nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२०३० भित्र नेपालमा विनाशकारी भूकम्पको सम्भावनाः बीबीसी

नेपालमा सन् २०३० भित्र विनाशकारी भूकम्प जाने सक्ने सम्भावना रहेको एक अध्ययनले जनाएको छ । जापानी विज्ञहरुको सहयोगमा गरिएको अध्ययनले सन् २०३० सम्ममा नेपालमा करिब ५० हजार मानिसको ज्यान जानसक्ने र झन्डै पौने तीन लाख घरमा क्षति पुग्नसक्ने क्षमताको भूकम्पको अनुमान गरेको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ । यद्यपि यो भूकम्प जाने सम्भावाना मात्रै भएको विज्ञहरुले बताएका छन् ।

देशका तीन विभिन्न क्षेत्रमा भविष्यमा ठुला भूकम्प जानसक्ने परिकल्पना गर्दै सरकार नेतृत्वको उक्त अध्ययनले भवन निर्माणको प्रवृत्ति अहिलेकै जस्तो रहे विपत्तिका बेला राजधानी उपत्यकामा सबैभन्दा धेरै जनधनको क्षति हुनसक्ने आकलन गरेको छ । भवन संहितामा कडाइ गर्दै घर तथा संरचनाहरू इन्जिनियरिङ् विधिको पालना गरी बनाइए क्षतिमा व्यापक कमी आउने बीबीसीले जनाएको छ । 

महाकालीदेखि कालीगण्डकी, कालीगण्डकीदेखि मस्र्याङ्दी, मस्र्याङ्दीदेखि सुनकोशी र सुनकोशीदेखि मेचीसम्म गरी विज्ञहरुले भूकम्पीय प्रवृत्तिका आधारमा नेपाललाई विभिन्न चार खण्डमा विभाजन गरेका छन् ।

लामो समययता भूकम्प नगएको तथा २०७२को भूकम्प जाँदा पूर्ण रूपमा सञ्चित शक्तिको निकास नभएको जस्ता आधारमा विज्ञहरुले आफ्नो पछिल्लो अध्ययनमा सुदूर र मध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्य नेपाल दक्षिण गरी तीन थरी परिदृश्य भूकम्प अर्थात् ’सिनारियो अर्थक्वेक’को परिकल्पना गरेका छन् ।

यसबारे प्रस्ट पार्दै अध्ययनमा संलग्न भूकम्पविद् एवम् खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटा भन्छन्, “विभिन्न अध्ययनका आधारमा यस्तो ठाउँमा यो स्तरको भूकम्प गयो भने कस्तो क्षति हुन्छ भन्ने हो । भूकम्प जान्छ नै भन्ने अनुमान होइन ।”

त्यसमध्ये ८ दशमलव ६ म्यानिच्युडको हुने परिकल्पना गरिएको सुदूर र मध्य पश्चिम नेपाल परिदृश्य भूकम्पले राजधानी उपत्यकामा ठुलो असर नपार्ने भन्दै त्यसबारे थप विस्तृत अध्ययन गरिएको छैन ।

तर ७ दशमलव ८ म्याग्निच्युडको हुने परिकल्पना गरिएको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले भने राजधानी उपत्यकामा प्रभाव पार्नसक्ने विज्ञहरुले आकलन गरेका छन् ।

अध्ययनमा संलग्न सहरी विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर सुमन सालिके भन्छन्, “काठमाडौँ उपत्यकालाई सबैभन्दा बढी क्षति मध्य नेपाल दक्षिण परिदृश्य भूकम्प अर्थात् सीएनएसले पुर्‍याउने देखियो । त्यसलाई जमिनको थर्कनको आधारमा सीएनएस वान, सीएनएस टु र सीएनएस थ्रीमा विभाजन गरी तीनवटा अवस्थाबारे अध्ययन गरेका थियौँ ।”

सालिके भन्छन्– “सबैभन्दा खतरापूर्ण सीएनएस थ्रीमा काठमाडौँ उपत्यकाका ४५ प्रतिशत घर पूर्ण रूपमा क्षतिग्रस्त हुन सक्छन् । आशिंक क्षतिको पनि सङ्ख्या जोड्दा त त्यो सङ्ख्या ७६ प्रतिशत पुग्छ ।”

यो अनुमानित विवरण सन् २०१६ लाई आधार मानेर निकालिएको हो । तर अहिलेकै जस्तै भवन निर्माणको प्रवृत्ति रहे सन् २०३० मा क्षति अझै बढ्ने अनुमान गरिएको छ ।

सबैभन्दा खराब अवस्थामा सन् २०१६ मा झन्डै ३८ हजार जनाको ज्यान जाने र करिब २ लाख घरमा क्षति पुग्ने अनुमान गरिएकोमा सन् २०३०मा ५० हजारजतिको मृत्यु हुने र करिब पौने तीन लाख घर पूर्णरुपमा क्षतिग्रस्त हुनसक्ने आकलन गरिएको छ ।

अध्ययनमा संलग्न जाइकाका विज्ञ र्योजी ताकाहाशी भन्छन्, “भूकम्प आफैले मान्छे मार्दैन तर संरचनाले मार्छ । त्यसको अर्थ बलियो भवनहरू बनाउनुपर्छ र आम मानिसले किन सुरक्षित भवन बनाउने भनेर बुझ्नु जरुरी छ ।”

महेश आचार्य, बीबीसी नेपालीबाट साभार