Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गृहमन्त्री थापाले भने, अब बीचमा बस्ने समय सकियो, के आउला निर्णय ?

Rambahadur-thapa-1608559644.jpg

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टीमा जारी विवादमा अब बीचमा बस्ने समय नरहेको बताएका छन्। ६ पुसमा आफूनिकट नेताहरुसँग मन्त्रीनिवास पुल्चोकमा भएको छलफलमा गृहमन्त्री थापाले साे धारणा राखेका हुन्।

सरकारमा रहेका कारण पार्टी विवादमा प्रधानमन्त्रीको पक्षमा देखिँदै आएका थापाले संसद विघटनपछि भने कुनै धारणा सार्वजनिक गरेका थिएनन्। उनी प्रधानमन्त्री ओलीकै पक्षमा जाने चर्चा चलिरहेका बेला सोमबार आफ्नै निवासमा भएकाे भेलाका कारण दबाबमा परेका छन्। भेलामा सहभागी सबैजसो नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई समर्थन गर्न नसकिने र उनलाई पनि समर्थन नगर्न आग्रह गरेपछि थापा थप दबाबमा परेका हुन्।

भेलामा सहभागी थापानिकट केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफूहरुले संसद विघटनको कदमलाई समर्थन नगर्न आग्रह गरेको बताए। उनले भेलामा उपस्थित सदस्यहरुले गृहमन्त्रीबाट तत्काल राजीनामा दिन समेत सुझाब दिएको बताए। ‘संसद विघटनको कदम पश्चगामी छ, त्यसलाई समर्थन गर्न सकिँदैन’, नेपालखबरसँग नेता न्यौपानेले भने, ‘त्यसभन्दा अगाडि बढेर निर्णय गर्नुहोस्, छिट्टै आफ्नो धारणा सार्वजनिक गर्नुहोस् भन्ने सुझाब दियौँ।’  भेलामा सहभागी अधिकांश नेताहरुले थापालाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाब दिएको उनले बताए।

‘हामीले प्रचण्डसँगै छलफल गरेर अगाडि बढ्नुहोस्, यसका लागि तत्काल छलफल थाल्नुहोस् भन्ने सुझाब दियौँ’, उनले भने। न्याैपानेका अनुसा भेलामा सहभागीहरुको सुझाबपछि गृहमन्त्री थापाले पार्टी विवादमा बीचमा बस्ने ठाउँ नरहेकाले छिट्टै कित्ता क्लियर गर्ने तयारीमा आफू रहेको बताएका थिए। ‘अब बीचमा बस्ने ठाउँ सकियो, तपाईंहरुको सुझाब अनुसार नै म निर्णय गर्छु, छिट्टै कित्ता क्लियर हुन्छ’, गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै नेता न्यौपानेले भने, ‘तपाईहरुको सुझाबभन्दा बाहिर जाँदिनँ।’

थापाको भनाइपछि नेताहरुले आज संसदसँग छलफल र भोलि केन्द्रीय समिति बैठक भएका कारण त्यसअघि नै आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए। ‘सांसदहरुको भेला आज छ, भोलि केन्द्रीय समिति बैठक छ त्यसअघि नै आफ्नो धारणा सार्वजनिक गर्न भनेका छौँ, उहाँ सकारात्मक हुनुहुन्छ’, न्यौपानेले भने। उनले सम्भवतः आजै वा भोलिसम्ममा थापाले आफ्नो धारणा सार्वजनिक गर्ने बताए।

उक्त छलफलमा पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकास सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल लगायत रहेका थिए।