रमा पिकनिक स्पट निर्माणको लागि बजेट समेत विनियोजन भएको छ । यी विविध संरचना र कार्यले गर्दा वडालाई पर्यटकीय वडाको रुपमा परिचित गराउने अठोट रहेको छ । यहि वडामा हुँदै इन्द्रसरोवर ताल पुग्ने सुनगाभा ट्रेकिङ रुट पनि रहेको छ । यो रुटलाई पनि हामी प्रयोगमा ल्याउने कुरामा पनि पहल गर्नेछौं ।

वडालाई धार्मिक पर्यटकीय वडाको रुपमा पनि चिनाउनको लागि केही पहल हुँदैछ कि ?
– थाहा नगरपालिका ४ नम्बर वडा धार्मिक पर्यटनको पनि लागि पनि उत्तिकै संभावना बोकेको वडा हो । खास गरेर देश विदेशमा चर्चामा रहेको ऋषेश्वर महादेव मन्दिर व्यवस्थापनको लागि वडा कार्यालयको तर्फबाट पहल हुनेछ । वडाको तर्फबाट मन्दिर संरक्षण समिति गठन गरेर व्यवस्थित गर्नेछौं । मन्दिर क्षेत्र जिर्ण हुँदै गएकोमा पनि हामी गम्भीर भएका छौं । मर्मतसंभारका लागि पनि हामी जुट्ने छौं । यसले पर्यटन प्रवद्र्धनमा इटा थप्ने काम गर्छ । 
   अर्कोकुरा दामन सिमभनज्याङको परिचय हिउँसंग जोडिएको छ । यहाँ हिउँ पर्ने बेलामा थुप्रै पर्यटकहरु आउँछन् । यसको चर्चाले पनि पर्यटकहरुलाई यहाँ आकर्षण गरेको छ । हामी दामन सिमभनज्याङ क्षेत्रमा पर्यटकहरुलाई सहज हुने सूचनाहरुको समेत व्यवस्थापन गर्ने योजना   छ । त्यस्तै स्वास्थ्यको सवालमा प्राथमिक स्वास्थ्य केन्द्र पनि ४ नम्बर वडामा नै छ । त्यसलाई पनि १५ शैथ्याको अस्पतालको रुपमा विकास गर्न पहल थालिएको छ । दामनमा रहेको दामन शहरी स्वास्थ्यक्लिनकको व्यवस्थापनको कार्य भइरहेको छ । स्वास्थ्य पहुँचका लागि अलि समस्या भएका ४ नम्बर वडाको सोला भन्ज्याङमा महिनाको २ दिन गाउँघर क्लिनक संचालन गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं ।

विकास खबरपत्रिका साप्ताहिकको प्रिन्ट संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)