Friday, 6th November, 2026
वि.स.

१२०० बढी कर्मचारी निकाल्दै ‘क्यान्भा’, प्रभावितलाई राहत स्वरूप म्याकबुकदेखि ६ महिनासम्म निरन्तर तलब

canva-down-techpana-news_-1793945621.jpg

अस्ट्रेलियाली ग्राफिक डिजाइन प्लेटफर्म ‘क्यान्भा’ले आफ्नो २२ प्रतिशत जनशक्ति कटौती तथा स्थानान्तरण गर्ने भएको छ । कम्पनीले बुधबार आन्तरिक पुनर्संरचनाको घोषणा गर्दै १२०० बढी कर्मचारी प्रभावित हुने निर्णय सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो निर्णयबाट कुल १ हजार २७१ जना कर्मचारी प्रभावित हुनेछन् जसमा क्यान्भाको निर्माणमा सुरुवाती चरणदेखि योगदान पुर्‍याएका पुराना कर्मचारी समेत समावेश छन् । जागिरबाट हटाइएका कर्मचारीलाई कम्पनीले राहत स्वरूप कम्तीमा ६ महिनाको तलब निरन्तर उपलब्ध गराउने भएको छ । यसका साथै उनीहरूले प्रयोग गर्दै आएको ‘म्याकबुक’ आफैँसँग राख्न पाउनेछन् भने थप १२ महिनासम्म स्वास्थ्य बीमाको सुविधा पनि पाउनेछन् । आफ्नै नयाँ ‘स्टार्टअप’ सुरु गर्न चाहनेका लागि कम्पनीले १० हजार अमेरिकी डलर सम्मको अनुदान दिने व्यवस्था समेत गरेको छ ।

क्यान्भाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेलानी पर्किन्सले कर्मचारीलाई इमेल पठाउँदै १३ वर्षको इतिहासमा यो कम्पनीको सबैभन्दा कठिन क्षण भएको बताएकी छन् । कम्पनीभित्रका अनावश्यक तह हटाउन र टिमलाई भौतिक रूपमै एकै ठाउँमा ल्याएर काम गराउन यस्तो अप्रिय निर्णय लिनुपरेको पर्किन्सको भनाइ छ । कतिपय कर्मचारीलाई भूमिका परिवर्तन गर्न वा केन्द्रीय कार्यालयमा स्थानान्तरण हुन आग्रह गरिएको र त्यसका लागि आवश्यक सहयोग गर्ने कम्पनीले जनाएको छ ।

अमेरिकी शेयर बजार ‘नास्डाक’मा सूचीकृत हुने तयारीमा रहेको क्यान्भाको यो निर्णयलाई विश्वव्यापी प्रविधि क्षेत्रमा चलिरहेको कर्मचारी कटौतीकै शृङ्खलाका रूपमा हेरिएको छ । पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको एआईका कारण सफ्टवेयर उद्योगमा चर्को प्रतिस्पर्धा चलिरहँदा यसअघि एटलासियनले १ हजार ६०० तथा ब्लक र वाइजटेक जस्ता कम्पनीले पनि ठूलो संख्यामा कर्मचारी कटौती गरिसकेका छन् । यद्यपि, अन्य कम्पनीको तुलनामा क्यान्भाले आफ्नो यो निर्णयमा एआईलाई प्रत्यक्ष कारणको रूपमा उल्लेख गरेको

छैन ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०