Sunday, 13th September, 2026
वि.स.

सशस्त्र प्रहरीमा जागिर खाने हाे ? ६ सय बढीको लागि नयाँ भर्ना खुल्यो

712486129_870835982703599-1789308330.jpg

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचरका विभिन्न पदमा गरी ६६६ जनाका लागि नयाँ भर्ना खुलाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयअन्तर्गत मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले २६ भदौमा सूचना जारी गर्दै खुला प्रतियोगिताबाट पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

कुल मागमध्ये सशस्त्र प्रहरी जवानतर्फ ६०४ जना र सशस्त्र प्रहरी परिचरतर्फ विभिन्न ट्रेडमा ६२ जना रहेका छन्।

जवानतर्फ ६०४ जनाको माग

सशस्त्र प्रहरी जवान पदमा खुलातर्फ ३५६, अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततितर्फ १२, महिलातर्फ ५३, आदिवासीरजनजातितर्फ ५५, मधेसीतर्फ ७४, दलिततर्फ ४० र पिछडिएको क्षेत्रतर्फ १४ जनाको माग गरिएको छ।

परिचरतर्फ ६२ जना

सशस्त्र प्रहरी परिचरतर्फ भान्छे ३८, कुचिकार ८, सूचिकार ६, केशकर्तक ७, चर्मकर्मी २ र माली १ जनाको माग गरिएको छ।

३० भदौदेखि आवेदन

इच्छुक उम्मेदवारले ३० भदौदेखि २८ असोजसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

अनलाइनबाट आवेदन फाराम भर्ने उम्मेदवारले ३० असोजभित्र आफूले आवेदन दिँदा रोजेको कार्यालयमा स्वयं उपस्थित भई आवश्यक कागजात बुझाएर प्रवेशपत्र लिनुपर्नेछ। तोकिएको मितिभित्र सम्बन्धित कार्यालयमा उपस्थित नभए अनलाइन आवेदन स्वतः रद्द हुने सशस्त्र प्रहरीले जनाएको छ।

जवानका लागि न्यूनतम योग्यता

सशस्त्र प्रहरी जवान पदका लागि २६ भदौसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ। कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

पुरुषको उचाइ कम्तीमा ५ फिट २ इन्च, तौल ५० किलो र छाती नफुलाउँदा ३० तथा फुलाउँदा ३२ इन्च हुनुपर्नेछ। महिलाको उचाइ कम्तीमा ५ फिट र तौल ४२ किलो हुनुपर्नेछ।

त्यस्तै, तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको तथा सूचनामा उल्लेख गरिएका अन्य योग्यता पूरा गरेको हुनुपर्नेछ।

परिचरका लागि २५ वर्षसम्म उमेर

सशस्त्र प्रहरी परिचर पदका लागि २६ भदौसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ। सामान्य लेखपढ गर्न जान्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

परिचरतर्फ पुरुषको उचाइ कम्तीमा ५ फिट र तौल ५० किलो तथा महिलाको उचाइ कम्तीमा ४ फिट १० इन्च र तौल ४२ किलो हुनुपर्नेछ।

सशस्त्र प्रहरी सेवामा कार्यरत कर्मचारीले भने ३० वर्ष ननाघेको अवस्थामा विभागीय उम्मेदवारका रूपमा आवेदन दिन सक्नेछन्।

आवेदन दस्तुर

सशस्त्र प्रहरी जवान पदका लागि खुला समूहमा ३०० रुपैयाँ र प्रत्येक थप समावेशी समूहका लागि थप ६० रुपैयाँ दस्तुर लाग्नेछ।

परिचर पदका लागि खुला समूहमा २०० रुपैयाँ र प्रत्येक थप समावेशी समूहका लागि थप ४० रुपैयाँ दस्तुर तोकिएको छ।

छनोटका विभिन्न चरण

उम्मेदवार छनोटका क्रममा प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, लिखित परीक्षा वा प्रयोगात्मक परीक्षा, विशेष स्वास्थ्य परीक्षण र अन्तर्वार्तालगायतका चरण पूरा गर्नुपर्नेछ।

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ भने परिचर पदमा सम्बन्धित ट्रेडअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन हुनेछ।

प्रारम्भिक शारीरिक परीक्षणको मिति, समय र स्थानसम्बन्धी सूचना १३ असोजमा सशस्त्र प्रहरी बलको वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत प्रकाशन गरिने जनाइएको छ।

जवान पदका लागि काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोकसहित देशभरका तोकिएका बाहिनी, गण, गुल्म, तालिम शिक्षालय तथा अन्य कार्यालयबाट आवेदन संकलन गरिनेछ। परिचर पदका लागि भने प्रधान कार्यालय, हलचोकमा आवेदन बुझाउनुपर्नेछ।

भर्नासम्बन्धी पाठ्यक्रम, आवेदन प्रक्रिया, परीक्षा मिति तथा अन्य विवरण सशस्त्र प्रहरी बलको वेबसाइटमा हेर्न सकिनेछ। अनलाइन आवेदनमा समस्या आएमा ९८५१२७२८२४ तथा थप जानकारीका लागि टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न सकिनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif