Tuesday, 16th June, 2026
वि.स.

हेटौंडाका व्यवसायीले लकडाउन नमान्ने, २१ गतेदेखि बजार खोल्ने

photo-1591001174.jpg

हेटौंडाका व्यवसायीहरुले देशमा जारी लकडाउनलाई नमान्ने चेतावनी दिएका छन् । लकडाउनका कारण खाद्यान्न र तरकारीबाहेकका व्यवसायहरु धरासयी भएको भन्दै  सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै जेठ २१ गते बुधबारबाट बजार खुलाउने तयारी गरिएको जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि कुनै प्रतिक्रिया नआएको भन्दैसंघले बाध्य भएर बजार खुलाउने निर्णय गर्नु परेको बताए । ‘प्रशासन समक्ष आग्रह गरियो तर, प्रशासनले संघीय सरकारकै अनुमती चाहिने भन्दै हामीलाई वेवास्ता गरिरह्यो त्यसैले अब बजार खुल्छ ।–’ न्यौपानेले भने ।

११ चैतदेखि जारी लकडाउनले व्यवसायीहरु चरम पीडामा परेको भन्दै सुरक्षा संवेदनशीलता अपनाएर बजार खुलाइने संघले जनाएको छ । व्यवसायीहरुमा बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानहरुको म्याद गुज्रिने तथा क्षति हुन सक्ने सम्भावित अवस्थाले मानसिक तनावमा रहेको वरिष्ठ उपाध्यक्ष न्यौपानेको भनाइ छ । ‘यी सबै अवस्थालाई अबका दिनमा सहन सक्ने स्थिति नआएको हुँदा सरकारले अनुमति नदिएपनि हामी बजार खुलाउने तयारीमा पुगेका हौं ।–’ उनले भने –‘२१ जेठदेखि सबै व्यवसायीहरुलाई सुरक्षा अप्नाउँदै व्यवसाय सुचारु गर्ने वातावरण मिलाइदिन संघीय सरकार समक्ष अनुरोध पनि गर्दछौं ।’ उपभोक्ताहरुले पनि आवश्यक स्ररक्षा सतर्कता अपनाएर किनमेल गर्न आउन संघले अनुरोध गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०