Tuesday, 1st September, 2026
वि.स.

तीजको दर स्थगित गरेर अधिकारी वंशज महिला समूहले बाढीपीडितलाई पठायो रु. ५० हजार ५५५

IMG_20260831_192027-1788183345.jpg

तीजमा दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम अब उत्सवमा खर्च हुने छैन । थाहा नगरपालिका–४ किटेनीस्थित अधिकारी वंशज महिला समूहले तीजको दर कार्यक्रम नै स्थगित गरेर ५० हजार ५५५ रुपैयाँ रसुवा बाढीपीडितको राहतका लागि सहयोग गरेको छ ।

रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विपद्मा परेका परिवारलाई सहयोग आवश्यक रहेको भन्दै समूहले यसपटक तीजको कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

समूहले दर कार्यक्रमका लागि संकलन तथा व्यवस्थापन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

समूहकी सदस्य उमा अधिकारीका अनुसार तीज मनाउनेभन्दा अहिले विपद्मा परेका नागरिकको पीडामा साथ दिनु प्राथमिकता ठानेर कार्यक्रम स्थगित गरिएको हो ।

“तीज हाम्रो संस्कृति हो। तर अहिले धेरै परिवार दुःखमा छन्। यस्तो अवस्थामा उत्सव मनाउनुभन्दा आफूले सकेको सहयोग गर्नु उचित ठानेर कार्यक्रम रोक्यौँ,” उनले भनिन् ।

समूहकी सदस्य रेखा अधिकारीले सहयोग रकमबाट बाढीपीडित परिवारलाई केही भए पनि राहत पुग्ने अपेक्षा रहेको बताइन्। उनका अनुसार कार्यक्रमका लागि छुट्याइएको रकमलाई यसपटक राहतमा प्रयोग गर्ने सामूहिक निर्णय गरिएको हो ।

सुनिता अधिकारीले तीजको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउनु सकारात्मक भएको बताइन् । उनले विपद्को समयमा आफ्नो खुसीसँगै अरूको दुःखलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै, जमुना अधिकारीले विपद्का बेला सहयोगको रकमभन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुने बताइन्।

अधिकारी वंशज महिला समूहको यो निर्णयले तीजको उत्सव स्थगित गरेर भए पनि विपद्मा परेका नागरिकलाई सहयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif