Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेस थाहानगरको अधिवेशन भोलि, सभापतिमा जोशीले उमेदवारी दिँदै

pramod-joshi-1632460637.jpg

नेपाली काँग्रेस थाहानगरको नगर अधिवेशन भोली ९ असोजमा हुने भएको छ । यसअघि २७ भदौमा तोकिएको अधिवेशनको मिति सरेर ९ असोजमा हुन लागेको हो । भोलि पालुङ जेसीजको सभा हलमा हुन लागेको नगर अधिवेशनको सबै तयारी पूरा भएको काँग्रेस श्रोतले जानकारी दिएको छ । अधिवेशनमा आतिथ्यता गर्न र निर्वाचन कार्यक्रम सम्पन्न गराउन काँग्रेसका नेताहरु आजै थाहानगर आउँदैछन् । अधिवेशनमा थाहा नगरका १२ जना वडा सभापतिहरुसहित क्षेत्रीय प्रतिनिधिहरुले भाग लिनेछन् । 

यसैबीच, नेपाली काँग्रेसमा तीन दशकदेखि सक्रिय प्रमोदकृष्ण जोशीले नगर सभापति पदमा उमेदवारी दिने भएका छन् । थाहा टाइम्ससँग कुरा गर्दै जोशीले ९ असोजमा हुन लागेको काँग्रेसको नगर अधिवेशनमा आफ्नो सभापति पदमा उमेदवारी रहने र त्यसको लागि आवश्यक तयारी गरिसकेको जानकारी दिए । उनले थाहा नगरका काँग्रेस कार्यकर्ताहरुको आग्रह र आफ्नो इच्छा अनुसार उमेदवारी दिन लागिएको बताए । 

‘म आफै पनि कृषि क्षेत्रलाई बुझेको व्यक्ति हुँ, कृषिकर्ममा लागेको व्यक्ति पनि हुँ, त्यसैले आधुनिक कृषि व्यवसायको लागि राजनीतिक नेतृत्व प्रदान गर्दै पार्टी पनि बलियो बनाउने र विकास पनि बलियो बनाउने लक्ष्य लिएर उमेदवारी दिन लागेको हुँ’

यसअघिको नगर अधिवशेनमा सभापति पदमा उमेदवारी दिएर चार मतले पराजित हुन पुगेका जोशी यसपटक भने स्पष्ट मतका साथ विजयी हुनेमा ढुक्क देखिएका छन् । ‘यसअघि पनि मलाई काँग्रेसको ठूलो सङ्ख्याले मत दिएका हुन्, उनीहरुको मतलाई शक्ति मानेर मैले काँग्रेसमा अझै क्रियाशीलता देखाएँ, अन्य सामाजिक सम्बन्धहरु पनि बलिया हुँदै गए,’ थाहा टाइम्ससँग कुरा गर्दै जोशीले भने– ‘मैले फेरि सभापति पदमा उमेदवारी दिने कुराले थाहानगर काँग्रेसमा उत्साह पैदा भएको छ, मेरो जित सुनिश्चित छ ।’ 

काँग्रेसलाई तपाईंको नेतृत्व किन भन्ने प्रश्नमा जोशीले लामो समयदेखिको राजनीतिक क्रियाशीलता, अन्य शक्तिहरुसँगको सहकार्य र कृषि–पर्यटनको विकासबाट समृद्धिको लागि आफूले पार्टीको नेतृत्व गर्न चाहेको बताए । ‘म आफै पनि कृषि क्षेत्रलाई बुझेको व्यक्ति हुँ, कृषिकर्ममा लागेको व्यक्ति पनि हुँ, त्यसैले आधुनिक कृषि व्यवसायको लागि राजनीतिक नेतृत्व प्रदान गर्दै पार्टी पनि बलियो बनाउने र विकास पनि बलियो बनाउने लक्ष्य लिएर उमेदवारी दिन लागेको हुँ’ उनले भने । काँग्रेसलाई नगरकै पहिलो पार्टी बनाउने र आगामी निर्वाचनमार्फत् विकासको नेतृत्व लिने गरी काम गरिने उनको भनाइ रहेको छ । 

२०४६ सालदेखि काँग्रेसको सिद्धान्तप्रति आकर्षित हुँदै विद्यार्थी राजनीतिमा लागेका जोशी २०५२ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय सभापति भएका थिए । २०५४ सालको गाउँ अधिवेशनबाट उनी बज्रवाराही गाविसको काँग्रेस इकाइ सभापति चुनिएका थिए । जोशी हाल जिपी कोइराला फाउण्डेशनका प्रदेश क्षेत्र संयोजक, नेपाल पानी सदुपयोग फाउण्डेशनको थाहानगर संयोजक, राष्ट्रिय उपभोक्ता मञ्चको थाहानगर सयोजक लगायत आधा दर्जन संघसंस्थामा क्रियाशील छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०