Thursday, 1st October, 2026
वि.स.

मलेसियामा विदेशी श्रमिकले कम्पनी फेर्न पाउने, सरकारी स्वीकृति भने अनिवार्य

Untitled-design-(9)-1790751826.png

मलेसियामा कार्यरत आप्रवासी श्रमिकले निश्चित सर्तहरू पूरा गरेर रोजगारदाता (कम्पनी) परिवर्तन गर्न पाउने भएका छन् । मलेसियाको प्रायद्वीपीय श्रम विभागले रोजगारदाता परिवर्तनसम्बन्धी कार्यविधि, आवश्यक कागजातको सूची र आवेदन फारम सार्वजनिक गर्दै यस्तो व्यवस्था खुला गरेको हो ।

विभागका अनुसार यो नयाँ व्यवस्था २८ सेप्टेम्बर २०२६ देखि लागू भइसकेको छ। यद्यपि, श्रमिकले आफूखुसी वा सीधै पुरानो कम्पनी छाडेर नयाँ ठाउँमा काम गर्न पाउने छैनन् । त्यसका लागि सरकारी निकायबाट पूर्वस्वीकृति लिनु अनिवार्य गरिएको छ ।

कुन–कुन अवस्थामा कम्पनी फेर्न पाइन्छ ?
मूल रोजगारदाताले श्रमिकलाई निरन्तर रोजगारी दिन नसक्ने विशेष परिस्थिति सिर्जना भएमा मात्र कम्पनी परिवर्तनका लागि आवेदन दिन सकिने व्यवस्था छ :

  • कम्पनी बन्द भएमा वा दिवालिया घोषित भएमा
  • आर्थिक मन्दी वा कठिनाइका कारण कम्पनीले कामदारलाई काम दिन नसकेमा
  • कम्पनी पुनर्संरचना भएमा
  • कम्पनीको नाम वा सञ्चालक (निर्देशक) परिवर्तन भएमा

यस्ता समस्या देखिएका कम्पनीमा कार्यरत श्रमिकलाई कानुनी प्रक्रिया पूरा गरी नयाँ रोजगारदाताकहाँ स्थानान्तरण गरिनेछ ।

नयाँ कम्पनीले पनि तोकिएको मापदण्ड पुर्‍याउनुपर्ने
रोजगारदाता फेर्ने प्रक्रियामा कामदार मात्र नभई नयाँ रोजगारदाता  पनि योग्य हुनुपर्नेछ। नयाँ कम्पनीसँग विदेशी श्रमिक राख्ने कानुनी अनुमति तथा सम्बन्धित निकायको प्रारम्भिक स्वीकृति हुनु अनिवार्य छ ।

श्रम विभागले पुरानो र नयाँ दुवै रोजगारदाताको पृष्ठभूमि, कार्यस्थलको अवस्था, श्रम कानुनको परिपालना तथा कामदारको आवास सुविधा मापदण्डअनुसार भएरनभएको स्थलगत जाँच गरेर मात्रै अन्तिम अनुमति दिनेछ ।

नेपाली श्रमिकले विशेष ख्याल गर्नुपर्ने विषय
यो व्यवस्था मलेसियामा रहेका हजारौँ नेपाली श्रमिकका लागि राहतसँगै सचेत हुनुपर्ने विषय पनि हो ।

आफूखुसी कम्पनी नछाड्नुहोस्  : वैध राहदानी (पासपोर्ट) र भिसा (वर्क परमिट) छ भन्दैमा आफूखुसी पुरानो काम छाडेर अन्यत्र जान पाइने छैन ।

अवैध भइने जोखिम : सरकारी निकायको आधिकारिक पत्र र स्वीकृतिबिना नयाँ ठाउँमा काम सुरु गरेमा कानुनअनुसार ‘अवैध’ ठहर भई अध्यागमन र श्रमसम्बन्धी कानुनी कारबाहीमा पर्न सकिन्छ ।

बिचौलियाको भर नपर्नुहोस् : कुनै पनि दलाल वा एजेन्टको मौखिक आश्वासनमा नलागी श्रम विभाग वा सम्बन्धित सरकारी कार्यालयमार्फत मात्र आफ्नो योग्यता, कागजात र प्रक्रिया यकिन गर्न आग्रह गरिएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif