Tuesday, 16th June, 2026
वि.स.

सांसद खतिवडाको विकासे चासोः थाहानगरमा संघीय बजेट 

Birodh-dai-1591594553.jpg

आर्थिक वर्ष २०७७/०७८ का लागि मकवानपुरको थाहा नगरपालिकाका थुप्रै योजनाहरु राष्ट्रिय योजनामा समावेश भएका छन् । प्रतिनीधि सभा सांसद विरोध खतिवडाको पहलमा नगरका योजनाहरु राष्ट्रिय योजनामा समावेश भई बजेट विनियोजन भएका हुन् । १५ जेठमा भएको संघीय सरकारको बजेट भाषण थाहा नगरबासीलाई प्रत्येक्ष फाइदा पुग्ने सुरुङमार्ग, सडक, खानेपानी, स्वास्थ्य लगायतका ठूला योजनाहरुका बजेट विनियोजन भएका छन् । 

सांस्द खतिवडाका अनुसार थाहानगर वृहत्त खानेपानी आयोजनाका लागि २ करोड रुपियाँ विनियोजन भएको छ । यस खानेपानी आयोजनाको थाहा नगरपालिकाले डिपिआर समेत बनाइ सकेको छ । विनियोजित बजेबाट आउने साउनलगतै काम शुरु हुने सांसद खतिवडाले बताए । त्यस्तै ढोक्चा–तसरखोला पक्की पुलका लागि साँढे ४७ लाख र दामन डाँडाँबास सडकको महाभिर खोला पुलका लागि साँढे ४७ लाख रुपियाँ विनियोजन भएको छ । यो बजेट तत्काल काम शुरु गर्न हो, सांसद खतिवडाले भने–‘पुल निर्माण सम्पन्न सम्म हुने गरी योजना संचालन हुन्छ ।’ घर्तिखोलाको भुङ्दलखोलामा पनि पक्की पुलका लागि बजेट विनियोजन भएको छ । यसका लागि संघीय सरकारले ८० लाख विनियोजन गरेको सांसद खतिवडाले बताउ । 

गणेशमान मार्ग चित्लाङ–थानकोट सडकका लागि १५ करोड विनियोजन भएको छ । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा तेब्बर बजेट हो । अघिल्लो वर्ष उक्त सडकका लागि ५ करोड मात्र विनियोजन गरिएको थियो । चित्लाङ–थानकोट सुरुङमार्ग आर्थिक वर्ष २०७७/०७८ का लागि संचालन हुने योजनामा समावेश गरिएको छ । चालु आर्थिक वर्षबाट यसको सर्वे शुरु भैसकेको खतिवडाले बताए । स्वीस सरकारले सर्वे गरिरहेको उनको भनाइ । सर्वे सकेपछि यसको लागत आउने र निर्माण थालिने उनको भनाइ छ । चित्लाङबाट हेटौंडा–काठमाण्डौं जाने सडकका लागि  ४० लाख विनियोजन गरिएको छ । 

थाहानगरका लागि ‘एक शहर, एक पहिचान’ कार्यक्रमका लागि ५० लाख विनियोजन भएको छ । थाहा पर्यटन सूचना पार्कका लागि ५० लाख विनियोजन भएको छ । थाहा नगरपालिकामा १५ शैथ्याको अस्पताल स्वीकृत भएको सांसद खतिवडाले बताए । फाँटबजार मत्स्यनारायण नदी नियन्त्रणका लागि १५ लाख रुपियाँ विनियोजन भएको छ । मुलुकको १ सय पर्यटकीय गन्तव्य मध्येको एक गन्तव्य दामनको विकास तथा प्रवद्र्धन सम्बन्धी कार्यक्रमले पुनः निरन्तरता पाएको छ । यसका लागि आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख विनियोजन भएको थियो ।

त्रिभुवन राजमार्गकाको मर्मत तथा पिचका लागि कुल १४ करोड ८० लाख रुपियाँ विनियोजन भएको सांसद खतिवडाले जानकारी दिए । थाहा सोलाभन्ज्याङ खानेपानी, पालुङ खानेपानी लगायतका अन्य साना खानेपानी आयोजनाहरु समेत राष्ट्रिय योजनामा समावेश भएको खतिवडाले बताए । 

प्रधानमन्त्री कृषि आधुनीकीकरण लगायत कृषि पशु, तथा फलफुल विकास प्रवद्र्धन कार्यक्रमका लागि ९१ लाख रुपियाँ संघीय सरकारबाट विनियोजन भएको छ । त्यस्तै थाहा नगरपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर तथा भिमफेदीको माथिल्लो भेगका गरी १५ करोडको विद्युतीकरण कार्यक्रम चालु आर्थिक वर्षमा संचालन भैरहेको बताए । मार्खु स्थित सवस्टेशनका लागि आफ्नो तर्फबाट पहल भैरहेको उनको भनाइ छ ।

कुन्छाल कुलेखानी सडको स्तरोन्तीका लागि चालु आर्थिक वर्षमा १५ करोडको टेण्डर भैसकेको र आगामि आर्थिक वर्षमा उक्त सडक स्तरोन्नतीको लागि बजेटमा समावेश गरिएको सांसद खतिवडाले बताए । यि बाहेक थाहा नगरपालिकाका थुप्रै योजनाहरु राष्ट्रिय कार्यक्रममा समावेश भएको खतिवडाले जानकारी दिए । कार्यक्रममा समावेश भएका तर बजेट एकिन नभैसकेका ति थुप्रै कार्यक्रमका लागि बजेट व्यवस्था गर्नका लागि संघीय सरकारसंग निरन्तर पहलमा रहने सांसद खतिवडाले ।प्रतिवद्धता व्यक्त गरेका छन् । 

संघीय सरकारले विनियोजन गरेको बजेटमा थाहा नगरपालिका क्षेत्रका लागि नागरिकमैत्री योजना समावेश गरेकोमा नगर प्रमुख लवशेर विष्टले धन्यवाद दिएका छन् । उनले संघीय सरकारले विनियोजन गरेको बजेटबाट संचालन गर्ने योजनाहरुलाई व्यवस्थित र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सबै विधि अपनाउने उल्लेख गरे । थाहानगरका विभिन्न योजना समावेश र बजेट विनियोजनमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिनीधिसभा सांसद विरोध खतिवडा, राष्ट्रिय योजना आयोग, विषयगत मन्त्रालयलगायत सम्पूर्ण सरोकारवालाहरु प्रति प्रमुख विष्टले आभार व्यक्त गरे ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०