ict-nepal-1625344508.gif
Monday, 2nd August, 2021
वि.स.
.-1624118193.jpg

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।  ३ साउन राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट  विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए ।  केपी ओली पक्षकै सांसदहरू प्रेम आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

केहीले ‘धोका’ दिए, केहीले ‘गुन’ लगाए

सर्वोच्च अदालतमा रिट दायर गर्ने बेलामा देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतले अन्तिममा आएर देउवालाई मतदान गरेनन् । भीम रावलले मतदान हुनुअघि नै सांसद पदबाटै राजीनामाको घोषणा गरे । माधव नेपाल र उनी पक्षका केही नेताले चाहिँ आफ्नो वचन अनुसार नै देउवाको पक्षमा मतदान गरे । 

प्रतिनिधि सभा विघटनविरुद्ध गठबन्धन बनाएर न्यायिक र राजनीति लडाइ गरेको एमालेको माधव समूहका केही सांसदले देउवाको पक्षमा मतदान गरेनन् । न त उनीहरूले विपक्षमा नै मतदान गरे । बरु उनीहरू देउवाले विश्वासको मत लिने बेलामा संसद् बैठक नै छोडेर बाहिरिएर देउवालाई ‘धोका’ दिएका थिए । 

एमालेको माधव समूहका केही नेताले धोका दिए पनि देउवालाई मतदान गर्ने अपेक्षा नै नगरिएका जसपा महन्थ ठाकुर पक्षका सांसदहरूले भने पक्षमा मतदान गरे ।

रेशम चौधरीको रिहाइ लगायतका मागहरू पूरा गर्ने देउवाले वचन दिएपछि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिएको हो ।

एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो । राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेको थियो भने नेमकिपाले विपक्षमा मतदान गरेको थियो ।    

अब विश्वासको मत पाएसँगै देउवा सरकारको सुनिश्चितता कायम भएको छ । कुल १७ महिना कार्यकाल रहेको यो सरकारको काँधमा कोभिडले तहस–नहस पारेको अर्थतन्त्रलाई लयमा फर्काउने, खोपको प्रबन्ध गर्ने र स्थानीय एवं तीनै तहका आम निर्वाचनहरू सम्पन्न गर्नुपर्ने अभिभारा छ । 

संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले सबैसँग सहकार्य गरेर यी समस्याहरू समाधान गरिने र राष्ट्रिय एकता कायम गरिने बताएका छन् । 



jhamka-1624645162.jpg
corona_ad-1626692113.gif






thah-COO-1587359073.png
balsram-1625416970.jpg