Saturday, 20th June, 2026
वि.स.

४ कोठे घर बनाउन कति खर्च लाग्छ गिटी-बालुवामा ?

ghr-1610863543.jpg

निर्माण सिजनको मौका छोपी केही व्यापारीले गिटी-बालुवाको मूल्य बढाएको सुनिन थालेको छ। नेपाल क्रसर व्यवसायी उद्योग महासंघले भने गिटी-बालुवाको मूल्य बढेको हल्ला मात्रै भएको बताएको छ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार गिटी-बालुवाको मूल्य घटबढको निर्णय सरकारको हो। गत वर्ष फागुन-चैतको तुलनामा यतिबेला मूल्य सस्तिएको उनले बताए। 

सिजनका बेला भए पनि ठूला निर्माण क्षेत्र ठप्प छन्। साना तथा निजी निर्माणले मात्रै क्रसर उद्योग धानिन सक्दैन, महासचिव रेग्मीले भने, उद्योग चलाउनकै लागि व्यवसायीहरू प्रतिस्पर्धामा छन्। माग कम भएपछि मूल्य घटाएर भए पनि बजार टिकाइरहेका छन्।

काठमाडौंको कुरा गर्दा धादिङको माधवबेसी, बैरेनी, गजुरी, काभ्रेको मेलम्ची, भकुण्डेबेसीतिरबाट गिटी-बालुवा आयात हुन्छ। 

काभ्रेका तुलनामा धादिङको गिटी-बालुवा गुणस्तरीय हुने महासचिव रेग्मी बताउँछन्। उनका अनुसार धादिङको कालो गिटी पहिले प्रतिटिपर ३२ हजार रूपैयाँसम्म आपूर्ति हुनेमा अहिले २९ हजारमा निर्माण स्थलसम्म पुग्छ। 

त्यस्तै डबल वासु बालुवामा पनि पहिले प्रतिटिपर ३२ हजार नै पर्थ्यो। अहिले ४ हजार रूपैयाँ कम भएर २८ हजारमा निर्माण स्थलसम्म पुग्ने रेग्मीले जानकारी दिए। 

४ कोठे घरमा कति लाग्छ खर्च ?

गोल्डेन निर्माण एन्ड सप्लायर्सका प्रोपाइटर ऋषि खतिवडाका अनुसार एक तलाको चार कोठे घरका लागि १५ टिपर गिटी-बालुवा लागत अनुमान गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा यसको खर्च करिब ५ लाख रूपैयाँ पर्न जान्छ। 

चार आनामा बन्ने चार कोठे ढलान घर फिनिसिङ गर्न ५ लाख लागत छुट्याउनु पर्ने हुन्छ। ७ टिपर गिटी र ८ टिपर बालुवा भए सबै समेट्न सकिन्छ, जानकारी दिँदै खतिवडाले भने, ढलानका लागि राम्रो बालुवा चहिन्छ। डबल वास बालुवा राम्रो मानिन्छ। प्लास्टरका लागि सामान्य बालुवा भए पनि हुन्छ।

आफूले २८ हजार रूपैयाँमा धादिङ खाग्रा खोलाको कालो गिटी आपूर्ति गरिरहेको खतिवडाले जानकारी दिए। यो ढुवानीसहितको मूल्य हो। सामान्यतया कालो गिटी र बालुवाको मूल्य उस्तै–उस्तै पर्ने हुनाले २८ हजारमा नै ढुवानी गरिरहेको उनले जानकारी दिए।तुलनात्मक रूपमा सेतो गिटी ४–५ हजार रूपैयाँ सस्तोमा पाइन्छ। 

त्यस्तै छत ढलान नगरी बनाइने घरमा ३ लाख ५० हजार रूपैयाँ बराबरको गिटी-बालुवा अनुमान गर्नुपर्ने खतिवडाले बताए। उनका अनुसार धेरै मसला (गिटी-बालुवाको मिश्रण) ढलानमा खर्च हुनाले जस्ता पाता वा टायलका छाना राख्दा कम खर्चमा काम सकिन्छ। 

छतमा जस्ता वा टयाल प्रयोग गर्ने हो भने एक तिहाइ गिटी(बालुवा कम गर्नुपर्छ। बाँकी काम ढलान गर्ने र जस्ता लगाउने दुवै घरमा उसैगरी गर्नुपर्छ,खतिवडाले भने। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०