nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

‘तालिम धेरै भयो, अब काम गर्नुस्’

सरोकारवालाहरुले अब आधारभूत तहको तालिमबाट माथि उठेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । थाहा नगरमा महिलाहरुलाई लक्षित गरी सञ्चालित विभिन्न सीपमुलक तालिमहरुको समापन गर्दै सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् ।

थाहानगरमा आइतबार ३ महिना अघिदेखि सञ्चालित ३ वटा सीलाइ कटाइ तालिम, एउटा व्युटिपार्लर तालिम र १५ दिने सावुन बनाउने तालिमको समापन गरिएको हो । थाहा नगर उद्योग विाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलालले आधारभूत तालिम लिएका महिलाहरुले सीपलाई व्यवसायमा बदल्दै थप सीप र र ज्ञान हासिल गर्न तयार रहनुपर्ने बताए । अहिले तालिम लिएका ४६ जना महिलाहरुले व्यवसायिक टेलरिङको काम शुरु गरे थाहा नगरका लागि पर्याप्त हुने उनको धारणा थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपालीले सीप सिकेका महिलाहरुले उद्यम व्यवसाय गर्न चाहे नगरपालिकाले प्रविधिमा अनुदान दिने नीति लिएको बताए । उनले व्यवसाय विकासका लागि अझ माथिल्लो तहको तालिम लिन चाहेमा नगरपालिकाले सहयोग गर्ने बताए । तर, फेरि पनि एउटै विषयमा आधारभूत तहकै तालिम लिन आए सहयोग गर्न नसकिने उनले स्पष्ट पारे ।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहालले कार्यालयको तर्फबाट थाहानगरमा व्युटिपार्लर, सिलाइकटाइजस्ता विषयमा अब आधारभूत तहको तालिम सञ्चालन नगर्ने बताए । उद्यमशीलताको विकासमा जोड दिँदै उनले अगाडि भने, ‘तालिम धेरै भयो, अब काम गरौं, आत्म निर्भर बनौं ।’

नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत थाहानगरका १२ जना महिलाहरुलाई व्युटिपार्लर तालिम, २७ जना महिलाहरुलाई सिलाइ कटाइ तालिम र १२ जना महिलाहरुलाई सावुन बनाउने तालिम दिइएको छ । त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नियमित कार्यक्रम अन्तर्गत १९ जना महिलाहरुले सिलाइकटाइ तालिम लिएको थाहानगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति आरती श्रेष्ठले जानकारी दिइन् ।

दुईवटा सिलाई कटाई तालिम, व्युटिपार्लर तालिम र सावुन बनाउने तालिमको व्यवस्थापन महिला शसक्तिकरण तथा गरिबी निवारण समूहले गरेको थियो भने घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नियमति कार्यक्रम थाहा नगर उद्योग वाणिज्य संघले व्यवस्थापन गरेको थियो । सहभागीहरुलाई आरती श्रेष्ठ, रेणु गोपाली र सम्झना सिटौलाले तालिम दिएका थिए ।

समापनको अवसरमा सहभागीहरुलाई सिकाइ प्रमाणपत्रका साथै सिलाइ मेशिनसमेत प्रदान गरिएको थियो । कार्यक्रम थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रम थाहा नगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधानले सञ्चालन गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)