nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको इन्द्रसरोवर यसकारण बन्छ प्रदेश-३ को पर्यटकीय गन्तव्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्ने गरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको छ । सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको हो । पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार प्रदेश नं ३ मा मकवानपुरको कुलेखानी (इन्द्रसरोवर), लाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । मकवानपुरको पर्यटकिय स्थलहरु र विकासका सम्भावना बोकेका धेरै प्राकृतिक र ऐतिहाँसिक स्थालहरुको माझमा पनि प्रदेश नं ३ कै पर्यटकिय गन्तब्यको रुपमा इन्द्रसरोवरलाई विकास गरिने भएको छ । प्रदेश नं ३ को पनि उत्तरी मकवानपुरमा पर्ने इन्द्रसरोवर पर्यटकिय गन्तब्य बन्दा मकवानपुर वासीको लागि नै खुशीको  विषय बनेको । यसै विषयमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामासँग संवाददाता मञ्जरी बलामीले गरेको संवाद प्रस्तुत छः

  • इन्द्रसरोवर प्रदेश नं ३ कै पर्यटकिय गन्तब्य बनेको छ, कस्तो महशुस भैरहेको छ ?

यो इन्द्रसरोवर गाउँपालिकालाई संघीय सरकारले ३ नं प्रदेशको १ सय १९ वटा स्थानीय तह मध्येमा इन्द्रसरोवर गाउँपालिकालाई छनौट गरेको छ । त्यसैले सबैभन्दा पहिले त पर्यटकिय गन्तब्यको रुपमा इन्द्रसरोवरलाई छनौट गरकोमा संघीय सरकारलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहान्छु र खुशी पनि व्यक्त गर्न चाहान्छु । यो अवसर प्राप्त गर्नको लागि यतिकै सजिलोसँग भएको चाहीँ होइन । यसका विविध कुराहरु र संघर्षहरु गरेर यो अवसर प्राप्त भएको हो । यो अवसरलाई सहि ढङ्गले सदुपयोग गर्नका लागि इन्द्रसरोवर गाउँपालिकाले पनि आफ्नो एक किसिमको योजनाहरु बनाएको छ ।

  • पर्यटकिय गन्तब्य भनिँदा, इन्द्रसरोवरमा भएका पर्यटकिय स्थलहरुको पहिचान गरिएको छ कि छैन ?

हामीले इन्द्रसरोवर गाउँपालिकामा कुनकुन पोइन्टहरु पर्यटनलाई आकर्षण गर्न सक्छ र पर्यटनको केन्द्र हुन सक्छ भन्ने बारेमा यही भुगोलको हामी भएको कारणले हामीलाई मोटामोटी रुपमा थाहा छ नै त्यस मध्यमा पनि हामीसँग इन्द्रसरोवर ताल छ, विशेष गरी इन्द्रसरोवर ताललाई केन्द्रबिन्दु बनाएर यो पर्यटकिय गन्तब्यलाई हामी अगाडि बढाउँछौ । सँगसँगै हामीसँग इन्द्रसरोवर गाउँपालिकामा एउटा मानव निर्मित ताल त छँदै छ त्यस सँगसँगै ऐतिहाँसिक चन्द्रगदी पनि हाम्रो इन्द्रसरोवर गाउँपालिका भित्रै पर्छ ।

चन्द्रागिरी भालेश्वरमा अहिले जुन केवलकार चलिरहेको छ, त्यसकै सेरोफेरोमा अर्को डाँडा पनि ऐतिहाँसिक डाँडा जुन पृथ्वीनारायण शाहले हिजोको दिनमा किर्तिपुरसँग लडाँई गर्ने बेलामा जुन डाँडाबाट लडाँइ गरेका थिए, त्यो डाँडा पनि हामीसँग पनि जोडिएको कारणले गर्दा पनि त्यो ठाउँलाई पनि एउटा पर्यटकिय स्थलको रुपमा विकास गरेर लैजान हामी अगाडि बढीरहेका छौँ । केही दिन अघिमात्र नेपालका ५० भन्दा बढी चित्रकारहरुले त्यही डाँडामा बसेर त्यतिखेरको ऐतिहाँसिक कुरालाई झ–झल्को दिने खालको चित्रहरु कोरे, त्यसै चित्रलाई अस्ति भर्खरै भुपू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले उद्घाटन गरेर ७ दिने चित्रकला प्रदर्शन पनि गरे । त्यसको समापन भुपु प्रधानमन्त्री झलनाथ खनालले गरेर त्यसलाई राष्ट्रिय रुपमा उजागर गर्ने काम भएको छ । त्यसैले हामीसँग इन्द्रसरोवर गाउँपालिकामा पर्यटन सँग सम्बन्धित र पर्यटन सँगको यो भ्युहरु पर्याप्त मात्रामा छन् । हामी इन्द्रसरोवर गाउँपालिकाको  वडा नं ४ फाखेलमा पनि हिजोको ऐतिहाँसिक दिनलाई झ–झल्को दिने खालको ऐतिहाँसिक नख्खु जेल ब्रेक गरेको व्यक्तित्वहरुको सम्झनामा हामीले एउटा फाखेल मैत्री पार्क अर्थात मदन भण्डारी फाखेल मैत्री पार्क नामाकरणमा एउटा पार्क निर्माण  पनि गर्दै छौँ, त्यसको मास्टर प्लान पनि बनिसकेको छ । त्यसमा केही रकम प्रदेशबाट पनि विनियोजन भैसकेको छ । त्यसकारण हामीसँग यस्ता धेरै ठाउँहरु छन् त्यस मध्यमा हामी २÷४ वटालाई प्वाइन्ट गरेका छौँ । अर्को सिस्नेरीको माथि पोखरी डाँडाबाट पनि महत्वपूर्ण भ्युहरु देख्न सकिन्छ, जुन डाँडाहरुबाट हिमालका अनगिन्ति लस्करहरु देख्न सकिन्छ, घाम उदाएको र घाम अस्ताएको दृश्य देखन सकिन ठाउँहरु इन्द्रसरोवर गाउँपालिका भित्र छन् । त्यो ठाउँहरुलाई हामी विकास गर्दै लैजाने कुरमा अगाडी बढीरहेका छौँ र अहिले भर्खरै संघीय सरकारले इन्द्रसरोवर गाउँपालिकालाई पर्यटनको गन्तब्यको रुपमा घोषणा गरेको कारणले ति घोषणा सँगै त्यसबाट  प्राप्त अनुदानहरु यिनै स्थलहरुमा पर्यटकहरुलाई बढीभन्दा बढी आउने वातावरण, सुरक्षित हुने वातावरण र रमाउने वातावरण  बनाउने किसिमले हामी विकास गर्छौँ । र त्यसो भैसकेपनि इन्द्रसरोवर गाउँपालिकाका जनताहरुको आर्थिक समृद्धि हुँदै सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्नका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र यो एकदमै इन्द्रसरोवर गाउँपालिकाको लागि महत्वपूर्ण अवसर हो र यो महत्वपूर्ण अवसरलाई सहि ढङ्गले सदुपयोग गर्नका लागि  सम्पूर्ण इन्द्रसरोवर गाउँपालिकाका जनताहरु, सञ्चारकर्मी, कलाकार, राजनीतिज्ञ, राजनीतिक पार्टीहरु सबैले सहि ढङ्गले सदुपयोग गर्नका लागि हार्दिक आव्हान गर्छु ।

  • पर्यटनको कुरा गर्दा मुख्यरुपमा आनीबानीलाई हेरिन्छ, इन्द्रसरोवरका जनमानसले पर्यटकलाई गर्ने ब्यवहारले नै पर्यटक कति टिकाउने भन्ने निर्धारण गर्दछ, यसको लागि के पहल हुन सक्छ ?

यहाँले महत्वपूर्ण कुरा उठाउनु भएको छ । वास्तवमा पर्यटन आएर बस्नको लागि राम्रो ठाउँ मात्र भएर हुदैन, सुन्दर दृश्यहरु मात्र भएर पनि हुँदैन । जहाँ रहेका व्यक्तिहरुको व्यवहारले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले सुरक्षाको कुरा महत्वपूर्ण कुरा हो, त्यससँगसँगै पर्यटकलाई गर्ने व्यवहार चाही अझ महत्वपूर्ण कुरा हो । त्यसैले पर्यटनलाई कस्तो खालको ब्यवहार गर्ने र कुन खालको ब्यवहारले त्यो पर्यटक अझ दोहोर्याइ तेहर्याइ यहि ठाउँमा आउने वातावरण कसरी बनाउने भन्ने बारेमा यो भेगका, इन्द्रसरोवर गाउँपालिकाका, पर्यटन क्षेत्रका व्यक्तिहरुलाई, समुदायहरुलाई प्रशिक्षणहरु, आनीबानी परिवर्तनका कुराहरु गराउनु जरुरी छ, ति कुराहरु पनि पर्यटनलाई विकास गराउने कुरामा हामी समाबेश गरेर लैजान्छौँ ।

  • ७ दिन अर्थात ए हप्ताको लागि कुनै पर्यटक इन्द्रसरोवर आए भने । त्यो पर्यटकले सात दिनको बसाईमा कहाँ कहाँ पुगेर मनोरञ्जन लिन सक्छ ?

इन्द्रसरोवर भित्र सातदिन भित्रमा पर्यटक रमाउने ठाउँहरु पर्याप्त मात्रामा प्रशस्त छन । तर केहि संरचनाहरु भने निर्माण गर्नुपर्ने जरुरी छ, इन्द्रसरोवर ताल वरिपरि नै २र४ दिन बिताउनर रमाउन सक्ने ठाउहरु धेरै छन् । यस्तै इन्द्रसरोवर गाउँपालिकाकै सेरोफेरोमा रहेको भालेश्वर चन्द्रागिरीमा पनि १र२ दिन रम्न सक्ने छन्, अर्को अघि भनेझै चन्द्रगदी छ जुन ठाउँबाट लस्करै हिमालहरु देख्न सकिन्छ त्यो ठाउँ पनि हामीसँग पर्याप्त छ ।

अर्को बन्ने योजनामा रहेको मदन भण्डारी फाखेल मैत्री पार्कमा पनि १/२ दिन बिताउन सक्ने पर्याप्त ठाउँहरु छन् । त्यसकारण पनि हामीसँग इन्द्र्सरोवर गाउँपालिकाको वडा नं २ को चौकी लेक डाँडा छ जहाँ थोरै मान्छे मात्र त्यहाँ पुगेको छ, जुन ठाउँबाट सिङ्गो इन्द्रसरोवरलाई निहुरिएर हेर्न सकिने ठाउँ हो त्यो । त्यति सम्मको अग्लो ठाउँहरुपनी हामीसँग पर्याप्त छन्  । मात्र हामी सँग त्यसलाई पर्याप्त ढंगले विकास गर्दै लैजान स्रोत र साधनको कमि छ ।

स्रोत र साधन हामीसँग भयो भने एक हप्ता होइन हामीले पन्ध्र दिन, महिना दिन पर्यटकलाई यहाँ अड्काएर यहाँ रमाएर बिताउन सक्ने वातावरण  सिर्जना गर्न सक्ने ठाउँहरु यहाँ प्रशस्त भएको हुनाले यहा कहाँ जाने के गर्ने भन्ने अप्ठ्यारो  हुँदैन भन्ने मलाई लाग्छ र सँगै इन्द्रसरोवर सँगै जोडिएको थाहा नगरपालिका पनि भएको हुनाले थाहा नगरपालिकामा पनि आफ्नै किसिमको विकास भैरहेको छ पर्यटकहरु त्यहाँ पनि जान सक्ने भयी । इन्द्रसरोवरको लागी एक हप्ता दुइ हप्ता ३ हप्ता बिताउने ठाउँहरु निर्माण गरेर जानको लागी कुनै पनि अप्ठ्यारो छैन मात्र स्रोत र साधनको कमि मात्र हो ।

  • जुन पर्यटकहरुलाई निजि शौचालयमा अनुमति दिइदैन, सर्बजनिक शौचालयहरु निक्कै कम मात्रामा छन, खुल्ला  दिसा मुक्त क्षेत्र भनिरहँदा पर्यटकहरुले खुल्ला दिसा गर्नुपर्ने बाध्यता छ जसले गर्दा पर्यटकलाई पनि समस्या गाउँपालिकाको क्षेत्रपनी फोहोर हुने । यो विषयलाई कसरी लानु हुन्छ ?

यो स्वास्थ र सरसफाइ सँग सम्बन्धित महत्त्वपूर्ण कुरा हो यो । सार्वजनिक शौचालयहरु बढी भन्दा बढी आवस्यक छन् , तर यो सार्वजनिक शौचालयहरु निर्माणको लागी पनि स्रोत र साधनकै आवश्यकता पर्दछ । गतवर्षको योजनाले यो वर्षदेखी मार्खुमा सार्वजनिक शौचालय निर्माण गरेर संचालन गर्ने क्रममा छौ र इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ को सिमखोलामा रहेको एउटा सार्बजनिक शौचालय जुन पहिला नै निर्माण भएको त्यसलाई पनि संचालनका लागी अगाडि बढिरहेका छौ । त्यसैले बाँकी ठाउँहरुमा शौचालयहरु निर्माण गरेर जानका लागी गाउँपालिकाले पनि त्यो खालको योजना बनाएको छ भने राज्यले पर्यटकीय गन्तव्य घोषणा गरिरहँदा घोषणा गर्नको लागी  संरचनाहरु बनाउनका लागी पनि राज्यको तर्फबाट केहि अनुदानहरु पक्कै हुनेछन् । त्यसबाट पनि शौचालयहरु निर्माण गरेर अगाडि बढ्ने कुरामा हामी योजना बनाएर अगाडि बढ्ने छौँ ।

अन्तमा यस विषयमा संचारमाध्यम र जनमानसमा के भन्नु छ ?

अन्त्यमा इन्द्रसरोवर गाउँपालिकाले वास्तवमा एउटा गाउँपालिकाको भाग्य कोर्ने अवसर अहिले सुरु भएको छ जुन पर्यटनको गन्तव्यको रुपमा संघीय सरकारले गरेर यो अवसरलाई भरपुर उपयोग गरिकन अगाडि बढ्नु पर्छ र त्यसरी अगाडि बढ्नका लागी यहाँका पर्यटन सँग सम्बन्धित सम्पुर्ण जनसमुदायहरु र इन्द्रसरोवर भित्रका सम्पुर्ण जनताहरुलाई यो योजना सफल बनाउनको लागी यहाँको भरपुर सहयोगको अपेक्षा गर्दछु र यो सहयोग पक्कै पनि तपाईहरुले प्रदान गर्नु हुनेछ र यो सुनौलो अवसरलाइ सुनौलो अक्षरले लेख्नको लागी हामी सबैजना एकजुट भएर लाग्नका लागी म सबैलाई आग्रह गर्दछु । र जहाँसम्म मिडिया, पत्रपत्रिका र पत्रकार साथीहरूको कुरा छ, यि र यस्ता कुराहरुको फिडब्याक सहित प्रचार प्रसार र जन समक्ष उजागर गर्ने  महत्त्वपूर्ण माध्यम यो सूचना प्रवाह नै हो, संचार माध्यम नै हो, पत्रपत्रिका नै हो पत्रकार साथीहरू नै हो ।

त्यसकारणले गर्दा कमिकमजोरीहरुलाई सल्लाह सुझाव सहित राम्रा कुराहरूलाई बढी भन्दा बढी बाहिर ल्याइदिनु हुनका लागी म पत्रकार साथीहरूलाई अनुरोध गर्न चाहान्छु ।  ताकी अहिलेसम्मको हकमा इन्द्रसरोवरको सूचनाहरु राम्रो गरेको कुराहरूलाई बाहिर ल्याउने अवसर हामीले पाएका छैनौ । त्यसकारण यहाँ जस्ता पत्रकारहरुले आगामी दिनमा राम्रा गरेका कुराहरुलाई बाहिर ल्याउन त्यो खालको क्रियाकलाप त्यो खालको सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । यहाँहरुको सहयोग बिना हामी पनि पछाडी पर्छौ र यहाँहरु सँगै यात्रा गर्न सक्यौ भने वास्तवमै इन्द्रसरोवरको भविष्य सुखद छ, यो सुखद भविस्य सुनौलो अक्षरमा कोर्नको लागी म पत्रकार साथीहरूलाई अनुरोध गर्दछु ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)