nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

किसानका तितौरादेखि मुलाको चानासम्म किनिदिने गाउँपालिका

भदौ २६ गते गुल्मीको धुर्कोट गाउँपालिकाले आफ्नो फेसबुकमा एउटा सूचना सार्वजनिक गर्‍यो । सूचनामा किसान र कृषि समूहहरुले गाउँपालिकालाई बेच्न सक्ने उत्पादन र तिनका मूल्य विवरण थियो ।

धुर्कोट भित्रका किसानले उत्पादन गरेको तितौरा, मुलाको सिन्की र सुकेको चानो, बेसारको चानो, कोदो, मकै र भटमास उचित मुल्यमा किनिदिने योजना गाउँपालिकाले बनाएको छ । नेपालभर किसानहरुले उत्पादनको मुल्य नपाउने, खेतबारीमै कुहिने गुनासालाई स्थानीय सरकारले सम्वोधन गरेको यो सम्भवतः पहिलो पटक हो ।

धुर्कोट गाउँपालिकाले किसानको लागतको आधारमा आठ प्रकारका कृषि उपजको मूल्य तोकेको छ । यो सूची क्रमशः लम्बिँदै जाने अध्यक्ष भुपाल पोख्रेल बताउँछन् ।

गाउँपालिकाको कृषि विकास शाखाले तोकेअनुसार अब किसानहरुले तितौरा प्रतिकिलो ३८० रुपैयाँ, सिन्की ४००, मुलाको सुकाएको चाना ६० रुपैयाँ, सुकाएको बेसारको चाना २८५ र कोदो प्रतिकिलो ३७ रुपैयाँ पाउनेछन् ।

त्यस्तै, ग्रेडिङ गरेको मकै ४० रुपैयाँ किलो, भटमासको कोसा १५०, सुकेको भटमास ७० र खैरो गहतको प्रतिकिलो मूल्य ९० रुपैयाँ तोकिएको छ ।

बजारीकरणको ग्यारेन्टी

बजारीकरणको ग्यारेन्टी गरेर कृषि उपज बिक्री हुने/नहुने वा मुल्य बिचौलियमा भरपर्ने स्थिती हटाउन गाउँपालिकाले यो कदम चालेको अध्यक्ष पोख्रेलले बताए ।

‘किसानबाट लिएको कृषि उपज गाउँपालिकाले थोकमा बेच्छ’, उनी भन्छन्, ‘त्यसका लागि ग्रामीण कृषि उद्यमशिलता, बुटवलसँग सम्झौता भएको छ ।’

धुर्कोट गाउँपालिकाले बाँझो बनेका जमिनमा खेती गरेर स्वरोजगार बन्नेहरुलाई अनुदान दिने कार्याक्रम यसअघि नै ल्याएको अध्यक्ष पोख्रेलले बताए । उनका अनुसार गाउँपालिकाकाभित्रको बाँझो जोतेर फलफूल खेती गरे प्रतिरोपनी रु.३ हजार, तरकारी तथा मसला बाली लगाए रु.४ हजार अनुदान दिने कार्याक्रम सञ्चालनमा छ ।

अधियामा खेती गर्नेलाई पनि प्रतिरोपनि रु.५ हजार दिने व्यवस्था गरेको र अनुदान कार्यक्रमले राम्रो नतिजादेखाउन थालेको पोख्रेलले बताए ।