nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सिमभन्ज्याङमा पर्वतीय ताल बनाउँछु–पुर्वाधार विकास मन्त्री फुयाँल

IMGL0015-1605276182.JPG

सिमभन्ज्याङ । मकवानपुरको अग्लो भू–भाग । यहाँ वर्षेनी हिउँ पर्छ । कठ्याङ्ग्रीदो मौसम रहेको सिमभन्ज्याङमा २७ कात्तिक विहानै बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल पुगे । मन्त्री फुयाँल पुगेको एक्कैछिनमा थाहानगर प्रमुख लवशेर विष्ट पुग्न भ्याइहाले । ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामा अनि करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद लामा भने पहिल्यै सिमभन्ज्याङ पुगिसेका थिए । मन्त्री र स्थानीय सरकारका प्रतिनीधिहरु देखेपछि स्थानीयहरु झुरुप्प भए, टेबल कुर्सी मिलाउँदै सिमभन्ज्याङ पुगेका सरकारका प्रतिनीधिलाई स्थानीयहरुले माला लगाएर स्वागत गरिहाले । 

मन्त्री फुयाँलको साथमा अधिकांश विषय विज्ञहरु थिए । टोलीमा भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजीव बराल, भिमफेदी कुलेखानी सुरुङमार्ग प्रमुख नवीन सिंह, जलस्रोत तथा सिंचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी डिभिजन प्रमुख लगायतका व्यक्तित्वहरु उनकै टिममा थिए । यतिबिध्न व्यक्तित्वहरुको उपस्थिती घुमफिरका लागि थिएन । मन्त्रीसहितको टोली विकासे ‘एजेण्डा’ लिएर सिमभन्ज्याङमा जम्मा भएका थिए । करुणाभूमि सामुदायिक वन क्षेत्रमा पर्ने पर्वतीय कृतिम ताल सिमभन्ज्याङको निर्माण नै सबै जनाको ‘विकासे एजेण्डा’ थियो । करिब एक दशक अघिबाट निर्माण प्रारम्भ गरिएको ताललाई पर्यटकीय आकर्षण सहित पूर्वाधार विकास गर्नका लागि नगरपालिकालाई घच्घच्याइ रहेका सामुदायिक वनका अध्यक्ष बिनोद लामाले आफ्नो विकासे प्रस्ताव मन्त्री सामु हाकाहाकी राखे । पर्यटकीय छँटाले उपयुक्त सिमभन्ज्याङको विकासमा चासो व्यक्त गरेरै पुर्वाधार विकास मन्त्री फुयाँल एका विहानै पुगेका थिए । प्रस्ताव र चासो दुबै मिल्यो, ताल बन्नेमा सिमभन्ज्याङ बासीमा आशा पलाएको छ । 

सिमभन्ज्याङलाई मन्त्री फुयाँलले स्वर्गकै टुक्रा ठाने । र, भने–‘जो यहि बस्यो कठीन छ, जो कहिले काहीँ आउँछ उसलाई निकै रमाइलो छ ।’ चिसो पानी, सिरेटो उस्तै, छिनमै घाम छिनमै कुहिरो यहाँको विशेषता नै हो । सिमभन्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा थप व्यवस्थित गर्न मन्त्री फुयाँलले सुझाव दिए । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकार हातेमालो गर्ने मन्त्री फुयाँलले बताए । पर्वतीय कृतिम ताल पुर्वाधार विकास मात्र होइन, उनले भने–‘यसको कयौ विशेषता छ र, निर्माण व्यवस्थित गर्नुपर्छ भन्ने उद्देश्यले म सिमभन्ज्याङ आएको हुँ ।’ जनताप्रति प्रश्न गर्दै फुयाँलले भने–‘रानीपोखरीमा पानी अड्याउन सक्ने सिमभन्ज्याङमा अड्याउन किन नसक्ने ? यो संभवन छ, तत्काल भौतिक पूर्वाधार मन्त्रालयबाट अध्ययन प्रारम्भ हुन्छ ।’ उनले भने –‘यसका लागि मूल काम त सामुदायिक वनले गर्नुपर्छ, प्रदेश सरकार पछाडि नपरी अघि बढ्छ ।’

थाहानगर नै दक्षिण एशियाकै सुन्दर र सौन्दर्य नगरपालिका हुनेमा विश्वास व्यक्त गर्दै ताल निर्माणको काममा अघि बढ्न जनतालाई मन्त्री फुयाँलले उत्साह थपे । मन्त्री फुयाँल फिल्डमै पुगेर तालमा जम्मा हुने पानीको स्रोत पहिल्याए । मुहानमै पुगेर आफ्ना प्राविधिक टोलीसंग सल्लाह समेत लिन भ्याए । प्राविधिक टोलीले पानीको स्रोत पुग्दो भएको धारणा राखे । जलस्रोत तथा सिंचाइ विकास डिभिजन मकवानपुरका प्रमुख मनोहर रिजाले पर्वतीय तालका लागि ठाउँ र मुहान उपयुक्त भएको मन्त्री फुयाँललाई सुझाए । पर्यटकहरुलाई आकर्षित गर्नका लागि फूल र रुख रोप्न मन्त्री फुयाँलले आग्रह गरे । उनले भने–‘घर–घर अगाडि फुल रोप्न कस्ले छेक्छ, रुख रोप्न कस्ले रोक्छ ?’ सिमभन्ज्याङमा तालको आकर्षणसहित फुल र हरिया रुखले थप मनमोहक हुने उनको धारणा थियो । ‘हरियाली बागमती’ प्रदेश सरकारको नारा नै छ, यसमा पनि परेको सहयोग गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो । तीन तहको सरकारको समन्वयको थालनी बागमती प्रदेश सरकारले गर्ने बताउँदै उनले भने–‘यो मेरो प्रतिबद्धता भयो ।’ समुदाकयिक वनको नेतृत्वमा फुल र रुख रोप्ने कार्यक्रम अघि बढाउन सुझाव दिदै भने–‘सामुदायिकको पहिलो बैठकमा निर्णय गर्नुहोस्, कार्यान्वयन भएको हेर्न यहि बाटो आउँछु ।’ उनले थपे–‘एक महिना पछाडि सामुदायिक वनसंग बैठक बस्न आउँछु ।’

कार्यक्रममा थाहानगर प्रमुख लवशेर विष्टले ठूला पुर्वाधार विकासका लागि नगरपालिकासंग बजेटको कमी हुने सुनाए । यसअघि थाहा नगरपालिकाले जम्मा तीन लाख बजेट विनियोजन गरेकोमा छेउ पनि विकास गर्न नसकेपछि प्रदेश सरकार गुहारेको विष्टको भनाइ छ । प्रदेश सरकारको सहयोगमा कृतिम पर्यतीय ताल सिमभन्ज्याङको निर्माण सक्ने कुरामा मन्त्री फुयाँल समक्ष विष्टले विश्वास प्रकट गरे । धेरै संभावना बोकेको थाहा नगरपालिकामा एउटा महत्वपूर्ण ठाउँ सिमभन्ज्याङ भएकोले भौतिक पुर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले प्राथमिकताको साथ उपस्थिती देखाएकोमा विष्टले खुशी व्यक्त गरे । पुर्वाधार विकास तथा सम्पदा संरक्षणमा मन्त्री फुयाँलले थाहा नगरप्रति देखाउनु भएको अपनत्वप्रति आभार व्यक्त गरे । 

करुणाभूमी सामुदायिक वनका अध्यक्ष बिनोद लामाले स्रोत अभावकै कारण हालसम्म तालको विकास कार्य अधुरो रहेको सुनाए । भौतिक पुर्वाधार विकास मन्त्री फुयाँलले दिनू भएको आश्वासन पूरा हुनेमा सार्वजनिक कार्यक्रममै लामाले विश्वास प्रकट गरे । उनले वातावरण अनुकुल वनस्पतीले सिमभन्ज्याङको सौन्दर्य बढाउने हुँदा त्यस कार्यका लागि प्रतिबद्धता जनाए । करिब एकदशक अघि निर्माण थालिएको कृतिम पर्वतीय ताल सिमभन्ज्याङका लागि हालसम्म तत्कालिन स्थानीय विकास मन्त्रालयबाट ७ लाख, शहरी विकास मन्त्रालय र थाहा नगरपालिकाबाट ३÷३ लाखको लागतमा केही संरचना निर्माण भएपनि धेरैजसो कार्य स्रोत अभावमा अधुरो रहेको सामुदायिक वनका अध्यक्ष लामाले बताए । 

थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकसिं लामाको सभाध्यक्षताम भएको कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट, नेकपा थाहानगर सदस्य बिमलकुमार ढकाल, सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका पदाधिकारीहरु, सुरक्षाकर्मी पत्रकार लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)