Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

थाहानगरमा कोरोना न्यूनिकरणका लागि निर्देशन समिति
कडाइका साथ लागू गर्न वडा वडामा समिति बन्ने

hhhh-1620054233.jpg

कोभिड—१९ न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न पालिकाहरुमा निषेधाज्ञा जारी गरेपछि सोको पूर्ण पालनाका लागि थाहानगरमा ‘कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति’ गठन गरिएको छ ।

नगर प्रमुख लवशेर विष्टको संयोजकत्वमा थाहानगरमा क्रियाशील राजनीतिक दल, प्रहरी, संघसंस्थासहितका प्रतिनिधि सम्मिलित १३ सदस्यीय समिति गठन गरेको हो । समितिमा उपप्रमुख खड्ग गोपाली उपसंयोजक, नेकपा एमालेका जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेस नगर सभापति योगेन्द्रमान श्रेष्ठ, जनता समाजवादी पार्टीका इन्द्रबहादुर श्रेष्ठ, विवेकशील साझा पार्टीका माधव कार्की, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमिल्सिना, नेपाल रेडक्रम सोसाइटीका हरिकृष्ण कार्की, थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरत गोपाली र पालुङ जेसीजका महासचिव संगम कार्की सदस्य छन् ।

समितिले नियमित रुपमा कोभिड—१९ को रोकथाम तथा न्यूनिकरणका लागि आवश्यक कार्यका लागि तत्काल निर्णय गर्नेछ । साथै, नियमित अनुगमनलाई प्राथमिकता दिइ कोभिड—१९ संक्रमित विरामीहरुको व्यवस्थापन समेतका लागि क्रियाशील हुनेछ । बैठकमा नगर प्रमुख विष्टले हालसम्म थाहा नगरमा कोभिड—१९ को अवस्था र सोको क्षेत्रमा भएगरिएका गतिविधिहरुको विवरण प्रस्तुत गरेका थिए ।

थाहानगरमा आइसोलेशनका लागि पचास प्रतिशत भत्ता सुविधासहित २ जना डाक्टर, स्टाफ नर्स, ल्याव असिस्टेन्टको व्यवस्था गरिसकेको छ । नगरमा अक्सिजनको कमी हुन नदिन नागरिकहरुसँग रहेका अक्सिजनका खाली सिलिण्डरहरु समेत माग गरेको छ । हालसम्म नागरिकबाट ३० वटा सिलिण्डर उपलब्ध भइसकेको नगरपालिकाले जनाएको छ ।

नगर स्वास्थ्य शाखाले होम आइसोलेशनमा बसेका विरामीहरुको अवस्थाका बारेमा नियमित निगरानी गरिरहेको समेत जनाएको छ । कोभिड—१९ का कारण राहत उपलब्ध गराउन पर्ने अवस्था आएमा एकद्वार प्रणालीमार्फत् वितरण गरिनेछ ।

समितिअन्तर्गत बजारमा दैनिक उपभोग्य बस्तुहरुको सहज विक्री वितरणका लागि स्टक विवरण तथा मूल्यसूचिको अनुगमन गर्नेछ । यसैगरी बिरामीहरुलाई अनलाइनमार्फत् विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी समेत भइरहेको जनाएको छ । जिप्रकाले जारी गरेको निषेधाज्ञा अनुसार विहान ५ बजेदेखि ९ बजेसम्म अति आवश्यक बस्तुहरुको विक्रीका लागि खाद्यान्न, तरकारी, माछामासु, दुधजन्य पसल खोल्न पाउने छ । अत्यावश्यक कार्य तथा राशन ढुवानीका लागि सवारीसाधन संचालन गर्नु परेमा सम्बन्धित वडा कार्यालयले प्रहरीसँग समन्वय गरी पास जारी गर्न सकिने निर्णय गरेको छ ।

यसैगरी, बैठकले खेतबारीमा भौतिक दूरी कायम गरी काम गर्न, अत्यावश्यक बस्तु खरिद गर्न बाहेक बिना काममा घर बाहिर ननिस्किन अनुरोध गरेको छ । साथै, घरभित्र बस्दा पनि सकेसम्म एकअर्कामा धेरै घुलमिल नहुने गरी दैनिकी चलाउन आग्रह गरेको छ ।

यसैगरी, निषेधाज्ञाको पूर्ण पालना गर्न र गराउन वडाध्यक्षको अध्यक्षतामा वडामा क्रियाशील राजनीतिक दलहरुका प्रतिनिधिहरु सहितको अनुगमन समिति समेत गठन गरिनेछ । सोमबारसम्म थाहा नगरमा कोरोना संक्रमितको संख्या ४५ नाघेको छ । सबै, संक्रमित ‘होम आइसोलेशन’मा रहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए .

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)