Friday, 19th June, 2026
वि.स.

नदिजन्य पदार्थ सम्बन्धी मापदण्डका कारण विकास निर्माणमा समस्या

jisasa251-1605024148.jpg

नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) सम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्डको कारण भौतिक विकास निर्माणमा समस्या उत्पन्न हुनुका साथै दैवी प्रकोपको जोखिम बढेको मकवानपुरका जनप्रतिनिधिहरुले बताएका छन् । २५ कात्तिकमा स्थानिय तह समन्वय बैठकमा जिल्लाका स्थानिय तहका प्रमुखहरुले ढुंगा, गिट्टी, बालुवा उत्खनन् सम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्डका कारण विकास निर्माणका साथै दैवी प्रकोपको जोखिम बढेको बताएका हुन् । 

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा उनीहरुले सरकारले जरी गरेको मापदण्डका कारण विकास निर्माणका लागि आवश्यक नदिजन्य पदार्थको उत्खनन्मा अवरोध पुग्ने भन्दै त्यसले विकास निर्माणमा अवरोध भएर कम प्रगति हुने देखिएको बताए । जिल्ला समन्वय समितिले ढुंगा, गीट्टी, बालुवा उत्खनन् सम्बन्धी मापदण्ड–२०७७ बाट उठेका समस्या र त्यसको समाधानका विषयमा छलफलकालागि बैठकको आयोजना गरेको हो । 

बैठकले तत्कालको समस्या समाधानका लागि स्थानीय तह भित्र आईई स्वीकृत नभए सम्मको लागि जिल्ला दैवी प्रकोप समितिबाट आवश्यक निर्णय गराएर विकास निर्माणलगायत जोखिम न्युनिकरणमा लाग्ने निर्णय गरेको छ । विकास निर्माण सुचारु गर्न र जोखिम न्यूनिकरणका लागि नदि उकास क्षेत्र पहिचान गरि क्वान्टीटी निर्धारण गरि प्राविधिक रिपोर्ट सहित आवश्यक प्रकृया पुरा गरेर व्यवस्थित रुपमा कार्यविधि बनाएर कार्य अगाडी बढाउने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिए ।  त्यसका लागि स्थानीय तहले जोखिम क्षेत्र पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिबाट जिल्ला दैविक प्रकोप समिति मार्फत निर्णय गराएर कार्य अगाडी बढाउने निर्णय गरेको उनले बताए । साथै बैठकले मापदण्ड परिमार्जनका लागि संघिय सरकार समक्ष डेलिगेसन जाने निर्णय समेत गरेको उनले बताए । 

त्यस्तै बैठकमा जिल्लामा कोभिड–१९, कोरोना भाईरसको माहामारीको अवस्था र स्थानीय तहहरुले गरेका कामहरुका बारेमा समेत छलफल भएको छ । बैठकले सो विषयमा जिल्लामा संचालित आईसोलेसनलाई व्यवस्थित गर्दै कोभिड नियन्त्रणका लागि स्थानीय तहबाट गर्दै आएको कार्यलाई निरन्तरता दिनुका साथै स्वास्थ्य सुरक्षाको मापदण्डलाई कायम राख्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न कोभिड–१९ महामारी र जोखिमबारे सचेतना अभिवृद्धि गर्ने निर्णय गरेको उनले बताए । 

बैठकले जिल्ला भित्रका स्थानीय तहहरुमा रहेको सरकारी तथा ऐलानी जग्गाको संरक्षण सम्बन्धमा पालिकाहरुले विवरण तयार गर्ने निर्णय गरेको छ । स्थानीय तहहरुमा रहेको ऐलानी तथा सरकारी जग्गाहरुको विवरण संकलन गरेर उक्त जग्गामा पालिका भित्र सञ्चालित विभिन्न उद्योग एवम् आयोजनाले पु¥याएको क्षती न्युनिकरणका लागि स्थानीय तहबाट संकलित विवरणका आधारमा बृक्षारोपण गर्न सहजिकरण गर्ने र स्थानीय तहहरुले त्यस्ता सरकारी तथा ऐलानी जग्गाको संरक्षण गर्ने निर्णय गरेको उनले बताए । 

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा, मनहरी गाउँपलिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाई, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, बागमती गाउँपािलका अध्यक्ष सर्केश घलान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, हेटौंडा उपमहमानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमराज घिमिरे, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुसिल सिंह राठौरलगायतको सहभागिता थियो ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०