Monday, 15th June, 2026
वि.स.

सफ्ट्वेयरमा समस्याः स्थानीय तहमा लेखाको काम प्रभावित

नेपाल सरकारले मुलुकको ७५३ वटै स्थानीय तहको लेखा व्यवस्थापनका लागि प्रयोगमा ल्यायएको संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) सफ्ट्वेयर ‘डाउन’ भएका कारण लेखा सम्बन्धि काम प्रभावित भएको हो । सफ्टवेयर संचालन नभएपछि मकवानपुरको पनि थाहा नगरपालिका लगायतका स्थानीय तहले योजना तथा कार्यक्रहरुको भुक्तानी दिन सकेका छैनन् ।

महालेखा नियन्त्रक कार्यालयले देशभरका ७ सय ५३ स्थानीय तहमा अघिल्लो बर्षदेखि लागु गरेको सुत्र सफ्ट्वेयरमा गत शुक्रबारदेखि प्राविधिक समस्या आएपछि भुक्तानी रोकिएको हो । ‘हामीले चालु आर्थिक वर्षबाट सुत्र प्रयोगमा ल्यायौं, तर अहिले समस्या आयो थाहा नगरपालिकाका लेखा अधिकृत विष्णु भुसालले भने ‘सफ्ट्वेयर डाउन छ, मंसिर ११ पछिका सबै डाटा लष्ट भयो, चेक काट्न सकेका छैनौ, पूरै भुक्तानी रोकिएको छ ।’

मंसिर १२ देखि सफ्ट्वेयरमा इन्ट्री भएका सम्पूर्ण तथ्यांकमा नोक्सानी भएकाले त्यसपछिका डाटा पुनः प्रविष्ट गर्नुपर्ने भएको हो । देशभरका सबै स्थानीय तहमा संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) सफ्ट्वेयर लागु गरेको महालेखा नियन्त्रक कार्यालयले हालका लागि सिष्टममा नयाँ तथ्यांक प्रविष्ट नगर्न परिपत्र समेत गरेको छ । ‘बजेटिङ तथा लेखांकन कार्यका लागि प्रयोग गरिदै आएको सुत्र सफ्ट्वेयरमा प्रविष्ट गरिएका केहि तथ्यांक तथा डाटाहरु प्राविधिक कारणवस नोक्सान हुन गएको छ ।’ कार्यालयले स्थानीय तहलाई लेखेको पत्रमा भनिएको छ ‘मंसिर ११ सम्मको डाटा रिकभर गर्न सकिएपनि त्यसपछिको डाटा भने प्राप्त गर्न नसकिएकोले उक्त मितिपछि प्रविष्ट गरिएका भौचर तथा बजेट सम्बन्धि तथ्यांकहरु पुन प्रविष्ट नगरी नयाँ भौचर सफ्ट्वेयरबाट तयार नगर्नु ।’

सरकारले आर्थिक प्रशासन र प्रणालीमा पारदर्शिता र एकरुपता कायम गर्ने उद्देश्यले सम्पूर्ण स्थानीयलाई सुत्रको प्रयोगमा अनिवार्य गराएको थियो । स्थानीय तहमा सूत्र लागु गरी सञ्चालनमा ल्याउन महालेखा नियन्त्रक कार्यालय कोष प्रशासन शाखाले स्थानीय तहलाई प्राविधिक सहयोगसमेत उपलब्ध गराएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०