Thursday, 3rd September, 2026
वि.स.

नागरिकको आवश्यकता महशुस गरे, योजनालाई प्राथमिकतामा राख्छुः उपाध्यक्ष कँडेल

IMGL0023-1606838963.JPG

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ को फेदीगाउँ त्रिवेणी बस्ती बचाउ (तटबन्धन) नागरिकहरुको आवश्यकताको योजना भएको बताएका छन् । १५ मंसिरमा थाहानगर आइपुगेका उपाध्यक्ष कँडेलले फाँटजारमा भएको संक्षिप्त छलफल कार्यक्रममा यस्तो बताएका हुन् । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको उपस्थितीमा भएको कार्यक्रममा उपाध्यक्ष कँडेलले चाल् आर्थिक वर्षमा अधिकांश क्रमागत योजनाहरुलाई निरन्तरता दिनू परेकोले प्रस्ताव अनुसार नयाँ परियोजनाहरु संचालन गर्न नसकिएको बताए । “पटकपटक नगर प्रमुख विष्टसंग तटबन्धनको विषयमा योजना आयोगमै छलफल भएको छ, यो योजना विशेष अनुदान मार्फत संचालन हुन सक्छ”, उनले भने “पहिले जस्तो योजना आयोगमा बजेट धेरै हुँदैन राष्ट्रिय महत्वको योजनालाई हामी बजेट विनियोजन गर्छौ ।” 

समपुरक र विशेष अनुदान मार्फत ठूला योजना संचालन गर्ने बताउँदै कँडेलले आगामि आर्थिक वर्षका लागि यहि मंसिरमै योजना आव्हान हुने र पौष महिनाभरीमा दरखास्त हाल्न सकिने बताउँदै फेदीगाउँ त्रिवेणी तटबन्धन योजनालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । योजना आयोगमा मुलुकभरबाट योजनाको प्रस्ताव पर्ने र त्यसको योजना छनोटका लागि छुट्टै संयन्त्र भएको समेत उनले बताए । उनले भने “म फिल्डमै आएको छु, म टिममा कुरा पनि गर्छु, यहाँ योजना आवश्यक महशुस भएको कुरा गर्छु ।” फेदीगाउँ त्रिवेणी तटबन्धनको थाहा नगरपालिकाले विस्तृत परियोजना प्रस्ताव तयार गरिसकेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

१४ करोडको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भएकोले उक्त परियोजना राष्ट्रिय योजना आयोगको सहयोगबाट संचालन हुने नगर प्रमुख विष्टले विश्वास व्यक्त गरे । संघीय सरकारले पठाएको बजेटबाट प्रभावकारी रुपमा योजना संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले कामको अनुगमन गरेर मूल्याङ्कन गरिदिन समेत उपाध्यक्ष कँडेललाई अनुरोध गरे । 

यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले संघीय समपुरक बजेटबाट संचालित बज्रवाराहीको पिच सडकको अनुगमन गरे । उनले स्थानीय तहबाट भएको उक्त कामको प्रशंसा समेत गरे । संघ र स्थानीय तहको सहकार्यमा भएको विकासे परियोजनाले नागरिकले पाएको सुविधाको उनले चर्चा गरे । योजना निरीक्षणमा राष्ट्रिय योजना आयोगका संचार परामर्शदाता रामेश्वर कार्की, नगर उपप्रमुख खड्ग गोपाली, नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट आदर्श, प्रदेश सदस्य महेश्वर सुवेदी, नेकपा मकवानपुर सदस्य राजु नापित,  नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझी, सचिव सानुकाजी गोपाली, वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदी, कार्यपालिका सदस्य जानुका ढकाल तथा वडा सदस्यहरुको समेत सहभागिता रहेको थियो । सो क्रममा थाहा नगरपालिकाको फाँटबजारमा स्थानीयहरुले उपाध्यक्ष कँडेलसहित जनप्रतिनीधि र राजनीतिक दलका प्रतिनीधिहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए । 


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif