nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङका बस्नेत दाजुभाईको फस्टाउँदो-‘कालिज ब्राण्ड’

CV-Kalij-1598886265.jpg

अरुले जे गर्यो, आफू त्यही व्यवशाय गर्न अघि सर्ने अनि, देखावटी र लहलहैमा गरिने व्यवशाय विरुद्धको कदम हो थाहानगरको ‘कालिज पालन’ । थाहा नगरपालिका वडा नम्बर १० का दुई दाजुभाइले अरुको जस्तो देखावटी गर्दै गरेनन् । मकवानपुर थाहानगरका सुग्रिब बस्नेत र कपिल बस्नेतले स्थानीयहरुले पत्तै नपाएको व्यवशाय गरे । त्यो हो–‘कालिज फार्म’ अर्थात कालिज पालन व्यवशाय । वनको चरी वनमा मात्र हैन घरमा पनि रमाउँछे भन्ने उदाहरण उनीहरुले छताछुल्ल पारे । गोठालो र घाँस दाउरा गर्न जाँदा वनतिर भेटिने कालिज उनीहरुले फार्म नै दर्ता गरेर पालेका छन् । 

पहिले जंगली पंछी कालिजलाई मार्नको त कुरै छाडौ समात्न, थुन्न र पाल्न समेत पाइँदैन थियो । सरकारले वन ऐन संशोधन गरेपछि सर्वसाधारणलाई कालिज पाल्ने अधिकार आयो । कानूनी बन्देजहरु फुकुवा भए । यहि अधिकारलाई बस्नेत दाजुभाईले पसिना र पौरखमा बदले । उनीहरुको फार्ममा अहिले ५ सय कालिज हुर्किरहेका छन् । दाजुभाई गाउँकै प्रेरणाको स्रोत बनेका छन् । त्यसोतः उनीहरुको दैनिकी पनि फेरिएको छ । 

स्थानीय स्तरमै रोजगारी

विसिङ्खेलका सुग्रिव २४ वर्ष भए । उनल १२ कक्षासम्म पढेका छन् । उनका अर्का २२ वर्षिय पार्टनर कपिलले भने एसएली पास गरेका छन् । कहिँकतै जागिर खाँन उनीहरुलाई मन नभएको भने हाइन । तर आफ्नै केही उद्यम गरौ भन्ने सोचले यि दुवैजना एक भए । ‘चित्लाङ पशुपंछी तथा अर्गानिक कृषी फर्म’ नाम जुराएर दर्ता पनि गरे ।  

उनीहरु काठमाण्डौंको चाल्नाखेलमा कालिज हुर्केको हेर्न पुगे । उत्पादन लागतको हरहिसाब गरेपछि कालिज पाल्ने निधोमा पुगेको सुग्रिब बताउँछन् । निधोसंगै सीप सिक्न कपिल चाल्नाखेलमै प्रशिक्षार्थी भए । एक÷डेढ महिना कालिज पालन सम्बन्धी सीप सिकेपछि उनमा पनि झन आत्मबल दरिलो बन्यो । चाल्नाखेलमा कालिज पालन हेरेपछि चित्लाङमा सजिलै यो फार्म शुरु गर्न उनको ठम्याई रह्यो । वैदेशिक रोजगारका लागि दुबईमा फुड प्याकिङ काममा जान ठीक्क परेका सुग्रिबलाई गाउँघरमै केही गरौ भन्ने भावना जगायोे । नेपालमै पहिलो पटक शुरु भएको चाल्नाखेलको कालिज फार्मले उनीहरुलाई थप जाँगर जन्मायो, आफैले काम शुरु गरेपछि रोजगार पनि दिलायो । बस्नेत दाजुभाई अहिले स्वरोजगार भएका छन् । कसैको भनाइ नखाई दिनदिनै कमाइको बाटो फराकिलो बन्दै गएको छ । 

कोभिड–१९ को महामारीका बीच दुई दाजुभाईको निर्णयबाट अघि बढेको पाइला भरपर्दो आम्दानीको स्रोत भएको छ । महामारीकाबीच भौतारिँदा फुरेको अक्कलले उनीहरु चित्लाङका उदाहरणीय र प्रेरणाको मूल बनेका छन् । 
पाखो जग्गामा कमाई नदिेने भएपछि त्यसको सदुपयोग कालिज पालनबाट भएको कपिलको अनुभव छ । 

कम लगानी, राम्रो आम्दानी 

थाहा नगरपालिका वडा नम्बर १० को टोक्सान डाँडामा सेतो चौटिलो टाढैबाट देखिन्छ । देख्नेले सोधिहाल्छन् ऊ .. त्यो के होला ? हो, त्यही हो कालिज फार्म । फार्ममा टाँगिएको नेट टाढैबाट टलक्क टल्किन्छ । फार्मका लागि सबैभन्दा बढि त त्यसको तारबारका लागि लगानी परेको सुग्रिव बताउँछन् । १ हजार ८ सय रुपियाँ किलोका दरले कालिज फार्मका लागि आवश्यक पर्ने नेट किनेको उनी बताउँछन् । कम्पाउण्ड बार पनि तारकै लगाउनु पर्ने भएको हुँदा यसमा आउने मुख्य खर्च नै त्यही भएको सुग्रिबले सुनाए ।

फार्मका लागि करिब १५ लाख रुपियाँ उनीहरुले लगानी गरिसकेका छन् । ७ रोपनी जग्गामा कालिजको फार्म बनाएका उनीहरुले अहिले २ रोपनीमा मात्र नेट राखेका छन् । अरु बाँकी जग्गामा पनि फार्म विस्तार गर्ने योजना रहेको सुग्रिबले बताए । व्यवशायिक योजना निर्माण गरेरै फर्म शुरु गरेकोको बताउँदै सुग्रिब भन्छन्–‘पहिलो पटकलाई मात्र हो लगानी त्यसछि त ५ वर्षसम्म अरु संरचनाका खर्च आउँदै–आउँदैन चोखै आम्दानी हो ।’

आम्दानीसंगै लोकप्रियता पनि भएकोले यो व्यवशायमा सन्तुष्टि मिलेको उनीहरुको भनाइ छ ।

कालिज गोटाको ३५००, अण्डाको ७ सय

फार्ममा हुर्किएको कालिज अहिले गोटाको ३ हजार ५ सय रुपियाँमा भट्टाभट्ट बिक्रि भैरहेको छ । भाले कालिज रातो र पोथी खैरो हुने हुँदा भोपोथी छुट्यान सजिलो हुन्छ । किन्न जानेले छानी छानी कालिज आफै समाउन पाउँछन् । फार्मका कालिज निकै बाठा भएकाले कहिले काँही छानेकै समाउन मुस्किल पर्छ । कालिजका पारखीले लखेटी–लखेटी रोजाईको कालिजलाई आफ्नो पन्जामा पार्छन् । 

कालिज समाउँदा रमाईलो पनि मान्ने हुँदा आन्तरिक पर्यटकहरु कालिज अर्डर गर्न भन्दा पनि फार्म लिनै पुग्छन् । खेदीखेदी समाउँछन्, पैसा तिर्छन र लैजान्छन् । 

कालिजले जहिले पायो उहिले अण्डा पर्दैन । यसले फागुन, चैत्र र वैशाखमा मात्र अण्डा पर्ने गर्दछ ।  कालिजको अण्डाको माग अत्याधिक माग भएको कपिलले बताए । अण्डा प्रतिगोटा ७ सय रुपियाँमा बेच्न धानी नसक्नुको माग भएको उनले सुनाए । अण्डा खानको लागि भन्दा पनि चल्ला उत्पादनको लागि माग हुने गरेको उनीहरुको भनाइ छ । 

बिर्सी नसक्नुको स्वादिलो ‘कालिज’

हावापानी र तापक्रम मिलोको ठाउँको कालिज उल्कै स्वादिलो हुन्छ । मासुका लागि भन्दा पनि यसको झोल अर्थात सुप खाने पारखीहरु दिनदिनै बढ्दै गएका छन् । 

सुत्केरीहरुका लागि गाउँमै कालिज किन्न आउनेहरु पनि उत्तिकै छन् । त्यसोतः अन्य कुखुरा वा खसीको भन्दा फरक ‘टेष्ट’मा हुने भएको हुँदा एकपल्ट कालिजको मासु चाखेकाहरुलाई स्वादले पल्काई हाल्छ । घराना परिवारहरु कालिज झन पारखी हुन्छन् । यसले गर्दा पनि माग बढेको–बढ्यै छ । 

हुर्काउन र बेच्न झन सजिलो

कालिजलाई चल्ला उमेरमा अलि बढि स्याहार गरे पनि ठुलो भएपछि सामान्य हेरचाहले नै उत्पादन दिन थाल्छ । चल्ला निकै सानोमा खरिद गर्नुपर्ने भएकोले हुर्काउन अलि समस्या हुने कपिल बताउँछन् । 

३२ डिग्री भन्दा कम तापक्रममा सजिलै हुर्किने भएपछि कालिज छ महिनापछि मासुका लागि बेच्न योग्य हुन्छ । तर चित्लाङमा सरदर ५ महिना भएदेखि नै उत्पादन दिन थालिसकेको छ ।  अहिले फार्मका कालिज सरदर डेढ किलोका छन् । 

कालिजलाई प्रोटिनको मात्र बढि भएको दाना दिनुपर्ने उनीहरुको अनुभव छ । स्थानीय, प्रदेश तथा संघीय सरकारबाट कुनै पनि अनुदान विना नै कम्मर कसेर लागेका बस्नेत दाजुभाई उदाहरणीय किसान मात्र होइनन् मिहिनती युवा हुन् । कालिज विक्री वितरणका लागि मुलक भित्र मात्र बजार भएको बताउँदै कालिजलाई विदेश निर्यात गर्ने कानूनी बाटो पनि खुलाए थप फाइदा हुने सुग्रिब बताउँछन् । 

पर्यटकको रोजाई होमस्टे, होमस्टेको रोजाइमा कालिज

चित्लाङ मुलुककै प्रसिद्ध पर्यटकीय गाउँ हो । यहाँ करिब एक दशक अघिबाटै व्यवशायिक रुपमा होमस्टेहरु संचालनमा छन् । यहाँ अहिले दर्जनौ होमस्टेहरु छन् । 

होमस्टे गाउँमा एउटा मात्र कालिज फार्म छ । होमस्टे संचालकले आफ्ना पाहुनालाई कालिज खाने रहर भए हामी खुवाउँछौं भनेर प्रस्ताव राख्छन् । अतिथीहरुका लागि यो नयाँ स्किम हो । नयाँ स्वाद चाख्न पाउने भएपछि पाहुनाहरु मख्खै । अहिले चित्लाङ होमस्टे पर्यटकका रोजाई बनेका छन् भने, होमस्टेहरुको रोजाई कालिज बन्दै गएको छ । चित्लाङ अहिले होमस्टेको साथै ‘कालिजको ब्राण्ड’ थपिएको छ ।  

-फोटोहरुः गणेश विष्ट/थाहा टाइम्स



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)