Monday, 15th June, 2026
वि.स.

‘दक्षिणपूर्वी एसियामा नेपाल भुटानपछि राम्रो स्थितिमा’

covide1-1588225766.jpg

 कोभिड–१९ संक्रमणको अवस्थामा नेपाल दक्षिणपूर्वी एसियामा भुटानपछि राम्रो स्थितिमा रहेको छ । यो स्थितिलाई सुधार गर्न नेपालले अझै सजगता अपनाउनुका साथै संक्रमणको निगरानी र परीक्षण वृद्धि गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

हालसम्म भुटानमा सात र नेपालमा ५७ जना कोभिड–१९ संक्रमित देखिएका छन् । दक्षिणपूर्वी एसियामा संक्रमणबाट कसैको मृत्यु नभएका मुलुकमा नेपाल, भुटान, माल्दिभ्स र पूर्वी टिमोर छन् । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले यस क्षेत्रमा नेपाल र भुटानमा मात्र ‘स्पोरेडिक केस’ देखिएको उल्लेख गरेको छ । स्पोरेडिक केसलाई डब्लूएचओले ‘आयातीत वा स्थानीय रूपमा पत्ता लागेको एक वा बढी केस’ का रूपमा परिभाषित गरेको छ ।

हाल विश्वभर ५९ मुलुकमा मात्र ‘स्पोरेडिक केस’ देखिएको छ । यो संक्रमणले मृत्यु भएका मुलुकको संख्या १ सय ७३ पुगिसकेको छ । विज्ञहरू नेपालमा संक्रमणको जोखिम अझै टरिनसकेको बताउँछन् ।

‘चीनपछि दक्षिणपूर्वी एसियामा पहिलो कोभिड–१९ संक्रमित देखिएको मुलुक नेपाल हो । अहिलेसम्म यहाँ धेरै केस नदेखिनु सकारात्मक छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘हामी संक्रमणको दोस्रो चरणमा छौं । हामीकहाँ अझै कुन व्यक्ति कोबाट संक्रमित भइरहेका छन् भनेर पहिचान हुन आवश्यक छ ।’

डा. अधिकारीका अनुसार एक करोडभन्दा बढी जनसंख्या भएका मुलुकमा कोभिड–१९ ले मृत्यु नभएको नेपाल मात्र हो । दक्षिणपूर्वी एसियामा कोभिड–१९ परीक्षणका लागि प्रति १० लाख जनसंख्यामा नेपालभन्दा बढी पीसीआर परीक्षण गर्ने माल्दिभ्स र भुटान मात्र हुन् ।

मुलुकमै सबैभन्दा बढी ३१ जना कोभिड–१९ संक्रमित रहेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट एवं जोन हपकिन्स विश्वविद्यालय अमेरिकाबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी डा. संगीता मिश्रले परीक्षण संख्या बढाएर सक्रिय ट्रेसिङ (खोज) गर्नुपर्नेमा जोड दिइन् ।

विदेशबाट आएका सबैलाई ‘होम क्वारेन्टाइन’ मा राखेर भए पनि स्थानीय सरकारले निगरानी गर्नुपर्ने डा. मिश्रले सुझाव दिइन् । ‘छुट्टै कोठा भएकाहरूका लागि एउटा थर्मामिटर दिएर घरमै क्वारेन्टाइनमा ३० दिनसम्म राख्नु हालका लागि उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘कोठा नभएकाहरूलाई भने नजिकै स्थानीय स्कुलमा राखेर निजले आफैंसँग ल्याएका ओढ्ने ओछ्याउने र घरबाटै आउने खाना खाने गरी बस्ने व्यवस्था मिलाउनुपर्छ ।’ यस्तै बाहिरबाट आउने सबैलाई एक महिनासम्म क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताइन् । डब्लूएचओले संक्रमण भएको १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भने पनि नेपालमा महिना दिन कटिसकेकाहरूमा संक्रमण देखिएको छ ।

बेलैमा लकडाउन गरिएकाले नेपाल हालसम्म समुदाय स्तरमा संक्रमण हुनबाट जोगिएको छ । तर लकडाउन खुकुलो पार्दा वा हटाउँदा आम व्यक्तिले सुरक्षाको उपाय नअपनाएर पहिले जस्तै व्यवहार गर्न खोज्दा मुलुक पुनस् संक्रमणको भुमरीमा फस्न सक्ने डा. मिश्रले बताइन् । ‘लकडाउन खुकुलो बनाउँदा वा खोल्नुभन्दा अघि परीक्षणलगायत क्षमता बढाउन र जनस्वास्थ्यको मापदण्ड सबै व्यक्तिले पालना गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ,’ उनले भनिन्, ‘अबको जोखिम लकडाउन खुकुलो गरे वा खोलेपछिको स्थिति हो ।’ उनले त्यसपछिको स्थिति आकलन गर्दै न्यूनीकरणका उपाय र तयारीसमेत सरकारले गर्दै जानुपर्नेमा जोड दिइन् ।

कोभिड–१९ विरुद्घको खोप पत्ता नलागेसम्म ‘विश्व कोरोना सँगै बाँच्ने’ औंल्याउँदै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहेनोम घेबरेयेससले आम जनजीवन सामान्य बाटोमा फर्कन लामो समय लाग्न सक्ने बताएका छन् ।

डा. मिश्रले लकडाउन खुले पनि एकदम नियन्त्रित भएर जानुपर्ने औंल्याइन् । ‘घरबाहिर रहँदा व्यक्तिगत दूरी कायम राख्नुपर्छ । मास्क प्रयोग गर्नुपर्छ । नियमित रूपमा साबुनपानीले हात धुने गर्नुपर्छ । नत्र लकडाउनपछि स्थिति घातक हुन सक्छ,’ उनले भनिन् ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०