Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

इतिहाँस बोकेको पालुङको मयल बोट, सरोकारवालाई गिज्याउँदै 'जिङ्ग्रायो'

मयल । स्थानीय जातको रुख । काँडा हुने भएकोले यसलाई बाली लगाउने खेतबारीमा उम्रिएछ भने पनि जरै ओखेलेर फालिन्छ । मयल, वनतिर भने बाक्लै पाइन्छ । यसैको विरुवामा नास्पाती कलमी गरिने भएकोले मात्रै यसको महत्व बढेको हो । नत्र यसलाई उही पाखो बारीमा बार हाल्नका लागि मात्र प्रयोग गरिन्थ्यो होला । तर थाहा नगरपालिका पालुङको ठूलोबेसी फाँटको माझैमा दुईवटा बुढा भएका मयलको रुख छन् । वरिपरी खेतका गराहरु छन् । खेतका गराहरुमा अहिले आलु उम्रिएकोले हरियाली छ । ठिङ्ग उभिएका दुई मयलको बोट देख्ने वित्तिकै जस्लाई पनि जिज्ञासा लाग्न सक्छ–‘किन यी मयलका रुखहरु राखिएका होलान् ?’ 

मकवानपुर थाहानगरका ठूलोबेसी फाँटका दुई मयलका बोटहरु यसै नकाटिएका होइनन् । यि बोटहरुले इतिहाँस बोकेका छन् । मयलका बोटहरु गर्ल्याम्मै ढाले इतिहाँस मेटिन्छ । निकै पुराना यो मयलका रुख हुर्केर मात्र हैन हाँगाविँगा घुमुर्केर फेरी भुई नै छुन लागि सकेका छन् । पालुङका बुढापाकाहरु यसको इतिहाँस खर्ररर भन्छन् । यो रुख नेपालीहरुले पनि रोपेका हैनन् । १ हजार ७ सय वर्ष अघि यी दुई मयलको रुख रोपिएको चीनको इतिहाँस लेखिएको ‘ताङ’ नामको किताबमा उल्लेख छ । ‘चीनबाट लुम्बिनी जाने क्रममा चिनिया नागरिक हुयान साङले फर्किदा बाँटो नबिर्सियोस् भनेर मयलको बोट रोपिएको चिनिया किताब ताङमा लेखिएको छ’–पालुङका शम्भु राज नापितले भने । नापितका अनुसार–‘हुयान साङ चिनिया विद्वान पनि हुन् ।’ पालुङको मयल रुखको इतिहाँस ताङ किताबमा उल्ल्ेख छ । यो किताबलाई नेपालीहरुले महा भिनिसकरण भनिने नापितले सुनाउँछन् । यो किताब काठमाण्डौ स्थित केशर महल पुस्तकालयमा रहेको छ । 

हुयान साङले रोका मयलको रुख ।काठमाण्डौबाट चित्लाङ चन्द्रागिरी हुँदै पालुङको यहि मयलबोट हुँदै चितवन निस्केर लुम्बिनी जाने यो ऐतिहाँसिक मुल बाटो हो । हुयान साङ पनि यहि बाटो लुम्बिनी गएको इतिहाँस रहेको पालुङका राजकुमार जंगली प्रधानले सुनाए । प्रधानले भने–‘त्यत्ती बेला पालुङ भनिने थिएन, यसको पुरानो नाम पाण्डवपुर ग्राम हो ।’ 

निकै पुरानो इतिहाँस बोकेको मयल बोट छेवैका सार्वजनिक जग्गा अहिले मासिसकेको छ । रुखको फेदैसम्म आलु रोपिएको छ । चौतारोको नामो निसाना छैन । नजिकैको राजकुलो साँघुरो भएको छ । पर्यटकीय नगरीको रुपमा रहेको थाहानगरको सम्पदा सूचीमा रहनु पर्ने मयल बोट जिङ्रिङ्ग भएको छ । चिनिया पर्यटकलाई समेत आकर्षित गर्ने मयल बोट अरु धेरै पर्यटकका लागि थप प्वाइन्ट हुने स्थानीय निरोज प्रधान बताउँछन् । यसको संरक्षण र प्रचार गर्न आवश्यक भएको स्थानीयहरु बताउँछन् । कम लगानीमा पनि सम्पदासहितको पर्यटकीय क्षेत्र बन्ने हुनाले थाहा नगरपालिकाले पनि सहयोग गर्न सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् । मयल बोट वरीपरीको जग्गाको नाप नक्सा गरेर पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयहरु बताउँछन् । 

https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।