Wednesday, 17th June, 2026
वि.स.

सिन्धुपाल्चोकमा पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता

Sindhupalchok-Pahiro-1599960862.jpg

सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले अनलाइनखबरसँग भने । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०