nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘टेन्ट’का प्रहरी पाँच वर्षपछि घर सरे !

पुस–माघको ठिही, वर्षात्मा त झन पानी चुहिएर रातभर सुत्न सकिन्न । हतियारजति सबै प्लास्टिकले बेरेर पानीबाट जोगाउनु पर्ने । ड्युटी पर्ने त खडा हुन्छन्–हुन्छन् नपर्ने पनि सँधै     खडै । विपद्बाट सँधै आफू असुरक्षित भएर काम भने सुरक्षाको गर्नुपर्ने बाध्यता । मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ४ सिमभञ्ज्याङस्थित प्रहरी चौकीका प्रहरीले यस्तो कष्टकर जीवन विताएको १३ वर्ष भयो । 

नागरिकका सुरक्षाका लागि खटिने उनीहरु जहिल्यै असुरक्षित । भएको सानो छाप्रो पनि वि.सं. २०७२ वैशाखको भूकम्पले ध्वस्त भएपछि उनीहरू टेन्टमुनि बस्दै आए । घाम–पानीले टेन्ट ठाउँठाउँमा च्यातिएर छिया छिया भयो । भात पकाउने टिनको भान्छाघर अस्तव्यस्त भए । यि सबै अवस्था देखेपछि थाहा नगर प्रमुख लवशेर विष्टले सोचे, यो त ‘साह्रै’ भयो । उनमा एका–एक एउटा भवन बनाइदिने योजना फुर्यो । 

नगरसभाबाट ठूला योजनाहरु छनोट भैसकेकोले भवन नै बनाउने आँट प्रमुख विष्टमा थिएन । तर, साँझेदारमा भवन बनाइदिने निधो गरे । यसका लागि बागमती प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयमा आग्रह गरे । मन्त्रालयले मर्मत संभारको लागि मात्र धेरथोर बजेट दिने आश्वासन दियो । चौकी मर्मत संभारकै लागि भएपनि आउने बजेट विष्टले स्वीकारे । तर सिमभन्ज्याङ चौकीका प्रहरी ‘टेन्ट’मा बसेकाले मर्मत संभार हुने कुरै थिएन । जसोतसो मन्त्रालयबाट ३ लाख रुपियाँ सहयोग भने प्राप्त भयो । तीन लाखले भवन बन्नेवाला थिएन । पालिकासंग भवन निर्माणसंग मिल्दोजुल्दो शीर्षकमा जम्मा ४ लाख रुपियाँ मात्र बजेट थियो । कम लगानीमा चार कोठे घर बनाउन कोही अघि सरेनन् । जम्मा ७ लाख रुपियाँमा शौचालयसहितको घर बनाउन पर्ने अवस्था आएपछि स्थानीय व्यवशायी दिपक हमाल भने पछि परेनन् । उनले आफ्नो सामाजिक उत्तरदायित्व समेत सम्झेर ७ लाखमा शौचालय सहितको ४ कोठे घर छाएर उभ्याइदिए । निर्माण कार्यमा उपभोक्ता समितिले हातेमालो गरे, स्थानीयहरुले सकेको भरथेग गरे । हमाल स्थानीय ब्लक व्यवशायी हुन् । थाहा–४ मा उनको इजी आइ ब्रिक्स व्यवशाय संचालनमा छ । ‘जो कोहीले यसरी सामाजिक काममा सहयोग गर्दैनन्, दिपक हमालले यो कार्यमा सहयोग गर्नु भो, धेरै–धरै धन्यवाद छ’–प्रमुख विष्टले भने । सम्झौताको छोटो अवधिमा निर्माण सम्पन्न भएको घर ९ फागुनमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरलाई नगर प्रमुख विष्टले हस्तान्तरण गरे । 

सिमभन्ज्याङ प्रहरी चौकीको भवन पहिलेको तुलनामा मजबुद भएको छ । प्रहरीहरु ‘टेन्ट’बाट घरमा सरेका छन् । नयाँ बनेको घरमा थाहा नगरपालिकाले विद्युत वाइरिङ पनि गरिदिएको छ । पालिकाले कोठाहरुमा सिलिङ ठोकिदिएको छ । स्थानीयहरुको सहयोगमा चौकी रंगरोगन र झ्याल ढोकामा पर्दा हालिएको छ । सुत्न समेत सकस व्यहोर्दै आएका दिनहरुपछि अब सजिलो भएको प्रहरी चौकीका हवल्दार सुमन ढकालले बताए । ‘चिसो न वर्षा असाध्यै कठीनसंग ड्युटी गर्नुपथ्र्यो, ड्युटी सकेसी पनि उस्तै कठिन बसाइ हुन्थ्यो  अब घर बनेर हामीले पायौं निकै सजिलो हुने भयो’–ढकालले भने । नगरका धेरै कुरामा सहकार्य गर्दै आएको थाहा नगरपालिकाले प्रहरीलाई सुरक्षा दिन बस्ने घर बनाइदिएकोमा इलाका प्रहरी कार्यालय प्रमुख विकास तामाङले नगरपालिकालाई धन्यवाद दिए । नागरिकलाई सुरक्षा प्रदान गर्नेहरू नै असुरक्षित रहनुपरेको बाध्यताबाट मुक्ति दिने अभियानमा सहयोग गरेकोमा पालिकाप्रति तामाङले आभार व्यक्त गरे । 

सिमभन्ज्याङमा प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा ६ जना सुरक्षाकर्मी रहेका छन् । प्रहरीका लागि यसरी भवन बनाएर हस्तान्तरण गर्ने स्थानीय तह थाहा नगरपालिकाप्रति मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरले खुशी व्यक्त गरे । सुरक्षा व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्दा शान्ति सुरक्षामा ठूलो मद्दत मिल्ने राठोरको भनाइ थियो । ‘शान्ति सुरक्षा कायमका लागि थाहा नगरपालिकाले नमुना काम गरेर आफूलाई उदाहरणीय तुल्याएको छ’, उनले भने–‘नगर प्रमुख ज्यूले हस्तान्तरण गर्नुभएकोे घरको सांकेतिक साँचो जिल्ला कार्यालयको आफ्नो कार्यकक्षमा प्रहदर्शनीमा राख्छु ।’

कार्यक्रममा थाहानगर उपप्रमुख खड्ग गोपालीले आफूले अनुगमन लगायतको बेलामा थप सुझाव दिएका कारण भवन मजबुद भएको उल्लेख गरे । प्रहरीको लागि भवनलाई आवश्यक पर्ने सहयोग र सहजीकरण हुने गोपालीले बताए । थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले सिमभन्ज्याङमा जस्तै टिष्टुङ रबज्रवाराहीमा पनि प्रहरी चौकीको काम गरिरहेको र त्यसको सुनुवाई आवश्यक भएको बताए । समूदायको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रधानले खराब काम गर्ने प्रहरीबाट भाग्ने  र राम्रो मनशाय हुनेका लागि प्रहरी सँधै आवश्यक भएको औल्याए । 

सामुदायिक सेवा केन्द्र पालुङका अध्यक्ष धर्म प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, कार्यक्रममा थाहा–४ का वडा अध्यक्ष दिपकसिं लामा, थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्ट ‘आदर्श’, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विकास तामाङ, थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री, भवन निर्माण समितिका अध्यक्ष जित बहादुर थोकर, बजार व्यवस्थापन समितिका पदाअधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । सिमभन्ज्याङ प्रहरी चौकी वि.सं. २०६४ सालमा स्थापना भएको हो ।
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।