Saturday, 27th July, 2024
वि.स.

चुनावकाे वाचा बजेटमार्फत सम्बोधन गरिरहेका छौं-मेयर विष्ट

labaser-Bista-1562116162.jpg
  • मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिकाका मेयर लबशेर विष्टसंग सरिता दाहालले गरेको कुराकानीको सारः

थाहा नगरको बिकासको लागि बजेट ल्याईसक्नु भएको छ, मुख्य प्राथमिकता के के लाई दिनुभयो ?

जनताको माग र आवश्यकतालाई हामीले प्राथमिकता दिने हो । अहिले जनताको बढी भन्दा बढी माग नै बाटो, कृषि, शिक्षा, स्वास्थ रहेको छ । थाहा नगर कृषिको पकेट क्षेत्र भएकोले पनि हाम्रो ध्यान कृषिमा पनि छ । पुर्वाधार बिकास अन्तरगत बाटोको ब्यवस्थापन, स्ल्याब गर्ने, पिच गर्ने, ट्रयाक बिस्तार गर्ने, शैक्षिक गुणस्तर सुधारको लागि लगानी गर्ने नै मुख्यमुख्य प्राथमिकतामा पारेका छौ । हाम्रा भाबी योजनाहरु पनि यी प्राथमिकताको क्षेत्रमा छुट्याइएको बजेटको सफल कार्यान्वयन गर्ने हो । साथै चालू रहेका केही ठुला योजनाहरु छन् तिनीहरुलाई सम्पन्नता तर्फ लैजाने हो ।

  • निर्वाचित भएर आएदेखि अहिलेसम्मको अबधि आहा,भन्न मनलाग्ने गरि गर्नु भएको उपलब्धि के छन् ?

छन् नि, थाहा नगर कृषि तथा पर्यटनको अत्यधिक संभाब्यता भएको नगर हो । यहाको हावापानी, यहाँको भौगोलिक प्राकृतिक बरदानले हामिलाई धेरै अवसरहरु पनि प्रदान गरको छ । म निर्वाचित भएर आएदेखी धेरै कामहरु भएका छन् । हामीले कृषकको हितको लागि कृषि उपज स्टोर गर्न कोल्डस्टोर निर्माण गरेका छौं, अबको ६ महिनाभित्र त्यसलाई सञ्चालनमा ल्याउने तयारी भैरहेको छ ।¬ १५ शैयाको अस्पताल सञ्चालनको तयारीमा छौ, भवन तयार भैसकेको छ ।

३ वटा वडामा बाहेक सबै वडाहरुमा स्वास्थ्य भवन निर्माण भै सञ्चालनमा ल्याइसकेका छौ । अब साउनबाट सबै वडा कार्यालयहरु आ–आफ्नै भवनबाट सञ्चालनमा आउने छन् । शिक्षण सिकाईको अवस्था साह्रै नाजुक थियो, त्यो अवस्थाबाट धेरै अगाडी आइसकेका छौ । विभिन्न सहयोगी संघसंस्थाहरुको सहयोगमा हामीले थाहा नगरमा वृहत खानेपानी व्यवस्था गर्न सफल भएका छौ । नगरपालिकाको जम्मा ६०÷७० लाख लगानीमा हामीले ११ करोडभन्दा बढीको खानेपानी योजनालाई व्यवस्थित गरेका छौ । सहयोगि संघसंस्थासंगको समन्वयमा हामीले यो योजनामा सफलता हात पारेका हौं । कृषिमा आधुनिकिकरणको लागि अनुदान दिएका छौ । हाते ट्याक्टर वितरण गरेका छौ । टनेल खेतिमा सहयोग गरेका छौ ।

  • भावि ठूला योजनाहरु के के छन् ?

थाहा नगर चर्चित पर्यटकीय नगर हो, हामीले यहाँको लोपोन्मुख कला–संस्कृति, भेषभूष, प्राकृतिक तथा संस्कृतिक सम्पदाहरुको संरक्षणार्थ ‘थाहा संग्राहलय’ निर्माणको तयारी गरेका छौ । संघीय सरकारको सहयोगमा सूचना केन्द्र सहितको यो निर्माण कार्यको लागि चाँडै नै टेण्डर हुँदैछ । यसैगरी प्रदेश सरकारको सहयोगमा पूल निर्माण गर्दैछौ । यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका र थाहा नगरपालिका जोड्ने केवलकार निर्माणको लागि संम्भाव्यता भैरहेको छ ।

थाहा नगरको पर्यटकीय विकासलाई जोडेर हामीले अर्को ठूलो योजना पनि अगाडी बढाउँदै छौः ‘थाहा पर्यटन पार्क’ । प्रदेश सरकारले यसमा पनि हामीलाई सहयोग गर्ने कुरो छ । प्रदेश सरकार र थाहा नगरपालिकाको ५०÷५० प्रतिशत लगानीमा यो पार्क बन्ने छ । जसले थाहा नगरको पर्यटन विकासमा झनै टेवा दिनेछ । कृषिसंगै पर्यटन पनि थाहा नगरको आम्दानीको स्रोत हो । हामी भावि दिनमा पर्यटनको विकासलागि थाहा नगरको विकाससंगसंगै जोडेर लैजाने छौ ।

  •  निर्वाचनताका गर्नुभएको प्रतिद्धताहरु सबै पुरा गर्नुभयो कि बाँकी छन् ?

मैले निर्वाचनताका त्यस्ता ठूलाठूला आशा देखाउने खालको प्रतिवद्धताहरु देखाएको थिइन् । तपाईहरुले जनता स्वयम्लाई पनि सोध्न सक्नुहुन्छ । मैले भोट माग्ने क्रममा जनतासंग ‘म नेतृत्वमा आएभने तपाई÷हाम्रो आवश्यकता अनुसार तपाई÷हामीसंगसंगै थाहा नगरको विकास गरौं, म सहजिकरण गर्छु,तपाईहरु सुझाव दिनोस्, सहयोग गर्नुहोस्’ भनेको थिए ।

यस बाहेक केही पार्टीगत घोषणापत्रका कुराहरु थिए । लगभग हामी पुरानो प्रतिवद्धताबाट टाढा छैनौ । आजपनि म जनतासंगै चोक–चौतारो र चियापसलमा हुन्छु, उहाँहरुको दैनानुदिनको आवश्यकता समस्याबारे कुरा हुन्छन्, समाधानको पहल हामी–हामी आफैं पहिल्याउँदै आएका छौ । जनताको बस्तिमा जान्छु, टोलमा जान्छु समस्या म आफैंलेपनि देख्छु उहाँहरुले पनि भन्नुहुन्छ । मिलेर काम गरिरहेका छौं । घोषणापत्रका कुराहरु, योजनाहरुलाई बजेटमार्फत पनि सम्बोधन गरिरहेका छौ ।

  • स्थानीय निकायलाई आवश्यक कानून निर्माणको अधिकार पनि दिइएको छ ? नयाँ कानून निर्माणको अवस्था, समस्या चुनौति के कस्ता छन् ?

यसमा रमाइलो पक्ष छ चुनौति भन्दा पनि । हामीले थाहा नगरको हकमा कानून नै बनाएका छैनौ, किनभने अवश्यकता नै खड्केको छैन । आपसी सहमतिमा सबै काम भैरहेको छ भने लिखित कानून नै बनाएर मात्रै के हुन्छ र ? लिखित कानून नभएका देश पनि विकास तथा समृद्धिमा अगाडी नै छ । हाम्रो देशमा संघीय सरकारले बनाएको कानून छ, त्यसले नपुगे प्रदेश सरकारले बनाएको कानून छन् । हामीले अहिलेसम्म संघ र प्रदेशले बनाएको कानून नै फलो गर्दा चलिरहेको छ भने नयाँ कानून निर्माणको खाँचो नै किन प¥यो र ? समस्या आएमा समाधानार्थ कानून बनाउने कुरो आउँथ्यो होला, आजसम्म नयाँ कानूनको खाँचो परेको छैन, सबै सहजै चलेको छ ।

  • केन्द्र (संघीय) सरकार, प्रदेश सरकारसंगको सहयोग सहकार्य समन्वय कस्तो पाउनु भएको छ ?

एकदम राम्रो सहयोग छ । मैले माथि पनि केन्द्र अर्थात संघीय सरकार र प्रदेश सरकारले गरेको सहयोगको योजनाहरु सुनाए । उहाँहरुको सहयोग छ । सहकार्य र समन्वय छ । ठूला ठूला योजनाहरुमा केन्द्र र प्रदेश सरकारसंग हामीले राखेका प्रस्तावहरु हुबहु नभएपनि सन्तोषजनक रुपमा सहकार्य÷ सहयोग छ ।

  • टोलटोलमा सिंहदरबार भनेर हल्ला गरियो, अहिले सिंहमात्रै आए भनेर निराशा र आक्रोष पनि जनतामा देखिन्छ, तपाइले कार्यान्वयन गर्दै गरेका योजनाहरु, विकास निर्माणको गतिविधिहरुमा चाँही जनताको सहयोग कत्तिको पाउनु भएको छ ?

अन्तको कुरा मैले भन्दिन, थाहा नगरका जनतामा त्यो निराशा र आक्रोष छैन, मैले कार्यान्वयन गर्दै गरेको योजनाहरुमा देखिने जनसहभागीताले नै त्यो प्रष्ट पार्छ । मेरो नगरमा चाँही साँच्चै टोलटोलमा सेवा पाएका छन् जनताले । केही समस्या सिमित स्रोत साधानको कारण हुन सक्छन् । सिमित स्रोत साधन असिमित आवश्यकताको कारण सेवा प्रदान गर्ने क्रममा सोचेजति नहुन सक्छ, हामीले अहिले नै धेरै काम देखाउने बेला भैसकेको छैन । तर दु्रत गतिमा काम अगाडी बढेको छ ।

धेरै ठूलाठूला उपलब्धिहरु देखाउन नसकेपनि ति उपलब्धिको लागि जग बसाउने काम चाँही भएको छ । जनताबाट आएको साथ, सहयोग, सल्लाह तथा सुझावको कारण नै हामीले विकास, समृद्धिको रफ्तार अगाडी बढाउन सक्ने हो । थाहा नगरका जनता टोलमा आएर हैन, घरैमा बसेर विकास माग्न सक्ने भएका छन्, सिधै फोन गरेर खानेपानी, बाटोघाटो, पुलपुलेसाको लागि योजना माग्ने गर्दछन्, यहाँ यति खाँचो छ, योजनामा पार्दिनु है भन्नसक्छन् । आज जनप्रतिनिधिहरु छौ र त यसो भन्ने अवसर पाएका छन् जनताले । निराश हुनुपर्ने कुरै छैन । मलाई थाहा नगरको जनताको एकदम साथ सहयोग छ । 

साभारः  सरिता दाहाल, राजधानी दैनिक



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)