Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा काँग्रेस गर्जियोः ओली सरकार जनमत विपरित हिँड्दै [हेर्नुहोस् फोटो र भिडियो]

ओली नेतृत्वको सरकार जनमत विपरितको भएको कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले बताएकी छिन् । पुर्व जलस्रोत राज्यमन्त्री समेत रहेकी डिनाले ओली नेतृत्वको सरकारको कदम अलोकतान्त्रिक र असंबैधानिक भएकोले यो सरकार जनविरोधी भएको बताइन् । 

कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको बलात्कार गरेको आरोप लगाएकी छिन् । सोमबार मकवानपुरको थाहा नगरपालिकामा भएको क्षेत्र नम्बर २ को विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सनकको भरमा प्रतिनिधिसभा संसद् विघटन गरेर जनतमतलाई धोका दिएको बताइन् । ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई बर्ष पुगिसकेको छ । दिनहुँ बलात्कार र हत्या बढिरहेको छ । सोही अनुपातमा भ्रष्टाचार पनि बढिरहेको छ’, डीनाले भनिन्, ‘न बलात्कारी र हत्यारा पक्राउ गर्न सकेको छ । न भ्रष्टाचार नियन्त्रण नै । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्साबाट हटाएर देशकै बलात्कार गरेको छ ।’

भिडियोः

सरकार सर्वसत्तावाद उन्मुख भएको धारणा राख्दै उनले सरकारको रबैयाको विरुद्ध नेपाली जनता सडकमा ओर्लिएको दावी गरिन् । ‘सरकारको गल्तीले सारा जनताको आँखामा आँसु छ । सरकार आँसु पुछ्न छोडेर सरकार भ्रष्टाचारमा डुबेको छ’, पूर्व राज्यमन्त्री समेत रहेकी डीनाले थपिन्, ‘संसद् विघटन गरेर असंवैधानिक एवम् अलोकतान्त्रिक काम गरेको छ । यसको बिरुद्ध सबै एक हुनु आवश्यक छ ।’

जनताको बलामा नेपालमा राजतन्त्र ढलेको स्मरण गराउँदै अब जनताले नै कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउने उनले चेतावनी दिइन् । कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको अध्यक्षतामा भएको विरोध प्रदर्शन कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा र आनन्द कठायत, कांग्रेस मकवानपुर सल्लाहकार एवम् महासमिति सदस्य जयराम लामिछाने, महासमिति सदस्य उमा दाहाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, महासमिति सदस्य उदयमोहन श्रेष्ठलगायतले कम्युनिष्ट सरकार सर्वसत्तावादी भएको र अलोकतान्त्रिक एवम् असंवैधानिक निर्णय गर्दै अघि बढेको धारणा राखेका थिए ।

कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकलगायतका नेताहरुको आतिथ्यता थियो । कार्यक्रममा सत्तारुढ दल नेकपा र राप्रपा परित्याग गरी ३० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

फोटोहरूः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०