nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सूचनाको हकको बारेमा कानुनका विद्यार्थीसँग हेटौँडामा अन्तरक्रिया

68736142_402755707043008_-1566292296.jpg

हेटौँडा उपमहानगरपालिकामा सूचनाको हकको बारेमा कानुनका विद्यार्थीलाई जानकारी गराइएको छ । हेटौँडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ११ मा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई फ्रिडम फोरमको संयोजनमा मङ्गलबार सूचनाको हक सम्बन्धी ऐन २०६४ को बारेमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन २०६४ मा भएको व्यवस्थाहरुको बारेमा जानकारी गराइएको हो । नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको सूचनाको हकलाई सुनिश्चित गर्न २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन ल्याइएको थियो ।

तत्कालीन व्यवस्थापिका संसदबाट पारित भई २०६४ साउन ५ मा प्रमाणीकरण र २०६४ भदौ ३ गतेदेखि यो ऐन कार्यान्वयनमा आएको थियो । ऐन कार्यान्वयनमा आएको दिनको अवसरमा पारेर आयोजित कार्यक्रममा फ्रिडम फोरमका प्रतिनिधि राममणि दाहालले सहजीकरण गरेका थिए । फ्रिडम फोरमले निर्माण गरेको सूचनाको हकसम्बन्धी आरटीआइ नेपाल एप (एप्लिकेसन) का बारेमा फ्रिडम फोरमका प्रतिनिधि दाहालले जानकारी गराउँदै लामो संघर्ष र दवावपछि बनेको सूचनाको हक सम्बन्धी ऐनले नागरिकको सूचना पाउने र माग्ने अधिकारलाई सुनिश्चत गरेको बताए । सूचनाको हकको विगत, उपयोगिता, आवश्यकता, ऐनमा भएका व्यवस्था र आरटीआइ नेपाल एप्लिकेसनको प्रयोगको बारेमा जानकारी गराउँदै उनले सूचनाको हकको प्रयोग गर्ने संस्कृतिको विकासमा जोड दिए ।

सिद्धार्थ माध्यामिक विद्यालयको कक्षा ११ र १२ का संयोजक गणेश हुमागाईँले सूचनाको हकसम्बन्धी कानुन सबैको लागि आवश्यक भएको भन्दै सुशासनका लागि प्रभावकारी कार्यान्वयनमा जोड दिए ।कानुन संकायका विद्यार्थी मन्दिरा थापाले नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको बताउँदै सूचनाको हक विनाको लोकतन्त्रको कल्पना गर्न नसकिने बताए । कार्यक्रममा सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ११ मा कानुन संकायमा अध्ययनरत ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । 
फ्रिडम फोरमले लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, दण्डहीनता विरुद्ध, सूचनाको हकलगायतका क्षेत्रमा वकालती र अभियान सञ्चालन गर्दै आएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)