nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अलविदा श्रद्धेय राजु नापित !

Raju-1623942289.jpg

नेकपा एमालेको मकवानपुर जिल्ला कमिटी सदस्य एवम् थाहा नगर इन्चार्ज राजु नापितको ३ असारमा निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारको क्रममा वीर अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार गराइरहेका उनको ३ असार मध्यान्ह अस्पतालमै निधन भएको हो । उनकाे वि.सं. २०१८ माघ १८ गते साविक पालुङ गाविस वडा नम्बर ६ (हाल थाहा-२) मा जन्म भएकाे थियो ।

१४ दिनअघि कोभिड–१९ बाट सङ्क्रमण पुष्टि भएपछि थाहा नगरपालिका–२ पालुङ सहरस्थित आफ्नै निवासमा होम आइसोलेशनमा रहेका उनलाई श्वास–प्रश्वासमा केही समस्या भएपछि थप उपचारको लागि २७ जेठमा वीर अस्पताल भर्ना गरिएकोे थियो । 

अस्पतालमा स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि केही दिनमै डिस्चार्ज गर्ने तयारीसमेत गरिएको थियो । तर, ३ असारमा विद्युत आपुर्ति बन्द हुँदा करिब १५ मिनेट नियमित अक्सिजन आपूर्ति रोकिएपछि उनलाई समस्या भएको थियो । त्यसपछि चिकित्सकले आइसियूमा सानुपर्ने सुझाव दिएको तर  आइसियूको व्यवस्था मिलाउन नपाई निधन भएको उनको परिवार श्रोतले बताएको छ । 

मकवानपुरको उत्तरी क्षेत्रको राजनीतिमा स्थापित नापित २०३८ सालपछि कम्प्युष्टि राजनीतिमा सक्रिय रहेका थिए । भूमिगत कालमा सुन्दर लामिछाने, काशीनाथ अधिकारी लगायत नेताहरुको नियमित सम्पर्कमा रहेका उनलाई २०४६ सालमा नेकपा एमालेको सङ्गठित सदस्य प्रदान गरिएको उनका समकक्षी घनश्याम अमात्य बताउँछन् । पुराना एमाले नेता बुद्धरत्न मानन्धरका अनुसार नापित २०३८ सालतिर सुन्दर लामिछाने र काशीनाथ अधिकारीको सम्पर्कमा थिए । 

बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछिको पहिलो स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट नापित पालुङ गाविसको अध्यक्षको उमेदवार बनेका थिए । जनकल्याण माविको शिक्षक–अभिभावक संघको अध्यक्ष, पालुङ बहुमुखी क्याम्पस महायज्ञको स्टेरिङ कमिटी सदस्य लगायत थुप्रै सामाजिक पदहरुमा भूमिका निर्वाह गरेका उनी पछिल्लो पटक पालुङ बहुमुखी क्याम्पसको वर्तमान सञ्चालक समितिमा समेत रहेका थिए । उनका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । 

यसैबीच नेकपा एमाले थाहा नगर कमिटीका सचिब कुमार नेगीले एक विज्ञप्ती जारी गरी उनको  निधनले  सिङ्गो नेकपा एमाले थाहा नगरपालिका स्तव्ध भएको बताएका छन् । एमाले नगर किमटीको तर्फबाट जारी शोक विज्ञप्तीमा एक असल र कुशल अभिभावक, इमानदार राजनीतिक व्यक्तित्व, निष्ठावान र जुझारु नेता गुमाउँदाको क्षण कहिल्यै बिर्सन नसकिने उल्लेख छ । नापितको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै विज्ञप्तीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । 

नेता नापित श्रद्धेय अगुवा, कुशल संगठक, जनताका प्यारा, लोकतान्त्रिक व्यवस्थाका पक्षपोषक एवम् समावेशी राज्य व्यवस्थाका प्रखर हिमायती भएको उल्लेख छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)