Tuesday, 1st September, 2026
वि.स.

होटल खुलाउने नै हो ? यस्तो छ, कार्यवधि !

Sungava-1592845816.jpg

कोभिड १९ को समयमा होटलहरुले प्रत्येक सेवाग्राहीको ३० दिनको ट्राभल हिस्ट्री अर्थात् यात्रा विवरण स्पष्ट रुपमा राख्नुपर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ असारमा सार्वजनिक गरेको सुरक्षा प्रोटोकल (कार्यविधि)मा उक्त व्यवस्था गरिएको हो।

पर्यटन क्षेत्रसम्बन्धी व्यवसायलाई सुरक्षित रुपमा सञ्चालनको लागि ल्याइएको प्रोटोकलमा यात्रु होटलमा आउनुअघि ३० दिनको र होटलबाट निस्किँदा कहाँ जाने हो, पूर्ण विवरण अभिलेख राख्नुपर्ने उल्लेख छ। ग्राहकको टेसिङको लागि राखिएको विवरण होटलहरुले सेवाग्राहीको गोपनीयताको ख्याल गर्दै विवरणलाई भने सुरक्षित राख्नुपर्नेछ।

करिब १ महिनाअघि पर्यटन बोर्डले विभिन्न पर्यटन क्षेत्रका संघ/संस्थाको सुझावमा तयार पारेको मस्यौदा मन्त्रालयमा बुझाएको थियो। मन्त्रालयले विभिन्न निकायसँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन सुरक्षित प्रोटोकल सार्वजनिक गरेको बताएको छ। पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले प्रोटोकल सबैले अक्षरश पालना गर्ने विश्वास व्यक्त गरे।

प्रोटोकलमा होटल व्यवस्थापनले स्थानीय स्वास्थ्य, पर्यटन र व्यवसायीहरुको संस्थासँग सल्लाह लिई कार्ययोजना (एक्सन प्लान) निमार्ण गर्नुपर्ने उल्लेख छ। व्यवस्थापनले तत्काल लागू गर्नसक्ने क्षमताको आधारमा कार्ययोजना बनाई लागू गर्नुपर्ने तथा आफूले बनाएको कार्ययोजना बारम्बार निरीक्षण गरी काम गर्दा सजिलो तथा सुरक्षित हुने गरी अद्यावधिक गर्दै जानुपर्नेछ।

कार्ययोजनाअनुसार नियमित रुपमा लबी, शौचालय वा सार्वजनिक ठाउँमा स्यानिटाइजिङ गर्नुपर्नेछ। त्यसैगरी मानिसले बारम्बार छुने ठाउँ हेन्डल, बटम, स्विच आदिमा पनि स्यानिटाइजिङ गर्नुपर्छ। एक अर्कोबीच कुराकानी गर्दा व्यवस्थापन, कर्मचारी तथा सेवाग्राहीसँग दूरी बनाइराख्नुपर्छ। व्यवस्थापनले सबै कर्मचारीलाई कार्ययोजनाबारे तालिम तथा जानकारी दिनुपर्छ। सबै कर्मचारीलाई अनिवार्य प्रोटोकल पालना गराउनुपर्नेछ।

साना तथा ठूला होटलले यी व्यवस्था पालना गर्नुपर्छ

  • कोभिड १९ बाट बच्न सबै होटलको गेटमा ज्वारो नाप्न तालिम प्राप्त मानिस राख्नुपर्छ। ज्वरो नाप्न बसेको मानिसले अनिवार्य रुपमा सुरक्षित डे«स (पीपीई) लगाउनुपर्नेछ।
  • ठूला होटलहरुले कर्मचारी, सेवाग्राही तथा उनीहरुको सामग्रीको लागि स्यानिटाइजेसन टनेल निर्माण गर्नुपर्नेछ।
  • होटलको स्पष्ट देखिने ठाउँमा कोभिड १९ बाट सुरक्षित रहने विषयमा लेखी राख्नुपर्नेछ।
  • होटलमा यदि कसैलाई कोभिड १९ को लक्षण देखिएमा सरकारले तोकेको ठाउँमा पठाउनुपर्नेछ।
  • सबै जनाले अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ।
  • होटलमा सेवाग्राही आउँदा रिसेप्सनिस्टले उसले के–के गर्ने, होटलमा कसरी सामाजिक दूरी कायम गर्दै बस्ने भन्ने विषयमा जानकारी गराउनुपर्नेछ।
  • रिसेप्सनमा टिस्यु पेपर, मास्क, पञ्जा, सुरक्षात्मक एप्रोन राख्नुका साथै लबीमा बारम्बार डिस्इन्फेक्सन गर्नुपर्नेछ।
  • होटलमा कसैले अंकमाल तथा हात मिलाउन पूर्णतया बन्देज लगाउनुपर्नेछ। भेटघाट गर्दा कम्तीमा १ मिटर सामाजिक दूरी कायम राख्नुपर्नेछ।
  • हातलाई जहिले पनि स्वच्छ र सफा राख्न स्यानिटाइजर तथा साबुनपानीले हात धुनुपर्नेछ।
  • सेवाग्राहीलाई खाना वा नास्ता दिँदा हात राम्ररी सफा गरेर मात्रै सेवा दिनुपर्छ र सेवाग्राहीलाई हात सफा गर्नेबारे सम्झाउनुपर्नेछ।
  • होटलहरुले सम्भव भएसम्म १० वर्ग किमिमा ४ जनालाई मात्रै बस्न दिनुपर्छ। टेबलहरुको दूरी राख्दा सेवाग्राहीबीच १ मिटर दूरी कायम हुने व्यवस्था गर्नुपर्नेछ।
  • टेबलमा प्रयोग गरिने कपडाको सट्टा बारम्बार सफा गर्न मिल्ने प्लास्टिकको प्रयोग गर्नु सुरक्षित हुन्छ।
  • क्यासिनो, स्पा, जिम, प्लेरुम केही समयको लागि बन्द गर्नुपर्नेछ।
  • सरकारले अर्को सूचना जारी नगर्दासम्म २५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा हुन पाइनेछैन।

त्यस्तै प्रोटोकलमा होटलहरुले प्लास्टिकको बोटलको ठाउँमा सिसाका बोटलमा पानी प्रयोग गर्न सुझाव दिएको छ। सेवाग्राहीलाई बिल इमेलमै दिनु सुरक्षित हुने प्रोटोकलमा उल्लेख छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif