Monday, 15th June, 2026
वि.स.

बागमती प्रदेशको बजेट कति ? उत्पादन कृषि प्राथमिकता

budget-1589208274.jpg

बागमती प्रदेश सरकारले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते बजेट ल्याउने गरी विभिन्न चरणमा छलफल भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । बजेट अधिवेशन जेठ पहिलो साता बोलाउने तयारी छ ।

प्रदेश सरकारले आगामी वर्ष करिब ५० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । आर्थिक मामिला मन्त्रालयका अनुसार चालू वर्षको भन्दा केही बढी बजेट आउनेछ । राजस्व परामर्श समितिले विभिन्न चरणमा छलफल गरिरहेको छ । मन्त्रालयहरूसँग योजना समेत माग भइसकेको छ । प्रदेश सरकार मातहतका ८ वटा सरकारी अस्पतालको सुधारको विषय उच्च प्राथमिकतामा पर्ने आर्थिक मामिलामन्त्री ढुंगेलले बताए । आयोगले प्रदेशका ६६ वटै निर्वाचन क्षेत्र र १ सय १९ वटै स्थानीय तहलाई लाभ हुने प्रकृतिको विशेष कार्यक्रम पनि बजेटमा पर्ने जनाएको छ ।

‘यो संकट टरेपछि वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्किने हाम्रो अनुमान छ,’ सदस्य बस्नेतले भने, ‘उत्पादनलाई जोड दिँदै कृषिको आधुनिकीकरणमा त्यो जनशक्ति परिचालन गर्न सकिन्छ ।’प्रदेश सरकारले चालू वर्ष ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बजेट ल्याए पनि खर्चको स्थिति सन्तोषजनक छैन । कोरोना महामारीका कारण बजेट खर्चमा पनि ठूलो प्रभाव परेको मन्त्रालयले जनाएको छ ।

यसपालि चालूतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार, पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ बजेट थियो । राजस्व आम्दानीमा गिरावट आएकाले आगामी बजेटको आकारमा त्यसको प्रभाव पर्न सक्ने अधिकारीहरूले जनाएका छन् । ‘चालू वर्षको बजेट पनि अपेक्षित रूपमा खर्च हुन सकेन,’ आयोग सदस्य बस्नेतले भने, ‘कोरोनाको संकटले बजेट खर्चमा समस्या देखिएको छ । आगामी आर्थिक वर्षमा यसको उचित सम्बोधन हुनुपर्छ ।’

मुख्यमन्त्री डोरमणि पौडेलले पनि सबै मन्त्रालयलाई विशेष कार्यक्रम ल्याउन आग्रह गरेका छन् । जनताले अनुभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले यो महामारीपछि अवस्था सामान्य बनाउने विषयलाई बजेटले सम्बोधन गर्नुपर्ने बताएका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०