Tuesday, 16th June, 2026
वि.स.

स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न गृह मन्त्रालयको अनुरोध

gr-1589785365.jpg

 कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्य सम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न समेत भनेको छ ।

स्थानीय केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्ने लगायतका अमानवीय कार्य भइरहेकोप्रति पनि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वव्यापी महामारीका विरुद्ध लड्न सबैको सामूहिक प्रयास आवश्यक हुनु पर्नेमा आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । आदेशको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न भए कानून बमोजिम हदैसम्मको कारवाही गर्ने मन्त्रायले जनाएको छ ।

नेपाल सरकारको निर्णयले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको बन्दाबन्दीको आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानून बमोजिम सजाय हुने मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०