Saturday, 20th June, 2026
वि.स.

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

kaidi-bandi-1609484491.jpg

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।

तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक ९एचए० दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन्”, अधिकारीले भने ।

अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको तर स्वास्थ्यकर्मी भने नआइपुगेको अधिकारीले बताए । स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता छ । “सामान्य स्वास्थ्य समस्या भएकालाई पनि अस्पताल लैजानुपर्ने बाध्यता छ”, उनले भने ।

चिसो बढेपछि कैदीबन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरुलाई उपचार र स्वास्थ्य परीक्षणका लागि दमौली अस्पतालसम्म लैजानुपरेको अधिकारीले बताए । एक सय पाँच जना क्षमताको कारागारमा १८७ कैदी र ८२ थुनुवा गरी २६९ छन् । क्षमताभन्दा धेरै राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको अधिकारीले बताए । 

त्यसबाहेक रुघाखोकी र भाइरल ज्वरोजस्ता स्वास्थ्य समस्या कैदीबन्दीमा देखिन थालेको अधिकारीले जानकारी दिए । उनका अनुसार विभिन्न रोगका कारण दैनिक चाररपाँच कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल लैजाने गरिएको छ । कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणका लागि लैजाने गरिएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०