Tuesday, 16th June, 2026
वि.स.

स्थानीय सरकारको नीति तथा कार्यक्रम: मकवानपुरमा कस्को के प्राथमिकता ?

Mappppppp-1592970958.jpg

१० असारमा सबै स्थानीय सरकारको नीति तथा कार्यक्रम गाउँ तथा नगरसभामा पेश गर्दैछन् । स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीय तहहरुले हरेक वर्ष असार १० गते आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गर्नुपर्ने प्रावधान छ । 

मकवानपुरका पनि सबै स्थानीय तहले तयारी पूरा गरेका छन् ।  जिल्लाका सबै स्थानीयतहले १० असारमै नीति तथा कार्यक्रम पेश गर्ने जनाएका छन् । चालु आर्थिक वर्ष २०७६/०७७ का लागि तय गरेको नीति तथा कार्यक्रम मकवानपुरका कतिपय स्थानीय तहले पूरा गर्न सकेनन् । कारण, कोरोना भाइरस (कोभिड–१९) को महामारीले हो । यसलाई समेत दृष्टिगत गरी आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम स्थानीय तहहरुले तय गरेका छन् । 

हेटौंडा उपमहानगरपालिका

हेटौंडाले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि र उत्पादनलाई पहिलो प्राथमिकता दिएर योजना निर्माण गर्ने जनाएको छ ।  उपमेयर मिना कुमारी लामाले आगामी आर्थिक वर्षका लागि २ अर्ब बढीको बजेट निर्माणको तयारी भएको र आगामी वर्ष कृषि उत्पादन वृद्धि र रोजगारीलाई पहिलो प्राथमिक्तामा राखिएको बताइन् । 

थाहा नगरपालिका

पर्यटकीय नगरी थाहाले आर्थिक वर्ष २०७७/०७८ आगामी आर्थिक वर्षका लागि कृषिसंगै पर्यटन र रोजगारी र स्वास्थ्य पहिलो प्राथमिक्तामा राखेर नीति कार्यक्रम ल्याउँदै छ । बजेट स्रोत सुनिश्चितता सहित नीति तथा कार्यक्रम प्रस्तुत गर्ने योजना बनाएको थाहाले करीब ८० करोडको बजेट ल्याउने तयारी गरेको मेयर लबशेर बिष्टले जानकारी दिए । 
थाहानगरले आयात घटाउन, निर्यात बढाई आत्म निर्भरतासहितको नीति सार्वजनिक हुने बुझिएको छ । कृषिको उर्वर क्षेत्र रहेको थाहामा पकेट क्षेत्रको विस्तारलाई समेत पथमिकतामा राख्ने जनायएको छ । थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कायाृन्वयनमा रहको छ । 

भीमफेदी गाउँपालिका

भीमफेदीले करीब ५३ करोडको हाराहारीमा बजेट निर्माण गर्ने तयारी गरेको छ । आगामी वर्ष कृषिलाई रोजगारीसंगै जोडेल लैजाने गरि निति कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
उनले कोभिड–१९ महामारीसंग जुध्ने गरि रोजगारमुखी बजेटको तयारी गरेको उनले बताए । आगामी वर्ष स्वास्थ्य, पशुपालन, कृषि र रोजगारी पहिलो प्राथमिक्ता र पुर्वाधार दोस्रो प्राथमिकतामा रहेको उनले बताए । 

ईन्द्रसरोवर गाउँपालिका

कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याउँदै छ । गाउँसभामा प्रस्तुत हुने नीति कार्यक्रम तथा बजेटमा कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरेको अध्यक्ष जीवन लामाले बताए । विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गर्ने उनले बताए । 
गाउँपालिकाले करीब ५० करोड हाराहारीको बजेट निर्माण गर्ने तयारी गरेको छ ।

कैलाश गाउँपालिका

कैलाशले आगामी आर्थिक वर्ष विश्वभर माहामारीका रुपमा फैलएको कोरोना भाइरसले पारेको प्रभावलाई ध्यानमा राखेर नीति कार्यक्रम तयार पारेको जनाएको छ । 

गाउँपालिका अध्यक्ष टंक मोक्तानले आगामी आर्थिक वर्ष करीब ५० करोडको बजेट निर्माणको तयारी गरेको साथै भौतिक पुर्वाधारसंगै कृषि क्षेत्रमा रोजगार सृजना हुने खालको नीति कार्यक्रम ल्याउने बताए । माहामारीलाई ध्यान दिँदै आगामी वर्षको नीति कार्यक्रममा जनस्वास्थ्यको शीर्षकमा बजेट बढाउने साथै कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रलाई आगामी बजेटमा प्रमुख प्राथमिक्ता खाख्ने बताए । 

उत्पादन वृद्धिलाई जोड दिदै बजेटमा कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने खालका रोजगारमुखी योजना ल्याउने बताए । 

मनहरी गाउँपालिका

मनहरीले करीब ७६ करोडको बजेट ल्याउने तयारी गरेको जनाएको छ । 

अध्यक्ष एकराज उप्रेतीले आगामी नीति तथा कार्यक्रममा कृषि र पुश पालनको क्षेत्रलाई पहिलो प्राथमिक्ता दिँदै ‘एक वडा, एक गाउँ, एक स्थान, एक उत्पादन’ नमुना कृषि कार्यक्रम, दुधमा अनुदान कार्यक्रम सञ्चालन गर्ने बताए । 

उनले आगामी वर्ष भौतिक पुर्वाधार तर्फ अधुरा योजना सम्पन्न गर्ने र कृषि क्षेत्रलाई नै विशेष प्राथमिक्ता दिने बताए ।

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष बिदर हुमागाईले १० असारको नगरसभामा बजेटको प्रारम्भीक खाका समेत प्रस्तुत हुने बताए । उनले आगामी वर्षका लागि बैदेशिक रोगारबाट फर्किएका तथा वैदेशिक रोजगारमा जान नसक्नेहरुका लागि बिशेष कृषि क्षेत्रसंग जोडेर विशेष कार्यक्रम ल्याउने तयारी भएको बताए ।

गढी गाउँपालिकाले आगामी वर्षका लागि करीब ६९ करोड बराबरको बजेट ल्याउने तयारी भएको उनले बताए । 

राक्सिराङ गाउँपालिका

राक्सिराङले आगामी आर्थिक वर्षका लागि करीब ७० करोड को बजेट निर्माणाको तयारी गरेको जनाएको छ । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आगामी आर्थिक वर्षमा गाउँपालिकाले उत्पादन वृद्धिमा जोड दिने बताए । उनले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने खालका रोजगारमुखी योजना ल्याउने बताए । उनले कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक, रोजगारीलगायत समग्र क्षेत्रको विकासलाई एकरुपताका साथ अगाडी बढाउने बताए ।
उनले स्थानीय उत्पादनलाई प्राथमिक्ता दिएर रोजगारी सृजना गर्ने खालका नीति कार्यक्रम ल्याउने तयारी भएको बताए ।

बकैया गाउँपालिका

बकैयाले आफ्नोे नीति तथा कार्यक्रममा भौतिक पुर्वाधारसंगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई बिशेष प्राथमिक्ता दिने जनाएको छ ।

विशेष गरि वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ध्यानमा राखेर रोजगार उन्मुख बजेट निर्माण गरिने गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । आगामी गामी आर्थिक वर्षमा करीब ७० करोडको बजेट निर्माण हुने उनले बताए । 

बागमती गाउँपालिका

बागमतीले कृषि क्षेत्रमा रोजगारमुखी बजेट निर्माणको तयारी गरेको जनाएको छ । 

आगामी वर्ष करीब ६५ करोडको बजेट बनाउने तयारी गरेको बागमती गाउँपालिकाले कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको अध्यक्ष सर्केश घलानले बताए । आँफैमा बिकट गाउँपालिका भएकाले जनचेतना अभिबृद्धिसंगसैगै विगतका अनुभव र अहिलेको कोरोना माहामारीलाई ध्यानमा राखेर बजेट निर्माणको तयारी गरेको उहाँले जानकारी दिए ।