Friday, 4th September, 2026
वि.स.

हाम्राे मान्छेकाे आवाज कसले रेकर्ड गर्याे ? आाशासहित मूल श्राेत खेज्दै थाहाका परिवारजन

Untitled-design_20260903_-1788443826.png

रसुवा बाढीपछि सम्पर्कविहीन रहेका थाहा नगरपालिकाका १९ जनाका परिवारमा अझै आशा मरेको छैन। बिहीबार थाहा नगरपालिकाका वेपत्ता परिवारका केही सदस्य र इलाका प्रहरी कार्यालय पालुङबीच यस विषयमा भएकाे छलफलमा एउटा भिडियाेकाे चर्चा भयाे । उक्त भिडियाेकाे मुख्य श्राेत वा शुरुमा कसले अपलाेड गरेकाे भन्ने पत्ता लगाउन सके धेरै कुरा थाहा पाउन सकिने उनीहरुकाे भनाइ छ ।

भिडियोमा सुनिएका आवाज भुवन लामिछाने, सूर्य गोपाली र रेलबहादुर अधिकारीको रहेकाे परिवारहरुकाे दाबी छ । उनीहरुले भने- भिडियाेमा तीन आवाज छन् जुन पहिलाे भुवनकाे हाे, दाेस्राे सूर्यकाे र तेस्राे रेलबहादुरकाे ।

‘आवाज हाम्रै मान्छेको हाे ,’ परिवारजनको भनाइ छ, ‘ अझै केही आशा बाँकी छ।’

परिवारजनको एउटै चाहना छ—भिडियो सुरुमा कसले खिच्यो वा अपलोड गर्‍यो? कहाँबाट आयो? भिडियोमा सुनिएको आवाजकाे वास्तविकता के हो?

तर भिडियोको पहिलो स्रोतसम्म पुग्न भने अझै सकिएको छैन।

सामाजिक सञ्जालमा फैलिएको उक्त भिडियोको मूल स्रोतसम्म पुगेर त्यसमा रहेका व्यक्तिहरूको पहिचान र अवस्थाबारे यकिन गर्ने प्रयास अझै पर्याप्त रूपमा हुन सकेको छैन।

थाहा नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख अनिल लामिछानेका अनुसार भिडियोको स्रोत वा सिर्जनाकर्ता पत्ता लगाउने क्रममा एक व्यक्तिले अर्कै व्यक्तिको सम्पर्क नम्बर दिने र उसले फेरि अर्को व्यक्तिको नम्बर दिने अवस्था बनेको छ।

‘एउटाले अर्काको नम्बर दिने, अर्कोले अर्काको नम्बर दिने भयो,’ लामिछानेले भने, ‘अन्तिममा सम्पर्क नै हुन नसक्ने अवस्था भयो।’

परिवारको प्रश्न छ—‘एकपटक मूल स्रोतसम्म पुगिदिनुस्’

वेपत्ता परिवारका लागि त्यो भिडियो सामान्य सामाजिक सञ्जालको सामग्री होइन। त्यसमा सुनिएको केही सेकेन्डको आवाज पनि उनीहरूका लागि आफ्ना मान्छे जीवितै छन् कि भन्ने आशाको आधार बनेको छ।

त्यसैले परिवारजनले सम्बन्धित निकायसँग भिडियोको मूल स्रोत पत्ता लगाएर सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरेका छन्।

भिडियो वास्तवमै वेपत्ता व्यक्तिहरूसँग सम्बन्धित हो वा होइन भन्ने पुष्टि हुन बाँकी छ। तर पुष्टि नभएको भन्दै त्यसलाई बेवास्ता गर्नुभन्दा भिडियोको पहिलो स्रोत, खिचिएको स्थान, समय र त्यसमा रहेका व्यक्तिहरूको अवस्थाबारे गहिरो अनुसन्धान गर्नुपर्ने परिवारको माग छ।

रसुवा बाढीपछि आफ्ना आफन्तको अवस्थाबारे कुनै खबर नपाएका परिवारहरू दिनहुँ एउटै आशामा छन् ।

‘कतैबाट फोन आउला कि, कतैबाट खबर आउला कि… हाम्रा मान्छे फर्केर आउलान् कि।’  त्यही आशाको बीचमा सामाजिक सञ्जालमा देखिएको उक्त भिडियोले उनीहरूलाई फेरि प्रश्नसँगै आशा पनि दिएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif