Wednesday, 29th July, 2026
वि.स.

पटकासहित चार जना प्रहरी नियन्त्रणमा

pataka-1604732056.jpg

सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । 

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ । 

यसैबीच सुनसरी देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ । मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गरे । 

मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । महिलाको स्वास्थ्य परीक्षण शुक्रबार नै इनरुवा अस्पतालमा गरिएको छ भने मेहता माथि मुद्दा चलाइएको छ ।रासस 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif