Tuesday, 16th June, 2026
वि.स.

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

electric-1594209651.jpg

नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् ।

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । अब गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना लाग्ने छैन ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो ।

सञ्चालक समितिले लकडाउन अवधि थपिएमा सोहीअनुसार जरिवाना छुटको निर्णय गर्न कार्यकारी निर्देशकलाई अधिकार दिएको थियो । प्राधिकरणले लकडाउन खुकुलो भएसँगै सिङ्गल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सुरु गरिसकेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०