nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

८६ प्रतिशतलाई काेराेना पुष्टि, थाहा नगरमा देखियाे यस्तो डरलाग्दो सङ्केत

Thahaaaaaaaa-1623817780.jpg

थाहा नगरपालिकामा निकाे हुनेलाई नगन्दा अहिले ५९२ जना काेराेना सङ्क्रमित छन् । वडा नम्बर ६ मा मात्र १०८ जना सङ्क्रमित छन् । १, २, ३ नम्बर वडामा १०० काे हाराहारीमा छन् । जहाँ जाँच्याे त्यहाँ काेराेना भेटिएकाे छ ।  

१ असारमा वडा नम्बर १ मा ११ जनामा काेराेना जाँचियाे । त्यसमध्ये १० जनालाई पाेजिटिभ देखियाे । बज्रवाराहीमा २ जनामा परीक्षण गर्दा १ जना सङ्क्रमित ठहरिए । १२ नम्बरकाे एक जनामा परीक्षण गरी हेर्दा पाेजिटिभ फेला पर्याे । समग्रमा एक दिनमा १४ जनामा एन्टिजेन जाँच गर्दा १२ जनामा देखियाे । याे भनेकाे करिब  ८६ प्रतिशत हाे । यसलाई सामान्यरुपमा हेर्न नहुने स्वास्थ्यकर्मीहरुकाे भनाइ छ । 

नगरमा अहिले सैयाैँकाे सङ्ख्यामा काेराेनाकाे बिरामी भएकाले 'काे काेरानाकाे बिरामी हाे, काे हाेइन' भन्ने कुरा स्वयमलाई मात्र थाहा हुने स्थिति छ भन्दा अत्युक्ति नहुने भइसक्याे । काेराेनाकाे अघिल्लाे लहरमा नगरमै थाेरै मात्र सङ्क्रमित थिए, र त्यतिबेला टाेल- समुदायकाले राम्ररी चिन्न सक्थे । स्वास्थ्यकर्मीले 'ट्रेसिङ' गर्थे, नजिकिएकाहरुलाई खाेजीखाेजी पिसिअार गर्थे । अहिले ट्रेसिङकाे त कुरै छाेडाैँ, बिरामीकै फलाेअप गर्न नभ्याउने थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी बताउँछन् । कन्ट्याक्ट् ट्रेसिङ र फलाेअप नभएपछि कतिपय काेराेनाकाे बिरामीलाई छिमेकीले पनि चिन्न नसक्ने स्थिति बनेकाे छ । 

एक साताअघि नगर प्रमुखकै टाेलीले एक जना काेराेनाकाे बिरामीलाई मन्दिरमा फेला पारेकाे थियाे । मास्कसमेत नलगाई पूजा गर्न गएका काेराेनाकाे बिरामीलाई पछि अाइसाेलेशन पठाइएकाे नगर प्रमुख लवशेर विष्टले बताए  । 

केही दिनअघि एकपटक प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक शक्ति चाैराशियाले एक जना सङ्क्रमितलाई फाेन गरे । 'तपाईं कहाँ हुनुहुन्छ' भनेर साेध्दा ती सङ्क्रमितले साेझै 'खेतमा अालु खन्दैछु' भनेर जवाफ दिए । म फलाना भनेर चिकित्सकले परिचय खुलाएपछि ती सङ्क्रमित झस्किए । 

थाहा नगरपालिकामा कतिपय काेराेना सङ्क्रमितहरु हाेम अाइसाेलेशनकाे मापदण्ड पालना नगरी जथाभावी हिँडिरहेका छन् । बैशाखकाे तेस्राे सातादेखि निषेधाज्ञा जारी गरेपछि स्थिति केही नियन्त्रणमा अाएकाे थियाे । बिवाह र भाेजभतेरकाे जमघटका कारण वडा नम्बर ३ मा बढी सङ्क्रमण देखिएकाे थियाे । निषेधाज्ञाले जमघट राेकेपछि साे वडामा बिस्तारै सङ्क्रमणदर कम हुँदै गयाे । तर सङ्क्रमितकाे सङ्ख्या बढी हुँदा निषेधाज्ञाले सङ्क्रमणदर ह्वात्तै  नघट्ने देखियाे । 

भीडभाड राेक्न र मानिसदेखि मानिससम्मकाे दुरी टाढै राख्न गत मातातीर्थ अाैंशी र ३ वर्षे बाराही जात्राकाे अवधिमा पूर्ण निषेधाज्ञा गरियाे । मानिसहरु हिँडडुलसम्म गर्न नपाइने भनियाे  । काेराेना जाँचेर पाेजिटिभ नदेखिएका जम्मा १५ जनाले पूजा विधि गरेर बाराही जात्रा त सकाइयाे । तर, त्यसपछिका दिनमा पहिल्यैदेखि भाकल गरि राखिएका ५ सय बढी बाेका  बली दिँदा भीडभाड भइ नै हाल्याे । यसमा नियमनकारी निकायकाे पनि ध्यान गएन । अहिले वडा नम्बर ६ र १ मा बढी काेराना देखिनुमा त्यही भिडभाडकाे पनि   परिणाम भएकाे बज्रबाराही जात्रा गुठी समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ बताउँछन्  । अहिले वडा नम्बर १ मा मात्र ७५ जना काेराेना सङ्क्रमित छन् । निकाे भएका समेत गन्दा साे वडामा १०५ जनामा काेराेना पुष्टि भएकाे छ ।

काेराेनाकाे दाेस्राे लहरकाे शुरुमा थाहा नगरपालिका र सराेकारवालाहरु काेराेना लागे के गर्ने भन्दा पनि काेराना लाग्न नदिने कसरी भन्नेमा बढी केन्द्रित थिए । त्यसकै शिलशिलामा काेराेना नियन्त्रण संयन्त्र, निषेधाज्ञा, प्रहरी परिचालन, अनुगमन अादि गतिविधि तीव्र पारिए । पछिल्ला दिनमा यी सबै फितलाे भएका छन् । काेराेना निर्देशक समितिका सदस्य सुरेन्द्रमान प्रधान  समितिले अनुगमन नगरेकाे झण्डै एक महिना भइसकेकाे बताउँछन्  । कन्ट्याक्ट् ट्रेसिङ,फलाेअप, मनाेविमर्श, अनुगमनकाे काम भन्दा बढी ध्यान स्वास्थ्यका सामग्री जुटाउनेमा बढी केन्द्रित देखिएकाे प्रधानकाे भनाइ छ । अहिले थाहामा सर्जिकल मास्क मात्रै ५५ हजार बढी माैज्दात छ । एउटै संस्थाले ५५  लाख बराबरकाे सामग्री सहयाेग गरेकाे छ । बज्रबाराहीमा १० जना स्वास्थ्यकर्मीकाे टाेलीसहित अाइसाेलशन केन्द्र पूर्ण तयारी अवस्थामा छ । वडा वडामा ड्राइ अाइसाेलेशन बनाउने क्रम चल्न थालेकाे छ ।  तर, बज्रवाराहीकै २० सैयाकाे अाइसाेलेशनमा जम्मा ३ जनामात्र बिरामी छन् । केही बिरामी नगर बाहिर उपचारारत रहेवाहेक साँढे पाँच सय काेराेना सङ्क्रमित घरमै छन् । 

अहिले धेरैजसाे ज्वराे र झाडापखालाका बिरामी काेराेना जचाउँन जाँदैनन् । कतिपय रुघाखाेकीका बिरामीहरु बाटाेमा खाेक्दै हिँडेकाे पनि भेटिन्छ  । सकेसम्म अाैषधि नखाने, खानु परे नजचाई अाैषधि पसलबाट लगेर खाने र त्यतिले पनि निकाे नभएर थलिएपछि बल्ल स्वास्थ्य संस्था अाउने गरेकाे चिकित्सक रिकेस कार्की बताउँछन् ।  व्यथाले च्यापेपछि  मात्र अस्पताल जाँदा काेराेनाे देखिएमा त्यस व्यक्तिबाट कति जनामा र ती व्यक्तिहरुबाट कति जनामा सरेकाे हाेला, अनुमानै गर्न सकिन्न । 

विभिन्न अवधिमा निषेधाज्ञा जारी गर्ने क्रममा अहिले केही खुकुलाे बनाइएकाे छ । खुकुलाेकाे अर्थ समूह, बैठक जमघट , प्रत्यक्ष कक्षा, सार्वजनिक यातायात, भाेजभतेर, केही हाेइन । अत्यावश्यक उपभोग्य बस्तुको खरिद–विक्रीको समय अघिल्लो निषेधाज्ञाबाट एक घण्टा बढाएर १० बजेसम्म कायम गरिएको हो । सहकारी, बैंक तथा वित्तीय संस्थाहरु एक चौथाई कर्मचारीबाट २ बजेसम्म खोल्न पाइने भनिए पनि सहकारीहरुले बजारमा दैनिक रकम सङ्कलनसमेत गर्न नपाइने आदेश गरिएको छ । तर एकाएक  बजारमा भीडभाड बढ्न थालेको छ ।  कतिपय वित्तीय संस्था लघुवित्तकाे कार्यक्रम चलाउन समूह बैठक नै चलाउने सुरमा छन् । विना पासमा साना सवारीहरु चलिरहेका छन् । पसलहरु जुनसुकै समय खुल्न थालेका छन् । थाहामा ८६ प्रतिशत काराेना सङ्क्रमण दरकाे कुरा गरिरहँदा अहिले बजारकाे भीडमा भेटिने प्रत्येक १० जना मानिसमध्ये ८ जनामा त काराेना छैन ? त्यसमध्ये तपाईं  र मलाई काेराेना नहुनुले के फरक पर्छ? एक पटक तपाईं, म र हामी सबैले साेच्ने कि ?



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)