Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–८ को निर्चाचन रोचक बन्दै, नेकपा एसका प्रभावशाली उमेदवार नै एमाले प्रवेश

dambar-jee-1651423364.jpg

थाहा नगरपालिका वडा नम्बर ८ को स्थानीय तह निर्वाचन रोचक बन्दै गएको छ । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा झिनो मतले वडा जितेको नेकपा माओवादी केन्द्रमा यसपटक निवर्तमान वडा अध्यक्ष टिकाराम रुम्बा नै बागी देखिएको बेला नेकपा एसका वडा अध्यक्ष उमेदवार डम्बर लामाले भने पार्टी नै परित्याग गरेका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रुम्बा र नेकपा एमालेबाट लामा वडा अध्यक्ष पदमा उठेका थिए जसमा लामा थोरै मतले पराजित भएका थिए । यसपटक रुम्बालाई वडा अध्यक्ष पदमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवारको रुपमा ‘धारा’ चिन्ह लिएर प्रचारप्रसारमा होमिइसकेका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट वडा नं. ८ को साझा उमेदवार बन्ने पहल गरेका लामाले अन्ततः गठबन्धनले नगरको कुनै वडा अध्यक्ष त के, वडा सदस्य पनि नदिएपछि निकै चित्त दुखाएका थिए । गठबन्धनमा कुनै स्थान नपाए पनि गठबन्धनलाई नै सघाउने नाउँमा नेकपा एसबाट वडा नं. १, २, ४, ५ र ७ नं. वडाबाट उमेदवर बनेका वडा अध्यक्ष सहित सदस्यहरुले आ–आफ्नो उमेदवारी फिर्ता लिए । तर, उमेदवारी फिर्ता नलिएका डम्बर लामाले भने १८ बैशाखमा साधारण सदस्यसमेत नरहनेगरी पार्टी नै परित्याग गरे । 

लामाले पार्टी परित्याग मात्र गरेनन्, १८ बैशाखमा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच नेकपा एमाले प्रवेश गरे । एमाले लामाको निकै पुरानो घर हो । पार्टी अध्यक्ष केपी ओलीले मकवानपुरका सात सय जनालाई एमाले प्रवेश गराउँदै गर्दा लामाको नाम पनि सूचीमा थियो ।

को हुन् डम्बर लामा ?
थाहा नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा डम्बर लामा २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फबाट आग्रा गाउँ विकास समितिको वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको ठीक २० वर्षपछि गणतन्त्र नेपालको पहिलो स्थानीय निर्वाचन हुँदा उनीलाई एमालेले पुनः वडा अध्यक्षको उमेदवार बनायो । उक्त चुनावमा उनी झिनो मतान्तरले पराजित हुन पुगे । त्यतिबेला काँग्रेस र राप्रपाले माओवादी केन्द्रलाई मत दिएकाले आफू पराजित हुन पुगेको लामा जिकिर गर्छन् ।

सानै उमेरमा एमालेमा आवद्ध लामा एक पटक आग्रा गाउँ कमिटीको उपाध्यक्ष र तीन पटक अध्यक्ष भए । एमालेको भातृ संगठन युवा संघ नेपालको जिल्ला कमिटी सदस्य रहेका लामा एमाले थाहा नगर कमिटी सचिवालय सदस्य समेत रहेका थिए । त्यसबीच उनी नेपाल यातायात स्वतन्त्र मजदुर संथठनका हेटौँडा उपमहानगरपालिका अध्यक्ष हुँदै बागमती प्रदेश कमिटीका निर्वाचित सदस्यसमेत रहेका थिए । पेट्रोलियम पदार्थ ढुवानी महासंघमा ट्याङ्कर क्षेत्रको इन्चार्जसमेत रहेका लामा पार्टीमा प्रभावशाली नेता मानिँदै आएका थिए ।

ग्रामीण विकास र राजनीतिशास्त्रमा आइए गरेका नेता लामा पछिल्लो समय नेकपा एसको जिल्ला सचिवालय सदस्य एवम् थाहानगर सहइन्चार्ज रहेका थिए । संघीयताको कार्यान्वयनको क्रममा आग्रालाई थाहा नगरपालिकामा समावेश गर्न उनको ठूलो भूमिका रहेका थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०