nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस कारण, पालुङ क्याम्पसमा आकर्षण बढ्दै !

Clz-1613442866.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा थप सेवा सुविधासहित अध्यापन थालिने भएको छ । शैक्षिक वर्ष २०७७/०७८ को स्नातक तह प्रथम वर्षको भर्ना खुलेसंगै क्याम्पसले यस्तो कार्यक्रम अघि सारेको हो । उत्तरी मकवानपुरकै एक मात्र क्याम्पसमा विद्यार्थीलाई आकर्षित गराउनको लागि क्याम्पसले प्रदान गर्ने सेवाहरुमा समेत नयाँ आकर्षण ल्याइएको क्याम्पस संचालक समितिका अध्यक्ष विष्णु विष्ट ‘आदर्श’ले प्रतिक्रिया दिए । 

क्याम्पसको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी रुपमा अघि बढाउने योजनासहित अघि बढिरहेको क्याम्पस प्रमुख रामहरी अधिकारीले बताए । पालुङ क्याम्पसको शैक्षिक गुणस्तरमा पहिलेबाटै कुनै कसर बाँकी नराखेको बताउँदै प्रमुख अधिकारीले अझ समयको मागसंगै थप प्रभावकारी बनाएर लैजाने उद्घोष गरे । क्याम्पसमा अनुभवी प्राध्यापकहरु रहेको बताउँदै शान्त वातावरणमा अध्यापन हुने भएकोले पनि क्याम्पसमा विद्यार्थीहरुको आकर्षण थप बढ्ने प्रतिक्रिया दिए । क्याम्पसले पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकहरु गरी ३ देखि ५ वटासम्म पुस्तक उपलब्ध गराउने गरी क्याम्पसले तयारी गरिरहेको अधिकारीले बताए । पालुङ क्याम्पसले वर्षमा कम्तिमा २ वटा आन्तरिक परीक्षा र विषय शिक्षकहरुले कक्षागत रुपमा इकाई परीक्षा संचालन गर्ने गरेको क्याम्पसले जनाएको छ । क्याम्पसमा अनुसन्धानमुलक अध्यापनका क्रममा श्रव्य दृश्य कक्षाहरु समेत संचालन गर्ने गरेको प्रमुख अधिकारीले बताए । क्याम्पसले अनुसन्धानमुलक विद्यार्थी भ्रमणका कार्यक्रमहरु समेत तय गरेको उनको भनाइ छ । विद्यार्थीलाई छात्रवृत्ति कोष तथा दातृ निकायबाट समेत छात्रवृत्तिको लागि पहल गरिरहेको अधिकारीले बताए । उनले भने–‘क्याम्पसको आन्तरिक श्रोतबाट पनि छात्रवृत्ति कसरी दिन सकिन्छ भनेर छलफल भैरहेको छ ।’ 

पालुङ बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले अन्यत्र जस्तो खँचाखच बसेर पढ्नु पर्ने बाध्यता छैन । यहाँँ आधारभूत रुपमा पूर्वाधार ठीक अवस्थामा रहेको प्राध्यापक राजन मिश्रले जानकारी दिए ।  तर पुर्वाधारलाई थप व्यवस्थित बनाउनको लागि क्याम्पस संचालक समितिले आवश्यक पहल गरिरहेको मिश्रको भनाइ छ । अन्यत्र भन्दा कम मासिक शुल्कमा पढ्न पाइने पालुङ क्याम्पसमा यस वर्ष पहिलो वर्षमा भर्ना हुनेको संख्या ६० पु¥याउने क्याम्पसले लक्ष लिएको छ । चालु शैक्षिक सत्रमा ५२ जना भर्ना भएका थिए । पालुङ क्याम्पसमा अध्ययन गर्नेहरु राजनीतिक नेता, पत्रकार, तथा विभिन्न वित्तिय संस्थाहरुको समेत प्रमुख भएर काम गरिरहेको बताउँदै प्रमुख अधिकारी गुणस्तरीयतामा कुनै शंकै नगरी निर्धक्क भएर भर्ना हुन आग्रह   गरेका छन् । स्थानीय संघसंस्थादेखि विदेशमा समेत पालुङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुले स्थान पाएको अधिकारीको भनाइ छ । यसवर्षबाटै  बज्रवाराही क्षेत्रबाट विद्यार्थीलाई क्याम्पस आउनको लागि बसको समेत व्यवस्था गरिने प्रमुख अधिकारीले बताए । भौगोलिक रुपमा टाढा रहेका विद्यार्थीहरुलाई क्याम्पससम्म ल्याउनको लागि बस व्यवस्थापन गर्न जनकल्याण मावि तथा थाहा नगरपालिकासंग प्रक्रिया अघि बढायएको अधिकारीले बताए । 

आर्थिक रुपले पालुङ क्याम्पस कमजोर भएपनि थाहा नगरपालिकाले अभिभावकत्व लिएकोे कारण क्याम्पस संचालनमा केही सहजकता भएको अध्यक्ष विष्णु विष्टले बताए । पालुङ क्याम्पसको लागि नगरपालिकाले वार्षिक रुपमै सहयोग गर्ने गरेको विष्टको भनाइ छ । वार्षिक ६५ देखि ७० लाख खर्च हुने   गरेको पालुङ क्याम्पसको आर्थिक स्रोत भनेको विद्यार्थी, थाहा नगरपालिका, अक्षयकोषको ब्याज विश्व विद्यालय अनुदान आयोग तथा विभिन्न दाता र सयोगीहरु हुन् । क्याम्पसको ६५ लाख रुपियाँ अक्षय कोष रहेको छ भने त्रिभुवन विश्वविद्यालयको अक्षयकोषमा पनि रकम राखिएको छ । त्यसबाट पनि ब्याज आउने प्रमुख अधिकारीले बताए । क्याम्पसले दीर्घकालिन योजना पनि बनाउँदै गरेको अध्यक्ष विष्टको भनाइ छ । क्याम्पसलाई आफै संचालन हुन सक्ने गरी आर्थिक स्रोतको दीर्घकालिन व्यवस्थापनका लागि योजना बनाएर काम अघि बढाइएको अध्यक्ष विष्टको भनाइ छ । ग्रामिण क्षेत्रमै स्थापना भएको क्याम्पसले यहाँका उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई महत्वपूर्ण योगदान पु¥याउँदै आएको विष्टको भनाइ छ । 

१३ जना प्राध्यापक रहेको पालुङ बहुमुखी क्याम्पसमा ३ जना बाहेक अरु सबै आंशिक प्राध्यापक रहेका छन् । क्याम्पसमा अरु ३ जना कर्मचारी समेत रहेका छन् । वि.सं. २०५३ सालमा मकवानपुर बहुमुखी क्इाम्पसको विस्तारित कार्यक्रमको रुपमा स्थापना भएको पालुङ बहुमुखी क्याम्पसलाई वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन संकाय संचालन गर्न सम्बन्धन प्राप्त भएको पालुङ क्याम्पस २०६५ सालसम्म घट्टेचौरमा संचालन हुँदै आएकोमा त्यसपछि थाहा–३ को खेल्पुडाँडामा रहेको आफ्नै भवनमा अहिले अध्यापन भैरहेको छ । क्याम्पसमा नियमित कक्षा, मजबुत व्यवस्थापनका कारण अहिले अभिभावकको चासो बढ्दै गएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)