nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आठ महिने कोरोना कहरः थाहानगरमा उकालो लाग्दै संक्रमण

Till-Kattik-1605498765.jpg

मकवानपुर थाहा नगरपालिकामा कोरोना भाइरसको संक्रमितको संख्या ६० पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विविध विधि अपनाइरहेको थाहानगरमा संक्रमणको विवरण (डाटा) उकालो लागिरहेको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । शुरुका दुई महिना चैत्र र वैशाख महिनामा शुन्य संक्रमित रहेको थाहा नगरपालिकामा संक्रमणको पहिलो महिना जेठमा दुई जनामा संक्रमण पुष्टि भएको थियो । 

थाहा नगरपालिमा महिनै पिच्छे संक्रमितको संख्या बढ्दै गइरहेको थाहानगर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयका संयोजक विवेक विडारीले जानकारी दिए । थाहामा असार र साउन महिनामा पाँच/पाँच जना संक्रमित थपिएकोमा भाद्र महिनामा उक्त तथ्याङ्क दुई अंकमा प्रवेश गरेको थियो । अर्थात, भाद्र महिनामा मात्र दश जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै असोजमा १५ र कात्तिक मसान्तसम्मको अद्यावधिक तथ्याङ्क अनुसार २३ जनामा संक्रमण पुष्टि भैसकेको छ । 

तीन वडामा शुन्य संक्रमण 

थाहा नगरपालिकाको तीन वटा वडामा कोरोना भाइरस संक्रमण शुन्य रहेको छ । थाहा नगरपालिकाको वडा नम्बर ५, ८, र १२ का कुनै पनि    कोरोना संक्रमण नदेखिएको नगरपालिकाले जानाएको छ । पालिकाले दैनिक रुपमा सार्वजनिक गर्ने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयको रिपोर्ट अनुसार सबै भन्दा बढि वडा नम्बर ६ मा २२ जना संक्रमित छन् । 

स्रोत: थाहा नगरपालिका दैनिक प्रतिवेदन

दैनिक रिपोर्ट अनुसार वडा नम्बर १, १० र ११ मा १÷१ जना संक्रमित छन् भने वडा नम्बर २ मा ५ र ७ मा ४ जना संक्रमित रहेका छन् । वडा नम्बर ३ मा १० र ४ नम्बर वडामा १४ जनामा संक्रमण भएको थाहा नगरपालिकाले जनाएको  छ । 

यसैबीच संक्रमित भएका मध्ये अधिकांश पुरुष रहेका छन् । नगरभरी ६० जना संक्रमित भएकोमा ४० पुरुष र ११ जना मात्र महिला रहेका छन् । 

७ जना सक्रिय संक्रमित

थाहा नगरपालिकामा ७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु सबै होम आइसोलेशनमा रहेका छन् । कुल ६० संक्रमित मध्ये ५१ जना निको भैसकेका छन् । नगरपालिकाको अभिलेख अनुसार २ जनाको कोरोना संक्रमणका कारण मत्यू भैसकेको छ । 

यद्यपि थाहा नगरपालिकामा स्थायी घर भई अन्यत्र उपचारको क्रममा अरु २ जनाको पनि ज्यान गएको जनाइएको  छ । यो तथ्याङ्लाई पनि आधार मान्ने हो भने थाहानगरमा ४ जनाको कोरोना संक्रमणकै कारण ज्यान गैसकेको छ । 

स्वास्थ्यकर्मीलाई ‘डाइट’ खर्च, मृतकलाई १ लाख

थाहा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भई होम आइसोलेशनमा बसेमा दैनिक पाँचसय रुपियाँ ‘डाइट’ प्रोत्साहन रकम दिने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालय थाहानगरले यस्ता निर्णय गरेको हो । होम आइसोलेशन अवधि भने १४ दिनलाई मात्र मान्ने समेत सचिवालयको निर्णय छ । 

त्यस्तै कोरोना संक्रमणकै कारण नगरबासी कसैको मृत्यू भएमा पीडित परिवारलाई १ लाख रुपियाँ दिने  नगरपालिकाको निर्णय रहेको छ । थाहा नगरपालिकाको नगरसभाको निर्णय अनुसार उक्त आर्थिक सहायता प्रदान गरिने नगर प्रमुख लवशेर विष्टले   जानकारी दिए । आर्थिक सहायताका लागि पीडित परिवारले वडा कार्यालयको सिफारिस, संक्रमण सम्बन्धी अस्पतालको कागजात, मृत्यू दर्ता, कोभिड–१९ कै कारण मृत्यू भई संघीय सरकारको तथ्याङ्कमा समावेश भएको प्रमाण लगायतका कागजात चाहिने  नगरपालिकाले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।