Tuesday, 16th June, 2026
वि.स.

सुत्केरी र गर्भवतीलाई स्वास्थ्य चौकीमै ताजा तरकारी

raksirang-1591348613.jpg

 पोषणका दृष्टिले पछाडि परेका चेपाङ र तामाङ समुदायका गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाइ लक्षित गरी राक्सिराङ स्वास्थ्य चौकीले करेसाबारीमा तरकारी उत्पादन गरेको छ ।

राक्सिराङ गाउँपालिका वडा नं ५ स्थित चैनपुर स्वास्थ्यचौकीको करेसाबारीमा मौसम अनुसारका तरकारी उत्पादन गरिएको हो । उत्पादित तरकारी स्वास्थ्यचौकीमा सेवा लिन आउने गर्भवती, सुत्केरी तथा गाउँपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क दिने गरिएको स्वास्थ्य चौकी प्रमुख यामप्रसाद गौतमले जानकारी दिए । स्वास्थ्य चौकीले दुई स्थानमा करेसाबारी निर्माण गरी अहिले लौका, गोलभेँडा, फर्सीलगायत मौसमी तरकारी उत्पादन गरी वितरण गरिरहेको छ ।

कुपोषणको समस्या भोगिरहेको राक्सिराङ गाउँपालिकामा ताजा तरकारीमार्फत पोषणको परिपुरण गर्नका लागि तरकारी खेती गर्न अभिप्रेरित गर्न स्वास्थ्यचौकीले तरकारी खेती गरेको प्रमुख गौतमले बताए । ‘महिला स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत हरेक गर्भवती र सुत्केरी भएका घरमा करेसाबारी निर्माण गर्न उत्प्रेरित गर्ने उद्देश्यले करेसाबारी निर्माण गरी नमूनाको रुपमा प्रदर्शन गरिएको हो’, प्रमुख गौतमले भने ।

राक्सिराङ गाउँपालिकामा रहेको अन्य चार वटै स्वास्थ्य चौकीहरूमा पनि करेसाबारी निर्माणका लागि आगामी बजेटमा व्यवस्था गर्न पहल भइरहेको बताइएको छ । पोषणयुक्त खानेकुराको अभावमा हुने अशक्तता र पिछडापनलाई ताजा तरकारीले पूरा गर्न सकिने भएकाले गाउँवासीलाई तरकारी खेतीका लागि अभिप्रेरित गर्नेगरी आगामी बजेट निर्माण हुने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङमा २०७५ को घरधुरी सर्वेक्षण अनुसार कुल ३० हजार ८३० घरपरिवारको बसोबास रहेको छ भने अधिकांश चेपाङ, तामाङसहित जनजाति समुदायको बसोबास रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०